: विराटनगरमा ऐतिहासिक ५९औँ राधाकृष्ण रथयात्रा भव्य रूपमा सम्पन्न भएको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने परम्पराअनुसार शनिबार विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा नगरका विभिन्न क्षेत्रको परिक्रमापछि पुनः मन्दिरमै पुगेर सम्पन्न भएको हो।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विधिवत् पूजाआजा गरी रथयात्राको उद्घाटन गरेपछि राधाकृष्णको युगल जोडी सवार रथ तान्न सुरु गरिएको थियो। रथयात्रामा विराटनगरसहित मोरङका विभिन्न स्थान, नेपालका अन्य जिल्लाका साथै भारतका सीमावर्ती क्षेत्रबाट समेत आएका हजारौँ भक्तजन सहभागी भएका थिए। रथयात्राका क्रममा विराटनगरका मुख्य सडक तथा चोकहरूमा भक्तजनको बाक्लो भिड लागेको थियो। राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक हुँदै कोशी राजमार्गतर्फ अघि बढेको थियो। त्यसपछि बरगाछी र दुर्गा चोक हुँदै पुनः राधाकृष्ण मन्दिरमा पुगेर सम्पन्न भएको हो । रथले करिब ८ किलोमिटर दूरी तय गरेको आयोजकले जनाएको छ।
रथयात्रामा राधाकृष्ण सवार रथको पूजाआजा तथा दर्शन गर्न सहज होस् भनेर ४४ स्थानमा विश्रामको व्यवस्था गरिएको थियो । भक्तजनले विभिन्न स्थानमा रथको दर्शन तथा पूजाआजा गरेका थिए। यस वर्षको रथयात्राको मुख्य विशेषतामध्ये डीजे साउन्डको प्रयोग नगर्नु पनि रहयो । पछिल्ला वर्षमा धार्मिक तथा सांस्कृतिक कार्यक्रममा चर्को डीजे साउन्डको प्रयोग बढ्दै गएको अवस्थामा आयोजकले यसपटक धार्मिक पर्वको मौलिकता र आध्यात्मिक वातावरणलाई प्राथमिकता दिँदै डीजे प्रयोगमा रोक लगाएको थियो।
रथयात्राको मार्गमा विभिन्न भजन मण्डलीले भजन–कीर्तन प्रस्तुत गरेका थिए। धार्मिक झाँकी र परम्परागत प्रस्तुतिलाई समेत प्राथमिकता दिइएको थियो । राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले धार्मिक पर्वको मौलिकता जोगाउने उद्देश्यले यसपटक डीजेको सट्टा भजन–कीर्तन र धार्मिक प्रस्तुतिलाई प्राथमिकता दिइएको बताए। रेग्मीका अनुसार आधुनिक मनोरञ्जनका माध्यमका कारण धार्मिक पर्वको मौलिक स्वरूप ओझेलमा पर्न थालेको गुनासो बढिरहेका बेला रथयात्रालाई परम्परागत धार्मिक वातावरणमा अघि बढाउने प्रयास गरिएको हो। साथै, रथयात्राका क्रममा विराटनगरका विभिन्न स्थानमा पानी, चिसो पेय पदार्थ, मोही तथा विभिन्न खानेकुरा निःशुल्क वितरण गरिएको थियो।
विराटनगरको राधाकृष्ण रथयात्राको इतिहास झण्डै एक शताब्दी पुरानो छ। विसं १९८८ मा राधाकृष्ण मन्दिर स्थापना भएपछि ‘खट यात्रा’बाट यो धार्मिक परम्परा सुरु भएको थियो । विसं २०२५ देखि भने यसलाई भव्य रथयात्राका रूपमा सञ्चालन गर्न थालिएको हो। खट यात्रासमेत गणना गर्दा यस वर्ष ९५औँ यात्रा पूरा भएको छ भने रथयात्राको ५९औँ संस्करण सम्पन्न भएको हो। वर्षौंदेखि निरन्तर सञ्चालन हुँदै आएको राधाकृष्ण रथयात्रा विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको प्रमुख पर्वका रूपमा स्थापित भएको छ। विराटनगरवासी मात्र नभई नेपालका विभिन्न स्थान र भारतको बिहार तथा पश्चिम बंगालबाट समेत भक्तजन रथयात्रामा सहभागी हुन तथा रथको दर्शन गर्न आउने गरेका छन्।
रथयात्रा समारोह समितिका अध्यक्ष रेग्मीका अनुसार विराटनगरको रथयात्रा देशकै पुरानो र ठूलो रथयात्रामध्ये एक हो। पछिल्ला वर्षमा मोरङ, सुनसरी र झापालगायतका विभिन्न स्थानमा पनि रथयात्रा आयोजना हुन थालेका कारण विराटनगरको रथयात्रामा भक्तजनको उपस्थिति केही प्रभावित भए पनि यसको धार्मिक र सांस्कृतिक महत्व भने कायमै रहेको उनले बताए। ठूलो संख्यामा भक्तजनको उपस्थिति हुने भएकाले रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। नेपाल प्रहरीले भिड व्यवस्थापन तथा सम्भावित आपराधिक गतिविधिको निगरानीका लागि ड्रोनसमेत प्रयोग गरेको थियो।
मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवालका अनुसार रथयात्रालाई लक्षित गरेर हतियार, पोसाक तथा सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरिएको थियो। भिडमा हुन सक्ने चोरी, पाकेटमारी तथा अन्य आपराधिक र उच्छृंखल गतिविधि नियन्त्रणका लागि प्रहरीले विशेष निगरानी बढाएको उनले बताए। रथयात्राका क्रममा प्रहरीले केही व्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको छ। रथयात्रालाई व्यवस्थित रूपमा सम्पन्न गर्न आयोजकले १ हजार १ सदस्यीय मूल समारोह समिति गठन गरेको थियो । त्यसअन्तर्गत विभिन्न २१ वटा उपसमिति परिचालित थिए।
यसपटकको रथयात्रा धार्मिक उत्सवसँगै मानवीय सेवासँग पनि जोडिएको छ। रथयात्राका क्रममा संकलन भएको भेटीबापतको रकम बाढीपीडितको राहतका लागि प्रयोग गर्ने निर्णय गरिएको छ। त्यस्तै, नगर परिक्रमा गराइएका दानपेटिकाबाट संकलित रकम भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने आयोजकले जनाएको छ ।
राधाकृष्ण रथयात्रा विराटनगरको धार्मिक पर्व मात्र नभई पुस्तौँदेखि निरन्तर चल्दै आएको सांस्कृतिक परम्परा हो। खट यात्राबाट सुरु भएको यो परम्परा भव्य रथयात्राका रूपमा विस्तार हुँदै अहिले विराटनगरको पहिचानसँग जोडिएको छ। यस वर्ष डीजे साउन्डको सट्टा भजन–कीर्तन, धार्मिक झाँकी र परम्परागत प्रस्तुतिलाई प्राथमिकता दिएर आयोजकले रथयात्राको मौलिक स्वरूपलाई निरन्तरता दिने प्रयास गरेको छ। भक्तजनको उल्लेख्य सहभागिता, धार्मिक झाँकी, भजन–कीर्तन र राधाकृष्ण सवार विशाल रथसँगै सम्पन्न भएको ५९औँ राधाकृष्ण रथयात्राले विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानलाई जोगाउन मदत गरेको आयोजकको भनाइ छ।