मुख्य समाचार
विश्व फिल्मको भविष्यका लागि फ्रान्स र कोरियाले सार्वजनिक गरे १५ बुँदे ‘लुमिएर घोषणापत्र’
विश्व फिल्मको भविष्यका लागि फ्रान्स र कोरियाले सार्वजनिक गरे १५ बुँदे ‘लुमिएर घोषणापत्र’

विश्वभरका देश, अन्तर्राष्ट्रिय संस्था, फिल्म, टेलिभिजन तथा गेमिङ उद्योगका अगुवा, सर्जक, महोत्सव र सांस्कृतिक संस्थाका प्रतिनिधिले सोमबार सेन्ट-पल-दे-भेन्समा आयोजित लुमिएर समिटमा ‘सिनेमा र मुभिङ इमेजको भविष्यसम्बन्धी लुमिएर घोषणापत्र’ पारित गरेका छन् ।

फ्रान्स र दक्षिण कोरियाले संयुक्त रूपमा प्रस्तुत गरेको तथा दुवै देशका राष्ट्रपतिको सह-अध्यक्षतामा आयोजित समिटबाट पारित घोषणापत्रले १५ सिद्धान्त अघि सारेको छ । घोषणापत्रमा थप हस्ताक्षरका लागि ढोका खुला राखिएको छ ।

‘हामी यहाँ मुभिङ इमेजको बहुपक्षीयताको आधार तयार गर्दैछौं,’ घोषणापत्रमा भनिएको छ ।

पहिलो तस्बिर खिचिएको २०० वर्ष र लुमिएर दाजुभाइले सिनेमाटोग्राफको पहिलो सार्वजनिक प्रदर्शन गरेको १३० वर्षपछि यो संरचना अघि सारिएको हो । घोषणापत्रले यसलाई नयाँ सुरुवातका रूपमा व्याख्या गरेको छ ।

‘मुभिङ इमेजले अब विश्वव्यापी शासनको प्रारम्भिक आधार पाएको छ, नयाँ पहल, नयाँ साझेदार र भावी भेलामार्फत विस्तार हुँदै जाने बहुपक्षीयता,’ घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रको मूल मान्यता मुभिङ इमेजको उद्देश्य केवल दर्शकको ध्यान आकर्षित गर्नुमा सीमित हुनु हुँदैन भन्ने हो । यसले मुभिङ इमेजलाई ‘भावना, स्मृति र ज्ञानको माध्यम तथा व्यक्तिगत मुक्ति र सामूहिक रूपान्तरणको साझा सम्पत्ति’ भनेको छ ।

महत्वाकांक्षी र उद्देश्यपूर्ण सिर्जनाको विकल्प नरहेको उल्लेख गर्दै घोषणापत्रले ‘हाम्रा उद्योगको भविष्य हामीले सिर्जना र समर्थन गर्न रोज्ने कृतिहरूले निर्धारण गर्ने’ बताएको छ ।

घोषणापत्रको सबैभन्दा स्पष्ट धारणामध्ये एक एल्गोरिदममा आधारित प्लेटफर्मसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।

‘दर्शकको ध्यान कब्जा गर्नुपर्ने स्रोत होइन, सम्मान गर्नुपर्ने विश्वास हो,’ घोषणापत्रमा भनिएको छ ।

यही मान्यता कथा सिर्जना गर्ने व्यक्तिको विविधता, सिर्जनात्मक स्वतन्त्रता र सर्जकले काम गर्ने वातावरणसँग सम्बन्धित अन्य सिद्धान्तमा पनि देखिन्छ ।

‘हामीले भन्ने कथाको समृद्धि त्यसलाई सिर्जना गर्नेहरूको विविधतामा निर्भर हुन्छ,’ घोषणापत्रमा भनिएको छ । त्यस्तै, ‘सिर्जनाको स्वतन्त्रता मुभिङ इमेजको जीवन्तता र विविधताको सर्त हो’ भन्ने मान्यता अघि सारिएको छ ।

राजनीतिक, आर्थिक वा सामाजिक दबाबका कारण सिर्जना गर्ने र आफ्ना कुरा सुनाउने क्षमतामा खतरा सामना गरिरहेका सर्जकका लागि अन्तर्राष्ट्रिय ऐक्यबद्धता सञ्जालको समर्थन गर्न पनि घोषणापत्रले जोड दिएको छ ।

महिलालाई बहिष्कार गर्ने वा असुरक्षित अवस्थामा सञ्चालन हुने उद्योगले प्रतिनिधित्व निर्माणमा आफूसँग रहेको शक्तिको प्रयोगमा ‘उदाहरणीय’ बन्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

अर्थतन्त्र र सहनिर्माण

घोषणापत्रले श्रव्यदृश्य उद्योगलाई ‘आर्थिक वृद्धिको शक्तिशाली इन्जिन’का रूपमा व्याख्या गरेको छ । यो उद्योगले विभिन्न व्यवसायमा लगानी बढाउने, रोजगारी सिर्जना गर्ने, उच्च दक्ष जनशक्ति विकास गर्ने र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उल्लेख छ ।

कृतिको व्यावसायिक उपयोगबाट लाभ लिने वितरक तथा अन्य पक्षसँग ‘अर्को पुस्ताको सिर्जनाप्रति जिम्मेवारी र प्रत्यक्ष स्वार्थ दुवै’ हुने घोषणापत्रको ठहर छ ।

यसले प्रारम्भिक चरणमा जोखिम लिन सक्ने वातावरण बनाउन सार्वजनिक सहयोग र सर्जकलाई समयसँगै आफ्ना सिर्जना विकास गर्न सक्ने अवस्था सुनिश्चित गर्न आह्वान गरेको छ ।

‘अन्तर्राष्ट्रिय सहनिर्माणले जोखिमलाई विविधीकरण गर्छ, कृतिलाई समृद्ध बनाउँछ र हाम्रा इकोसिस्टमलाई एकअर्कासँग जोड्छ,’ घोषणापत्रमा भनिएको छ ।

स्थापित र उदीयमान बजारबीच सहकार्य थप गहिरो बनाउँदै ‘विश्वका कथाको विविधता विश्वका पर्दासम्म पुग्ने’ वातावरण बनाउन पनि प्रतिबद्धता जनाइएको छ ।

घोषणापत्रले बजेट, भाषा, विधा, स्वरूप र भूगोलका आधारमा सिर्जनामा हुने विविधतालाई प्रतिस्पर्धात्मक क्षमताको बाधा नभई आधारका रूपमा व्याख्या गरेको छ ।

‘बजेट, भाषा, विधा, स्वरूप र भूगोलमा कृतिको विविधता प्रतिस्पर्धात्मक क्षमतामाथिको बाधा होइन, यसको आधार हो,’ घोषणापत्रमा भनिएको छ ।

एआई र मानव सिर्जनशीलता

१५ मध्ये तीन सिद्धान्त प्रविधिसँग सम्बन्धित छन् ।

घोषणापत्रले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई सिर्जनशीलता, नवप्रवर्तन र कृतिको प्रसारलाई सुदृढ बनाउन सक्ने प्रविधिका रूपमा स्वीकार गरेको छ, तर यसको प्रयोग सिर्जनालाई अघि बढाउने माध्यमका रूपमा हुनुपर्ने सर्त राखेको छ ।

‘आर्टिफिसियल इन्टेलिजेन्सले सिर्जनशीलता, नवप्रवर्तन र कृतिको प्रसारलाई बलियो बनाउन सक्छ, तर त्यो सिर्जनाको संवाहक बन्नुपर्छ,’ घोषणापत्रमा भनिएको छ ।

यससँगै ‘मानव सिर्जना सधैं कृतिको केन्द्र र आधारमा रहनुपर्छ’ भन्ने सिद्धान्त स्पष्ट गरिएको छ ।

कृति पत्ता लगाउन र दर्शकसम्म पुर्‍याउने प्रक्रियामा घोषणापत्रले ‘एजेन्टिक एआई’को उदयबाट उत्पन्न हुनसक्ने जोखिम पनि औंल्याएको छ । यसले भविष्यमा कृतिसम्मको पहुँच बढ्दो रूपमा स्वचालित एजेन्टद्वारा मध्यस्थता हुनसक्ने अवस्थाबारे चेतावनी दिएको छ ।

पाइरेसीबारे घोषणापत्रको सन्देश स्पष्ट छ, ‘सिर्जनाले प्रतिफल पाएन भने त्यसलाई नवीकरण गर्न सकिँदैन ।’

सिनेमा हल, सम्पदा र शिक्षा

अन्य सिद्धान्त फिल्म उद्योग निर्भर रहेको भौतिक तथा सांस्कृतिक पूर्वाधारसँग सम्बन्धित छन् ।

सिनेमा हलमा हुने प्रदर्शनबारे घोषणापत्रमा भनिएको छ, ‘विविधता फस्टाउन सिनेमा हल आवश्यक छन् र आफ्नो सांस्कृतिक, आर्थिक तथा सामाजिक भूमिका पूरा गर्न सिनेमा हललाई विविधता आवश्यक छ ।’

फिल्म तथा दृश्य सम्पदा संरक्षणका विषयमा घोषणापत्रले भौतिक अभिलेख समयसँगै अपरिहार्य रूपमा क्षय हुँदै जाने भएकाले तिनको संरक्षणका लागि अहिलेको समय महत्वपूर्ण रहेको चेतावनी दिएको छ ।

हरेक देशले आफ्नो स्मृतिलाई ‘जीवित र देख्न सकिने अवस्थामा भावी पुस्तालाई हस्तान्तरण गर्न’ सक्ने गरी लगानी र ऐक्यबद्धता आवश्यक रहेको घोषणापत्रमा उल्लेख छ ।

शिक्षासम्बन्धी सिद्धान्तले अघिल्ला शताब्दीमा लिखित शब्दको सार्वभौमिक साक्षरताका लागि गरिएको प्रयासजस्तै अहिलेको दृश्य युगमा ‘इमेज लिटरेसी’का लागि उत्तिकै महत्वाकांक्षी प्रतिबद्धता आवश्यक रहेको बताएको छ ।

घोषणापत्रले सिनेमालाई ‘व्यक्तिगत स्क्रिन बन्द हुने र हामीले फेरि एकसाथ हेर्न सिक्ने अन्तिम स्थानमध्ये एक’ का रूपमा चित्रण गरेको छ ।

अन्तिम सिद्धान्तले दिगो निर्माण, वितरण र प्रदर्शनको डिजाइन तथा कार्यान्वयनका लागि ‘उत्कृष्ट अभ्यास, लचिला मापदण्ड र व्यावहारिक उपकरण’ विकास गर्ने प्रतिबद्धता जनाएको छ ।

घोषणापत्रमा हस्ताक्षर गर्ने पक्षले सामूहिक संलग्नता कायम राख्ने र भएको प्रगतिको संयुक्त रूपमा समीक्षा गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यही भदौ २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा लिच्छवि सिनेमा फेस्टिभलको पहिलो संस्करण आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिका र युरोपेली युनियनको सहयोगमा कला तथा सांस्कृतिक केन्द्र लिच्छवि हाउसले यो महोत्सव आयोजना गर्न लागेको हो। फिस्टिभलमा नेपाली र अन्तर्राष्ट्रिय सिनेमाबीच नयाँ संवादको सुरुवात गर्ने लक्ष्य राखिएको छ । फेस्टिभलमा एसिया तथा विश्व सिनेमाका १० वटा ...
। सौन्दर्य प्रतियोगिता ‘मिस कस्मो’ले भोटेकोशी बाढीबाट प्रभावितका लागि राहतस्वरूप १० हजार अमेरिकी डलर प्रदान गरेको छ । शनिबार भियतनाममा आयोजित मिस वर्ल्डको फिनालेका क्रममा कस्मो इन्टरनेसनलका प्रतिनिधिले मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरलाई उक्त रकम प्रदान गरेका हुन् । हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले उक्त रकम बुझेका छन् । राहतस्वरूप प्राप्त रकम तत्काल प्रधानमन्त्री दैवीप्रकोप ...
जुलाईको अन्त्यमा ब्लकबस्टर सुरुवात गरेयता ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ लगातार चर्चामा छ। कोलाइडरका चार्ली रिज्लीले यसलाई ‘२० वर्षयताकै उत्कृष्ट स्पाइडी एडभेन्चर’ भनेका छन्। २०२५ मा रिलिज भएका ‘द फ्यान्टास्टिक फोरः फर्स्ट स्टेप्स’, ‘थन्डरबोल्ट्स’ र ‘क्याप्टेन अमेरिकाः ब्रेभ न्यू वर्ल्ड’ अपेक्षाअनुसार सफल हुन नसकेपछि सन् २०२६ को मार्भल सिनेम्याटिक युनिभर्स (एमसीयू) को पहिलो ठूलो फिल्मप्रतिको अपेक्षा यसअघिका ...
। रुससँगको निरन्तर युद्धका बीच युक्रेन सरकारले देशमा भइरहेको एडल्ट कन्टेन्ट (पोर्न) व्यवसायलाई कानुनी दायरामा ल्याएर कर लगाउने तयारी गरेको छ। अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार यसबाट युक्रेन सरकारलाई वार्षिक करिब साढे २ करोड डलर थप आम्दानी हुने अनुमान गरिएको छ। एक युक्रेनी सांसदका अनुसार, यो रकमबाट युद्धका लागि आवश्यक पर्ने करिब ३० हजार ...
: डोमिनिकन रिपब्लिककी २४ वर्षीया मोडल जोहेरी मोलाले 'मिस वर्ल्ड २०२६' (विश्व सुन्दरी) को उपाधि जितेकी छन्। भियतनामको न्हा ट्राङ सहरमा शनिबार साँझ आयोजित ७३औँ मिस वर्ल्ड प्रतियोगितामा उनले यो उपाधि आफ्नो नाममा पारेकी हुन्। यो जितसँगै डोमिनिकन रिपब्लिकले दोस्रो पटक मिस वर्ल्डको ताज हात पारेको छ। यसअघि सन् १९८२ मा मारियासेला अल्भारेजले देशका लागि पहिलो ...