। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण नेपाल विद्युत् प्राधिकरणका विभिन्न आयोजनामा कार्यरत ४७ जना कर्मचारीहरू अझै सम्पर्कविहीन छन् । प्राधिकरणले बेपत्ता कर्मचारीहरूको खोज तथा उद्धार कार्यलाई तीव्रता दिए पनि धेरैको अवस्था अझै अज्ञात रहेकाले पहिचानका लागि ‘डीएनए’ परीक्षणको प्रक्रिया सुरु गरेको छ ।
प्राधिकरणका अनुसार बाढीले माथिल्लो त्रिशुली ३ ए, त्रिशुली ३ बी हब, चिलिमे–त्रिशुलीलगायत संरचनामा ठुलो क्षति पुर्याएको छ । खोज तथा उद्धारका क्रममा हालसम्म माथिल्लो त्रिशुली ३ ए बाट दुई जनाको सकुशल उद्धार गरिएको छ भने एक जनाको शव प्राप्त भएको छ । बाँकी ४७ जना कर्मचारीहरू अझै फेला परेका छैनन् ।
बेपत्ता हुनेहरूमा इन्जिनियर, सुपरभाइजर, फोरम्यानदेखि सुरक्षा गार्डसम्म रहेका छन् । जसमा इन्जिनियरहरू दिलिप यादव, राजेन्द्र ढकाल, महेन्द्रविक्रम शाही, र निरजन पांगेनी लगायतका कर्मचारीहरू छन् । बेपत्ता कर्मचारीहरू बैतडी, पर्सा, सिन्धुली, नुवाकोट, रुपन्देही, महोत्तरी लगायत देशका विभिन्न जिल्लाका बासिन्दा हुन् ।
नेपाल विद्युत प्राधिकरणले एक विशेष सूचना जारी गर्दै बेपत्ता कर्मचारीका परिवारजनलाई डीएनए परीक्षणका लागि रगतको नमुना उपलब्ध गराउन अनुरोध गरेको हो ।
सूचनामा उल्लेख भए अनुसार, बेपत्ता व्यक्तिको सबैभन्दा नजिकको रगतको नाता (बाबु, आमा, छोरा वा छोरी मध्ये कोही एक) ले दुई प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज वा आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरी रगतको नमुना उपलब्ध गराउनु पर्नेछ ।
यस्तै, तथ्यांक संकलनमा सहजताका लागि डीएनए परीक्षणको स्लिप र रिपोर्ट प्राप्त भएपछि त्यसको फोटो ह्वाट्सएप ग्रुपमा पठाइदिन समेत प्राधिकरणले सम्बन्धित परिवारलाई आग्रह गरेको छ ।