। रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत आयोजनाका सुरुङभित्र जारी खोजी तथा उद्धार कार्यलाई सघाउन स्विट्जरल्याण्डले नेपाललाई एक अत्याधुनिक ड्रोन सहयोग गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहमा प्राप्त उक्त सेमी–अटोनोमस ड्रोन शनिबार नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। नेपालस्थित स्विस दूतावासका अनुसार नेपाल आइपुगेका एक स्विस मानवीय सहायताविज्ञले उक्त उपकरण प्राधिकरणलाई बुझाएका हुन्।
यो ड्रोन स्वीट्जरल्याण्डको ख्यातिप्राप्त ड्रोन निर्माता कम्पनी फ्लाइबिलिटीले अनुदानस्वरूप उपलब्ध गराएको दूतावासले जनाएको छ। विशेषगरी साँघुरा, अँध्यारा र मानिस सहजै पुग्न नसक्ने जोखिमपूर्ण सुरुङभित्र उडेर खोजी गर्न यो ड्रोनको डिजाइन गरिएको हो।
के हो फ्लाइबिलिटी ड्रोन र यसले के गर्न सक्छ ?
स्वीस कम्पनी फ्लाइबिलिटीले मुख्यतया भित्री, साँघुरा र जोखिमपूर्ण संरचना जस्तै सुरुङ, भत्किएका खानी र औद्योगिक पाइपलाइनहरूको निरीक्षण गर्न ‘एलियोस’ सिरिजका विशेष ड्रोनहरू निर्माण गर्दै आएको छ।
यो ड्रोन ठोक्किएर खस्दैन । यो ड्रोनको बाहिरी भागमा कार्बन फाइबरको बलियो गोलाकार जाली जडान गरिएको हुन्छ। जसले गर्दा सुरुङको भित्ता वा भग्नावशेषमा ठोक्किँदा पनि यो खस्दैन र सन्तुलन मिलाएर निरन्तर उड्न सक्छ।
यसले अँध्यारोमा पनि काम गर्न सक्छ । यसमा जडान गरिएका शक्तिशाली एलईडी बत्ती र थर्मल क्यामेराले जस्तोसुकै घुप्प अँध्यारो सुरुङभित्र पनि स्पष्ट भिडिओ कन्ट्रोल रुममा पठाउन सक्छ। थर्मल क्यामेराले मानिसको शरीरको तापक्रम पहिचान गर्ने हुँदा भग्नावशेषमा फसेका जीवित व्यक्तिहरू पत्ता लगाउन यसले निकै सघाउँछ।
यसको अर्को विशेषता थ्रीडी म्यापिङ हो । यसमा हुने अत्याधुनिक सेन्सर र ‘लिडार’ प्रविधिले सुरुङभित्रको भग्नावशेष र क्षतिको थ्रीडी नक्सा तत्कालै तयार पार्छ।
मानिस आफैं छिर्न जोखिमपूर्ण हुनसक्ने जलमग्न र भत्किएका सुरुङहरूभित्र यो ड्रोन पठाएर बेपत्ता नागरिकको यकिन अवस्था पत्ता लगाउन र उद्धारकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न यो उपकरण निकै प्रभावकारी साबित हुने प्राविधिकहरू बताउँछन्।