: रसुवा भोटेकोशी बाढीको विपदमा परेका व्यक्तिको पीडामा साथ दिन काठमाडौं उपत्यका एकै ठाउँमा छ भन्ने सन्देश दिन आज काठमाडौँमा नागरिक ऐक्यवद्धता र्याली आयोजना गरिएको छ। बाढीमा परेर मृत्यु वरण गरेका व्यक्तिहरुलाई सामुहिक सम्झना, श्रद्धाञ्जली र समवेदना प्रकट गर्दै दुःखमा परेकाहरुको सान्त्वानाका लागि र्याली आयोजना गरिएको हो।
स्थानीयको योजनामा सुरु भएको र्यालीमा ठुलो संख्यामा मानिसहरु सहभागी भएका थिए। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुले र्यालीमा पुगेर ऐक्यवद्धता जनाएका थिए।
ऐक्यवद्धता जनाउन र्यालीमा जनजाती अधिकारकर्मी मल्ल के.सुन्दर, पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, भीमसेनदास प्रधान, मुक्ति प्रधान, डा. पुष्पराज राजकर्णिकार, नेवाः देय् दबूकी अध्यक्ष रश्मिला प्रजापती, नेपाल भाषा मंकाः खलःका अध्यक्ष रमेश पिया, न्हूँद समारोह समितिका अध्यक्ष प्रेमहिरा तुलाधर, न्हूँद संरक्षण समाजका संयोजक प्रा. डा. नरेशमान बज्राचार्यलगायत विभिन्न जातीय खलः पुचःका अध्यक्षहरु र्यालीमा पुगेका थिए।
त्यस क्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले भूगोल जता भएपनि नेपालीहरुको पीडामा सबैलाई पीडा हुने बताइन्। ‘काठमाडौँ महानगरपालिकाले संस्थागत रुपमा खोज, राहत तथा उद्धारका काम गरिरहेको छ। एम्बुलेन्स, शववाहनको परिचालन, वेपत्ताहरुको खोजी, उपचारका लागि अस्पतालहरुमा सहजीकरणको काम गरिरहेको छ।’ उनले भनिन्, ‘सबै मिलेर विपत्तिबाट उठ्नुपर्छ । नागरिक र्यालीले यही सन्देश दिएको छ ।’
बसन्तपुरबाट सुरु भएको र्याली हनुमानढोका, मखन, वंगः, केलटोल, असन, कुनाटोल हुँदै शान्तिबाटिकामा पुगेर श्रद्धाञ्जली तथा ऐक्यबद्धता सभामा परिणत भएको थियो। बाढीबाट ज्यान गुमाएकाहरुको स्मृतिमा मौनधारण गर्दै सभा सुरु गरिएको थियो। मृतकहरुको प्रतीकका रूपमा राखिएको दीपमा फूल धुप तथा खादा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको थियो। त्यस क्रममा धार्मिक परम्परा अनुसार मृतकहरुको आत्माको चिरशान्तिको कामना गर्दै पाठ र प्रार्थना गरिएको थियो ।