। युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट सुरु हुँदैछ । २०२६/२७ सिजनमा पनि ३६ टोलीले लिग चरणमा प्रतिस्पर्धा गर्दैछन् । प्रत्येक टोलीले आठ फरक प्रतिद्वन्द्वीविरुद्ध चार घरेलु र चार अवे गरी आठ खेल खेल्नेछन् ।
यसपटक रियल मड्रिड, पेरिस सेन्ट जर्मेन (पीएसजी), म्यान्चेस्टर सिटी, बार्सिलोना र बायर्न म्युनिखजस्ता टोलीलाई मुख्य उपाधि दाबेदारको रूपमा हेरिएको छ । गत दुई संस्करणको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लगातार तेस्रोपटक च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा छ ।
तर नयाँ सिजनको सुरुवात भने पीएसजीका लागि सहज देखिएको छैन । घरेलु प्रतियोगितामा अपेक्षाअनुसार सुरुवात गर्न नसके पनि टोलीमा नयाँ ऊर्जा थपिएको दाबी प्रशिक्षक लुइस एनरिकेले गरेका छन् ।
उपाधिको बलियो दाबेदार स्पेनको ला लिगा च्याम्पियन बार्सिलोनासँग लामिन यामालजस्ता युवा स्टार छन् । फिफा विश्वकप २०२६ को सर्वाेत्कृष्ट खेलाडी रोड्रीलाई भित्राएपछि बार्सिलोनाको आत्मबल झनै उच्च छ । टोलीले लिग चरणको पहिलो खेलमा फेनोर्डको सामना गर्नेछ ।
यूईएफए च्याम्पियन्स लिगको इतिहासकै सबैभन्दा सफल क्लब रियल मड्रिड पनि उपाधि दौडमा स्वाभाविक रूपमा अगाडि छ । जोसे मोउरिन्होको नेतृत्वमा रहेको रियलले पहिलो खेलमै इन्टर मिलानको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । मोउरिन्होका लागि इन्टरविरुद्धको खेल विशेष हुनेछ । किनकि उनले सन् २०१० मा इन्टरलाई च्याम्पियन्स लिग उपाधि जिताएका थिए ।
आर्सनल पनि यसपटक बलियो दाबेदारका रूपमा प्रस्तुत भएको छ । च्याम्पियन्स लिगको उपाधि अहिलेसम्म जित्न नसकेको आर्सनलले यसपटक आफ्नो इतिहास बदल्ने लक्ष्य राखेको छ । टोलीले पहिलो खेलमै नेपोलीसँग प्रतिस्पर्धा गर्दैछ । उपाधि दाबेदारको लिष्टमा म्यानचेस्टर सिटी र बायर्न म्युनिख हुनेछन् । सिटीले पहिलो खेलमा पोर्टाेसँग खेल्दा बायर्नले बोडो ग्लिम्टको सामना गर्नेछ ।
लिग चरणको पहिलो म्याच डेबाटै ठूला खेलले प्रतियोगिताको माहोल तताउनेछ । रियल मड्रिड र इन्टर मिलानबीचको भिडन्त सबैभन्दा आकर्षक खेलमध्ये एक हुनेछ । त्यस्तै बार्सिलोना, म्यान्चेस्टर सिटी, लिभरपुल, आर्सनल, पीएसजी र बायर्नका खेलमा पनि विश्वभरका समर्थकको नजर हुनेछ ।
नयाँ ढाँचाअनुसार लिग चरणमा शीर्ष आठमा रहने टोली सोझै अन्तिम १६ मा पुग्नेछन् । नवौंदेखि २४औं स्थानसम्म रहने टोलीले नकआउट प्लेअफ खेल्नुपर्नेछ भने २५औं देखि ३६औं स्थानसम्मका टोली प्रतियोगिताबाट बाहिरिनेछन् । यसले गर्दा पनि लिग चरणका प्रत्येक खेलको महत्व बढेको छ । शीर्ष आठमा पुग्ने टोलीले अतिरिक्त नकआउट प्लेअफ खेल्नुपर्ने छैन । जसले उपाधिको यात्रामा ठूलो फाइदा पुर्याउन सक्छ ।
लिग चरण २७ जनवरी २०२७ मा सकिनेछ । त्यसपछि शीर्ष टोलीहरू नकआउट चरण हुँदै उपाधिको अन्तिम यात्रामा अघि बढ्नेछन् । यसपटकको च्याम्पियन्स लिगमा पीएसजीको लगातार तेस्रो उपाधिको लक्ष्य, बार्सिलोनाको युवा शक्तिको प्रदर्शन, रियल मड्रिडको युरोपेली विरासत, आर्सनलको पहिलो उपाधिको खोजी तथा म्यानचेस्टर सिटी र बायर्नको चुनौती मुख्य आकर्षण हुनेछन् ।