: भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीले धादिङमा ६ वटा पक्की पुल र १७ वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। पुलमा भएको क्षतिले जिल्लाका विभिन्न स्थानीय तहबीचको सडक तथा पैदल आवागमन प्रभावित भएको छ।
बाढीले पृथ्वीराजमार्गबाट धादिङबेँसी सदरमुकाम जोड्ने फुर्केखोला-परेवाटारको पक्की पुलसमेत बगाएपछि सदरमुकाम र राजमार्गबीचको नियमित सडक सम्पर्क प्रभावित बनेको छ। फुर्केखोला पुलको पुनर्निर्माण तथा तत्काल वैकल्पिक व्यवस्था गर्न माग गर्दै धादिङका नागरिकले सामाजिक सञ्जालमा ‘#कनेक्टधादिङ’ अभियान सञ्चालन गरेका छन्।
अभियानमार्फत तत्काल बेलिब्रिज वा अन्य वैकल्पिक पुलको व्यवस्था गरी यातायात सञ्चालन गर्न तथा दीर्घकालीन रूपमा स्थायी पुल पुनर्निर्माणको काम अघि बढाउन माग गरिएको छ। स्थानीयका अनुसार फुर्केखोला पुल सञ्चालनमा हुँदा दैनिक करिब २०० यात्रुबाहक, १५० मालवाहक तथा २५० देखि ३०० दुईपाङ्ग्रे र साना सवारीसाधन आवतजावत गर्ने गरेका थिए।
पुल धादिङका आठ स्थानीय तहसँगै गोरखाका दुई स्थानीय तह तथा मनास्लु पर्यटन पदमार्गतर्फ आवतजावत गर्ने नागरिक र पर्यटकका लागि समेत महत्वपूर्ण सडक सम्पर्कका रूपमा रहेको छ। स्थानीयका अनुसार यस क्षेत्रसँग प्रत्यक्ष रूपमा दुई लाखभन्दा बढी जनसंख्या जोडिएको छ। पुल बगेपछि वैकल्पिक रूपमा प्रयोग भइरहेका कच्ची सडकले नियमित आवागमनको चाप धान्न नसकेको उनीहरूको भनाइ छ।
पुलको अभावले दैनिक आवतजावतसँगै व्यापार-व्यवसाय, खाद्यान्न तथा अत्यावश्यक सामग्रीको आपूर्ति, स्वास्थ्य सेवा र आपतकालीन उद्धारमा समेत कठिनाइ थपिएको स्थानीय बताउँछन्। स्थानीयले चीन सरकारले नेपाललाई उपलब्ध गराएको १०० मिटर लम्बाइका बेलिब्रिजमध्ये आवश्यक संरचना फुर्केखोला-परेवाटारमा प्रयोग गर्न माग गरेका छन्। स्थानीय अनिल अधिकारीका अनुसार बाढीपछि तत्कालीन राहत तथा उद्धारसँगै क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापनालाई पनि प्राथमिकतामा राख्न आवश्यक छ।
“चीन सरकारले नेपाललाई १०० मिटर लम्बाइका बेलिब्रिज उपलब्ध गराइसकेको अवस्थामा त्यसलाई ढिलाइ नगरी तत्काल फुर्केखोला-परेवाटारमा प्रयोग गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण होस्,” अधिकारीले भने। उनका अनुसार कामलाई प्राथमिकता दिए दसैँअघि नै अस्थायी पुल सञ्चालन गर्न सकिने अवस्था रहेको छ। चाडपर्व नजिकिँदै जाँदा जिल्लामा आवतजावत बढ्ने भएकाले तत्काल वैकल्पिक पुलको आवश्यकता थप महसुस भएको स्थानीय बताउँछन्।
पुल नहुँदा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति, बिरामीको ओसारपसार तथा अन्य आपतकालीन सेवामा थप कठिनाइ हुन सक्ने उनीहरूको भनाइ छ। त्यसैले स्थानीयले तत्कालका लागि अस्थायी पुलको व्यवस्था र दीर्घकालीन रूपमा स्थायी पुल पुनर्निर्माणको प्रक्रिया अघि बढाउन माग गरेका छन्। पुल पुनर्निर्माणमा ढिलाइ हुँदा नागरिकको दैनिक जीवनमा थप समस्या पर्न सक्ने भन्दै अधिकारीले शीघ्र प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्।
विपद्का बेला उद्धार तथा राहतसँगै क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापनालाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। ‘#कनेक्टधादिङ’ अभियानमा सहभागीहरूले फुर्केखोला पुल पुनर्निर्माणको विषय कुनै राजनीतिक दल वा व्यक्तिविशेषसँग जोडिएको विषय नभएको बताएका छन्। उनीहरूका अनुसार पुल पुनर्निर्माण नागरिकको सहज आवागमन, स्थानीय अर्थतन्त्र, अत्यावश्यक सेवा र जनजीवनसँग जोडिएको साझा सरोकार हो।
धादिङमा बाढीबाट ६ पक्की र १७ झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको अवस्थामा तत्काल आवश्यक स्थानमा वैकल्पिक संरचना निर्माण र दीर्घकालीन रूपमा क्षतिग्रस्त पुलहरूको पुनर्निर्माण अघि बढाउनुपर्ने स्थानीयको माग छ।