। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट सिर्जना भएको विपत्तिको सामना गरिरहेको अवस्थामा सबैलाई एकताबद्ध भएर उभिन आह्वान गरेका छन् ।
सोमबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सम्पूर्ण राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय तथा आम नागरिकलाई एकताबद्ध भएर उभिन आह्वान गरेका हुन् ।
विपत्तिको कठिन घडीमा विभाजन, दोषारोपण तथा राजनीतिक विवादमा अल्झिने समय नभएको भन्दै राष्ट्रपति पौडेलले राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्न पनि आग्रह गरेका छन् ।
‘यो विभाजनको समय होइन । एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन । यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो,’ राष्ट्रपति पौडेलले भने ।
विपत्तिपछिको अवस्थामा पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले विकासको विद्यमान मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
‘यो समय पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो,’ पौडेलले भने, ‘हामी पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ ।’