। यही भदौ २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा लिच्छवि सिनेमा फेस्टिभलको पहिलो संस्करण आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिका र युरोपेली युनियनको सहयोगमा कला तथा सांस्कृतिक केन्द्र लिच्छवि हाउसले यो महोत्सव आयोजना गर्न लागेको हो।
फिस्टिभलमा नेपाली र अन्तर्राष्ट्रिय सिनेमाबीच नयाँ संवादको सुरुवात गर्ने लक्ष्य राखिएको छ । फेस्टिभलमा एसिया तथा विश्व सिनेमाका १० वटा फिचर फिल्म प्रदर्शन गरिनेछ । क्युरेटेड ढाँचामा पूर्ण डीसीपी थिएटर प्रोजेक्सन प्रविधिमार्फत चलचित्रहरू देखाइनेछ ।
सन् २०२६ को कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड जुरी प्राइज’ जितेर इतिहास रचेको नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ पनि यहाँ प्रस्तुत गरिने आयोजकले जानकारी दिएका छन् । साथै नेपालबाट दीपक रौनियारको ‘ह्वाइट सन’ र भुटानका निर्देशक खिन्त्से नोर्बुको चर्चित फिल्म ‘द कप’ पनि सूचीमा छन् ।
यस्तै भारतबाट पायल कपाडियाको ‘अल वि इम्याजिन एज लाइट’, पाकिस्तानको ‘घोस्ट स्कुल’, र भुटानको ‘द रेड फ्यालस’ पनि प्रदर्शन हुनेछन् । विश्व प्रसिद्ध निर्देशक आन्द्रेई तार्कोभ्स्कीको स्टकर (रसिया), म्याथ्यु कासोभित्जको ‘ला एन’ (फ्रान्स), विम वेन्डर्सको ‘पर्फेक्ट डेज’ (जर्मनी/जापान) र अपिचातपोङ विरासेथाकुलको ‘मेमोरिया’ (थाइल्याण्ड) जस्ता कालजयी कृतिहरू यस महोत्सवका मुख्य आकर्षण हुन् ।