। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनर रुस र युक्रेनको भ्रमणमा जाने भएका छन् । उनीहरू रुस–युक्रेन युद्ध अन्त्य गराउने प्रयासस्वरूप भ्रमणमा जान लागेका हुन् ।
भ्रमणबारे पत्रकारले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले उनीहरू युद्ध अन्त्य गर्ने प्रस्ताव लिएर जान लागेको बताएका छन् ।
ट्रम्पले युद्ध अन्त्यका लागि अमेरिकासँग ठोस प्रस्ताव रहेको संकेत गरे पनि त्यसको विस्तृत विवरण भने सार्वजनिक नगरेको बीबीसीले जनाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि विटकफ र कुशनरको भ्रमणको पुष्टि गरेका छन् ।
उनीहरू शनिबार मस्को पुगेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने र आइतबार किभ पुगेर जेलेन्स्कीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
विटकफ र कुशनर राष्ट्रपति ट्रम्पको तर्फबाट रुस–युक्रेन शान्ति वार्ता अघि बढाउने प्रयासमा सक्रिय छन् ।
उनीहरूले यसअघि रुसमा पटक–पटक वार्ता गरेका थिए । यद्यपि, युद्धरत दुवै पक्षबीच अझै ठूलो मतभेद कायम छ ।
युक्रेनले थप भूभाग छाड्नुपर्ने रुसले माग गरिरहेको छ भने युक्रेनले अस्वीकार गर्दै आएको छ ।