। खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा अन्य अन्तरराष्ट्रिय गठबन्धनमा मात्र निर्भर रहन नसक्ने र सुरक्षा क्षेत्रमा अझ बढी आत्मनिर्भर बन्नुपर्ने कतारको विदेश मन्त्रालयका प्रवक्ताले सोमबार बताएका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीमा आयोजित ‘हिली फोरम’ मा बोल्दै प्रवक्ता माजिद अल–अन्सारीले खाडी क्षेत्रमा अन्तरराष्ट्रिय सेनाको उपस्थिति र अमेरिकासँगको रणनीतिक गठबन्धन महत्वपूर्ण भए पनि त्यसले मात्र क्षेत्रको सुरक्षा सुनिश्चित गर्न नसक्ने बताए।
“हामीलाई हाम्रा साझेदार र सहयोगीहरूको आवश्यकता छ । तर आफ्नो सुरक्षाका लागि हामी उनीहरूमा मात्र निर्भर रहन सक्दैनौँ”, उनले भने। उनका अनुसार सुरक्षा क्षेत्रमा आत्मनिर्भरता नै अघि बढ्ने मुख्य बाटो हो ।
कतार अमेरिका–इरान द्वन्द्वमा प्रमुख मध्यस्थकर्ताका रूपमा सक्रिय रहँदै आएको छ । यस क्रममा उसले आफ्ना ऊर्जा पूर्वाधारलाई लक्षित गरी इरानबाट भएका आक्रमणसमेत सामना गरेको छ ।
सानो तर धनी ग्यास उत्पादक राष्ट्र कतारले मध्यपूर्वमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य आधारमध्ये एकलाई आश्रय दिँदै आएको छ । द्वन्द्वका क्रममा इरानले अमेरिकी आक्रमणको जवाफमा अमेरिकी सैन्य आधार तथा क्षेत्रका ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण गरेको छ ।
६ महिनादेखिको द्वन्द्वपछि अमेरिका र इरान गतिरोधमा पुगेका छन् । इरानले रणनीतिक महत्वको हर्मुज जलसन्धिमा जहाज आवतजावतमा अवरोध पुर्याइरहेको छ भने अमेरिकाले इरानी बन्दरगाहमाथि नाकाबन्दीको दबाब बढाइरहेको छ ।
गत महिना मध्यस्थता प्रयासस्वरूप कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी तेहरान पुगेका थिए। त्यसअघि हर्मुज जलसन्धिसँग सीमा जोडिएका इरान र ओमानले अस्थायी समुद्री मार्ग (सिपिङ करिडोर) सञ्चालन तथा जलसन्धिमा रहेका बारुदी सुरुङ हटाउने विषयमा छलफल गरिरहेको बताएका थिए ।