। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि एक साताको समयसीमा दिएकी छिन् ।
सोमबार मन्त्रालयमा उद्योगीहरूसँगको छलफलका क्रममा उनले वातावरण संरक्षण सम्बन्धी कानुनी मापदण्ड उल्लंघन गर्ने उद्योगहरूलाई कारबाहीको चेतावनी दिएकी हुन् ।
सिमरा र वीरगञ्ज क्षेत्रका दर्जनौं उद्योगहरूले प्रशोधन नगरी ढल र औद्योगिक फोहोर सिधै खोलामा मिसाउँदा सिर्सिया खोला प्रदूषित बन्न पुगेको छ ।
यसबाट बाराको सिमरा, महुली तथा पर्साको सिरसिया, ताजपुर, रामगढवा, रामवन, अशोक वाटिका र विन्ध्यवासिनी लगायत दर्जनौँ गाउँका लाखौँ बासिन्दा प्रभावित भएका छन् ।
उद्योगहरूले वातावरण संरक्षण ऐनको दायरा उल्लंघन गरी दुषित पानी खोलामा पठाउँदा स्थानीय जनजीवन, पशुपालन र समग्र मानव स्वास्थ्यमा गम्भीर संकट उत्पन्न भएको मन्त्री कुमारीको ठहर छ ।
उनले उद्योगीहरूलाई यो विषयलाई केवल औपचारिक बैठकको रूपमा मात्र नलिन र तत्काल सुधारका कार्यहरू थाल्न निर्देशन दिइन् ।
‘राज्यका सम्बन्धित निकायहरूले पटक–पटक सजग गराउँदा पनि हालसम्म कुनै सुधार देखिएको छैन । यस क्षेत्रका जनताको निरन्तर गुनासो आएकाले मन्त्रालय यस विषयमा अत्यन्त गम्भीर छ । तपाईंहरूलाई एक हप्ताको समय छ,’ उनले थप भनिन्, ‘के–के सुधार गर्नुपर्ने हो, आजैदेखि थाल्नुहोस् । आगामी साता मन्त्रालयको विशेष टोली स्थलगत निरीक्षणका लागि आउनेछ र त्यसपछि नियमअनुसारको प्रक्रिया अगाडि बढाइनेछ ।’
विगत लामो समयदेखि यस क्षेत्रका किसान र सर्वसाधारणले सिर्सिया खोलालाई पुनर्जीवन दिन माग गर्दै आएका छन् ।
उद्योगीहरूले आफ्ना उद्योगबाट निस्कने रसायनयुक्त पानी र फोहोर व्यवस्थापन नगर्दा यस क्षेत्रको ‘लाइफलाइन’ मानिने खोला अस्तित्व संकटमा परेको छ । मन्त्रीको यो पछिल्लो निर्देशनसँगै स्थानीय बासिन्दाले प्रदूषण नियन्त्रण हुनेमा आशा व्यक्त गरेका छन् ।