। बुधबार अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको युएस मिन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अङ्कित नयाँ एक डलरको सिक्का सार्वजनिक गर्यो। बिक्री र प्रवाह पनि सुरु गर्यो। अमेरिका स्थापनाको २५०औं वार्षिकोत्सव अर्थात् ‘सेमिक्विनसेन्टेनियल’ मनाउने सन्दर्भ पारेर यो नयाँ सिक्का जारी गरिएको हो।
आधुनिक अमेरिकी इतिहासमा जीवित व्यक्तिको तस्बिर धातुको मुद्रामा राखिएको यो विरलै घट्ने घटना हो। यसअघि सन् १८६६ यता अमेरिकी सिक्कामा जीवित व्यक्तिलाई स्थान दिइएको थिएन।
अमेरिकी इतिहासमा राष्ट्रपतिकै रूपमा हेर्दा सन् १९२६ मा १५०औं वार्षिकोत्सवका अवसरमा तत्कालीन राष्ट्रपति क्याल्भिन कुलिजको तस्बिर अङ्कित आधा डलरको सिक्का निकालिएको थियो। त्यसपछि बहालवाला राष्ट्रपति मुद्रामा अङ्कित भएको यो दोस्रो प्रसङ्ग बनेको छ।
सिक्काको डिजाइन र विशेषता
अमेरिकी अर्थ मन्त्रालय र युएस मिन्टले संयुक्त रूपमा जारी गरेको यस नयाँ एक डलरको सिक्काको अघिल्लो भागमा राष्ट्रपति ट्रम्पको औपचारिक सुट र टाइ लगाएको गम्भीर मुद्राको तस्वीर राखिएको छ। सिक्काको माथिल्लो गोलाकार भागमा ‘लिबर्टी’ र तल्लो भागमा ‘१७७६–२०२६’ लेखिएको छ।
यसको मध्यभागमा राष्ट्रिय आदर्श वाक्य ‘इन गड वी ट्रस्ट’ राखिएको छ। सिक्काको पछिल्लो भागमा अमेरिकी राष्ट्रपतीय छाप र परम्परागत राष्ट्रिय पक्षी राजगरुडको चित्र छ; जसको छातीमा रहेको ढालमा ‘२५०’ लेखिएको छ। गरुडको पञ्जा र चुच्चोमा ल्याटिन भाषाको वाक्य ‘ई प्लुरिबस युनम’ अङ्कित छ; जसको अर्थ ‘धेरैबाट एक’ भन्ने हुन्छ। यसै भागमा ‘युनाइटेड स्टेट्स अफ अमेरिका’ र ‘वान डलर’ समेत लेखिएको छ।
सुरुमा राष्ट्रपति ट्रम्पले दुवै हात टेबलमा राखेर अगाडि ढल्किएको र मुक्का कसेको आक्रामक ढाँचाको डिजाइन स्वीकृतिका लागि पेस गरिएको भए पनि अन्तिम रूपमा निकालिएको सिक्कामा त्यो ढाँचा परिमार्जन गरिएको छ।
अन्तिम डिजाइनलाई अमेरिकी ‘फाइन आर्ट्स कमिसन’ ले स्वीकृत गरेको हो, जसका सदस्यहरू स्वयं ट्रम्पले नै नियुक्त गरेका थिए। यद्यपि, सुरुमा स्वीकृत डिजाइन र बजारमा आएको वास्तविक सिक्कामा किन परिवर्तन गरियो भन्नेबारे अर्थ मन्त्रालयले कुनै स्पष्टीकरण दिएको छैन।
धातुको यो नयाँ सिक्का हेर्दा सुनौलो रङको देखिए पनि यसमा वास्तविक सुन भने प्रयोग गरिएको छैन। युएस मिन्टको प्राविधिक विवरणअनुसार यो सिक्का ८८.५ प्रतिशत तामा, ६ प्रतिशत जस्ता, ३.५ प्रतिशत म्याङ्गनिज र २ प्रतिशत निकेलको मिश्रणबाट तयार पारिएको हो। यो सिक्कालाई दैनिक प्रयोगको साधारण प्रवाहभन्दा पनि मुख्य रूपमा सङ्कलनकर्ताहरूका लागि लक्षित गरेर बजारमा ल्याइएको छ।
तर पनि यसलाई अमेरिकी कानुनअनुसार कानुनी मान्यता प्राप्त ‘लिगल टेन्डर’ मानिएको छ। नागरिकहरूले यसबाट ऋण वा कर भुक्तानी गर्न सक्ने भए तापनि निजी व्यवसायीहरूले यसलाई स्वीकार गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने अधिकार उनीहरू स्वयंमा रहने प्रावधान छ।
यो सिक्कालाई मिन्टको आधिकारिक वेबसाइटमार्फत बिक्रीमा राखिएको छ। २५ वटा सिक्काको रोललाई ६१ डलर र १०० वटा सिक्काको ब्यागलाई १५४.५० डलर मूल्य तोकिएको छ। यस हिसाबले प्रतिसिक्का १.५५ डलरदेखि २.४४ डलरसम्म पर्न जान्छ; जुन यसको अङ्कित मूल्य (एक डलर) भन्दा निकै बढी हो। वासिङ्टन डीसीस्थित युएस मिन्टका बिक्री केन्द्रहरूमा भेन्डिङ मेसिनमार्फत प्रतिसिक्का ५ डलरमा पनि यसको वितरण गरिएको छ।
अनलाइन बिक्री सुरु भएकै केही घण्टाभित्र अत्यधिक मागका कारण युएस मिन्टको वेबसाइटमा ‘मौज्दात सकिएको’ सन्देश राखिएको थियो भने उपभोक्ताहरूलाई घण्टौंसम्म भर्चुअल पर्खाइ कक्षमा राखिएको थियो।
खासगरी जुलाई ४ का दिन विशेष रूपमा छापिएका २ लाख ५० हजार थान सिक्काहरूमा ‘जुलाई फोर्थ’ अङ्कित विशेष चिह्न राखिएको छ।
कानुनी छिद्रको प्रयोग
अमेरिकी कानुनमा जीवित व्यक्तिको तस्बिर मुद्रामा राख्न नपाइने स्पष्ट प्रतिबन्ध रहेकाले ट्रम्पको तस्बिर सिक्कामा अङ्कित गर्ने कदम कानुनी र नैतिक विवादको विषय बनेको छ।
सन् १८६६ मा अमेरिकी कंग्रेसले जीवित व्यक्तिको तस्बिर नोट, ऋणपत्र वा धितोपत्रमा राख्न प्रतिबन्ध लगाउने कानुन बनाएको थियो। ट्रेजरी विभागका एक अधिकारीले ५ सेन्टको नोटमा आफ्नै तस्बिर छापेपछि उत्पन्न विवादका कारण कंग्रेसले यो कडा कानुनी प्रावधान ल्याएको थियो।
त्यसैगरी सन् २००५ को ‘प्रेसिडेन्सियल वान डलर कोइन एक्ट’ ले पनि पूर्वराष्ट्रपतिहरूको निधन भएको कम्तीमा दुई वर्ष पूरा नभएसम्म सिक्कामा उनीहरूको तस्बिर राख्न नपाइने नियम बनाएको थियो।
यसका बाबजुद ट्रम्प प्रशासनले सन् २०२० मा पारित भएको ‘सर्कुलेटिङ कलेक्टिबल कोइन रिडिजाइन एक्ट’ को कानुनी छिद्रलाई प्रयोग गर्दै यो सिक्का जारी गरेको छ। उक्त कानुनले सन् २०२६ मा २५०औं वार्षिकोत्सव मनाउन अर्थ मन्त्रालयलाई विशेष एक डलरको सिक्का जारी गर्ने अधिकार दिएको छ।
उक्त ऐनमा सिक्काको पछिल्लो भागमा जीवित व्यक्तिको तस्बिर राख्न निषेध गरिएको भए पनि अघिल्लो भागको विषयमा स्पष्ट रूपमा उल्लेख नगरिएकाले ट्रम्पको तस्बिर अघिल्लो भागमा राखिएको दाबी प्रशासनको छ।
यसबाहेक अर्थमन्त्रीलाई विशेष परिस्थितिमा सिक्काको ढाँचा र निष्कासन स्वीकृत गर्ने स्वविवेकीय अधिकारसमेत रहेको तर्क अघि सारिएको छ।
विपक्षीको कडा आलोचना
सिक्का सार्वजनिक गरिएपछि ट्रम्प प्रशासन र विरोधी पक्षबीच व्यापक भनाभन सुरु भएको छ। अर्थमन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल एक्समा लेख्दै यो कदमको बचाउ गरेका छन्।
अर्थमन्त्री बेसेन्टले भनेका छन्, ‘राष्ट्रपति ट्रम्पलाई समावेश गर्दै यस सिक्काले अमेरिकी मूल्य–मान्यताको शक्ति र सबैका लागि स्वतन्त्रताको रक्षा गर्न समर्पित राष्ट्रको प्रतिबद्धताको उत्सव मनाउँछ।’
यता राष्ट्रपति ट्रम्पले फक्स बिजनेस नेटवर्कसँग कुरा गर्दै आफ्नै शैलीमा प्रतिक्रिया दिएका छन्। ट्रम्पले भनेका छन्, ‘यो निकै असामान्य कुरा हो, तर म यसबाट सम्मानित भएको महसुस गर्छु। उनीहरूले मलाई सिक्का दिएको कुरा निकै सुन्दर छ।’
अर्कोतर्फ, विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरू र राजनीतिक विश्लेषकहरूले यस कदमको कडा शब्दमा आलोचना गरेका छन्। मध्यावधि निर्वाचन नजिकिँदै गर्दा देशमा अकासिँदो महँगी र जीवनयापनमा सङ्कट छाएका बेला राष्ट्रपतिले आफ्नो अनुहार सर्वत्र फैलाउन खोजेको आरोप उनीहरूले लगाएका छन्।
डेमोक्र्याटिक सिनेटर एलिजाबेथ वारेनले सामाजिक सञ्जालमा कडा टिप्पणी गर्दै भनेकी छन्, ‘अमेरिकीहरूले खाद्यान्न, आवास वा स्वास्थ्य उपचारजस्ता आधारभूत आवश्यकताहरू धान्न सकिरहेका छैनन्। यस्तो अवस्थामा डोनाल्ड ट्रम्प के गर्दै छन् ? उनी आफूले भेट्टाएका हरेक सतहमा आफ्नो अनुहार टाँस्ने कोसिस गरिरहेका छन्।’
भर्खरै उत्तरी क्यारोलिनामा सम्पन्न जी–२० शिखर सम्मेलनका क्रममा अमेरिकी ट्रेजरीका कर्मचारीहरूले विदेशी समकक्षीहरूलाई यो सिक्का उपहारका रूपमा बाँडेका थिए। त्यसक्रममा एक विदेशी अर्थमन्त्रीले अमेरिकाभित्रै यो सिक्का दैनिक प्रचलनमा ल्याउन लागिएको सुनेर आश्चर्य व्यक्त गरेका थिए।
यसका साथै सिटिजन्स कोइनेज एड्भाइजरी कमिटी (सीसीएसी) का सदस्यहरूले पनि पूर्वस्वीकृतिको प्रक्रियालाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।
सिनेटका विपक्षी नेता चक सुमरद्वारा मनोनीत सदस्य डोनाल्ड स्क्यारिन्चीले मिन्टले समितिको समीक्षाविना काम गरे त्यो गैरकानुनी हुने चेतावनी दिएका थिए। तर मिन्टले समितिले छलफल गर्न अस्वीकार गरेकाले आफूहरू निर्णय लिन स्वतन्त्र रहेको दाबी गरेको छ।
व्यक्तिगत ब्रान्डिङको निरन्तरता
धातुको सिक्कामा अनुहार छापेको यो घटना कुनै एकाकी प्रयास भने होइन। राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अमेरिकी राज्य संयन्त्र, ऐतिहासिक प्रतीक र सार्वजनिक सम्पत्तिहरूमा आफ्नो व्यक्तिगत पहिचान र नाम स्थापित गर्ने एउटा निरन्तर शृङ्खला नै चलाएका छन्।
यसअघि पनि उनले वासिङ्टनस्थित केनेडी सेन्टर कला केन्द्र, युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस र नयाँ युद्धपोतहरूको वर्गलाई आफ्नै नाममा नामकरण गर्ने प्रयास गरिसकेका छन्।
यति मात्र नभई, गत वर्ष सार्वजनिक गरिएको दश लाख डलरको गोल्ड कार्ड भिसा, राष्ट्रिय निकुञ्जका प्रवेश पासहरू, राहदानीका पानाहरू र सरकारी भवनहरूमा झुन्ड्याइएका ठूला ब्यानरहरूमा समेत ट्रम्पको नाम र तस्बिर अङ्कित गर्ने कार्य भइसकेको छ।
गत मार्च महिनामा अमेरिकी अर्थ मन्त्रालयले इतिहासमै पहिलोपटक बहालवाला राष्ट्रपतिको हस्ताक्षर कागजी नोटहरूमा समावेश गर्ने घोषणा गरेको थियो। परम्परागत रूपमा अमेरिकी कागजी नोटमा अर्थमन्त्री र कोषाध्यक्षको मात्र हस्ताक्षर हुने गर्दथ्यो।
यसबाहेक, अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्पको तस्बिर अङ्कित २५० डलरको नयाँ कागजी नोट छाप्ने कानुनी प्रस्तावसमेत अघि बढाएका छन्; जसले जीवित व्यक्तिलाई कागजी नोटमा राख्ने शताब्दीयौं पुरानो कानुनी व्यवस्थालाई सिधा चुनौती दिन्छ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ट्रम्पको यो कार्यशैलीलाई विश्लेषकहरूले आफ्नो ‘ब्रान्डिङ’ लाई राष्ट्रिय पहिचानसँग मिसाउने रणनीतिका रूपमा व्याख्या गरेका छन्। विगतमा एआई निर्मित तस्बिरहरू प्रयोग गरेर आफूलाई ईश्वर वा अलौकिक शक्तिसरह देखाउने सामाजिक सञ्जालका पोस्टहरूदेखि लिएर ऐतिहासिक धरोहरहरूमा आफ्नो नाम खोप्नेसम्मका उनका कदमहरू अमेरिकी लोकतान्त्रिक मूल्य र परम्परामाथिको अतिक्रमण भएको आलोचना भइरहेको छ।
(एजेन्सीहरूको सहयोगमा)