मुख्य समाचार
दक्षिण कोरियाले भोटेकोशी बाढीपछिको पुनर्निर्माण प्रयासमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता
दक्षिण कोरियाले भोटेकोशी बाढीपछिको पुनर्निर्माण प्रयासमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

। दक्षिण कोरियाले भोटेकोशी बाढीपछिको पुनर्निर्माण प्रयासमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भएको भेटवार्तामा कोरियाले उक्त इच्छा व्यक्त गरेको हो।

भेटका क्रममा गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि भइरहेको खोज, उद्धार र राहत कार्यका साथै बेपत्ता कोरियाली नागरिकहरूको खोजीका विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा कोरियाली विपद् राहत टोली र अन्तरनिकाय र्‍यापिड रेस्पोन्स टोली पठाएकोमा दक्षिण कोरिया सरकारलाई धन्यवाद दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मानवीय सहायता र राहत सामग्री आपूर्तिका लागि प्रशंसा गर्दै मन्त्री खनालले आगामी दिनमा विपद्‌ प्रतिरोधी, दिगो र बलियो पूर्वाधार निर्माण गर्नु नेपाल सरकारको मुख्य प्राथमिकता रहेको बताए। यसका लागि उनले कोरियाबाट निरन्तर सहयोगको अपेक्षासमेत व्यक्त गरेका छन्।



जवाफमा कोरियाली परराष्ट्रमन्त्री चो ह्युनले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सघाउन कोरिया सरकार पूर्ण रूपमा तयार रहेको बताए।

जलवायु परिवर्तनका कारण नेपालजस्ता देशहरूले भोग्नुपरेको क्षतिका लागि विश्व समुदायको ऐतिहासिक जिम्मेवारी रहेको औँल्याउँदै उनले यस विषयमा कोप जस्ता विश्वव्यापी मञ्चहरूमा अन्य देशहरूलाई सचेत गराउन नेपाल र कोरियाले हातेमालो गर्नुपर्नेमा जोड दिए।

साथै, नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने आर्थिक सहयोगका विषयमा दक्षिण कोरियाले पनि आफ्नो तर्फबाट आवाज उठाउने परराष्ट्रमन्त्री ह्युनले प्रतिबद्धता जनाएका छन्।

भेटको अन्त्यमा दुवै मन्त्रीले लामो समयदेखिको मित्रता, आपसी विश्वास र सहकार्यमा आधारित द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्दै नयाँ उचाइमा पुर्‍याउन नजिकबाट काम गर्ने प्रतिबद्धता दोहोर्‍याएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दक्षिण कोरियाका परराष्ट्रमन्त्री ह्युन तीनदिने भ्रमणमा नेपाल आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्ग हुँदै यात्रा नगर्न आग्रह गरेको छ। आज आइतबार सार्वजनिक सूचना जारी गर्दै यात्राको तयारी अवस्था वा यात्रामा रहेका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नहुँदासम्म पदयात्रा नगर्न आग्रह गरेको हो । आज बिहान नामरुङस्थित थेराङ खोलामा बाढी आउँदा यस क्षेत्रमा पदमार्ग, होटल, जलविद्युत आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीले चुमनुव्री ...
। मधेशी समुदाय लक्षित अभिव्यक्ति लेखी सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङ बाक्सिलाका ३५ वर्षीय विशाल गुरुङ छन्। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो। उनीविरुद्ध सार्वजनिक शान्तिमा खलल पुर्‍याउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनले सार्वजनिक स्थलहरुमा मधेशी समुदाय लक्षित भड्काउ अभिव्यक्ति लेखेका थिए।
। रसुवा बाढीको १२ औं दिन नेपाली सेनाले ५ जनाको हवाई उद्धार गरेको छ । सैनिक मुख्यालय जंगी अड्डाका अनुसार आज आइतबार दिउँसो १ बजेसम्म बाढी प्रभावित विभिन्न ठाउँहरुबाट ५ जनाको हवाई उद्धार गरिएको हो । अहिलेसम्म ३ हजार ९६७ जनाको हवाई उद्धार गरिएको सेनाले बताएको छ । जसमा २७५ विदेशी नागरिक छन् ।
। रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन ९३ कर्मचारी तथा श्रमिकको खोजी कार्य जंगल क्षेत्रमा समेत विस्तार गरिएको छ । आयोजनाको विद्युत्गृहभन्दा बाहिर बाढीबाट जोगिन भागेको हुन सक्ने सम्भावित क्षेत्र र जंगलमा सम्पर्कविहीनको खोजी गर्न दक्ष तथा अनुभवी रक क्लाइम्बर टोली परिचालन गरिएको हो । कम्पनीले आफ्नै प्रयासमा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष जनशक्ति परिचालन गरी घट्टेखोला ...
। सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुर्‍याउनेहरूका लागि छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कोषमा प्रत्यक्ष सहयोग रकम पठाउन सम्भव नभएको वा तोकिएको कारोबार सीमाभन्दा बढी हुने अवस्थाले झन्झट हुने देखिएकाले अन्य खाताहरू प्रयोग गर्न भनिएको हो । ‘विद्यमान नियमअनुसार आफ्ना विविध खाताहरू प्रयोग गर्न ...