: भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण चिलिमे जलविद्युत् आयोजनामा फसेका श्रमिक तथा प्राविधिकहरूको उद्धार कार्य निरन्तर जारी छ।
कठिन भौगोलिक बनावट, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण घटनास्थलसम्म आवश्यक जनशक्ति, उपकरण र सामग्री पुर्याउन ठूलो चुनौती थपिएको छ।
हाल सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेना र भारतीय सेनाका २१ जना टोली प्रत्यक्ष रूपमा खटिएका छन्। उद्धारटोलीले सुरुङभित्र जम्मा भएको माटो तथा भारी भग्नावशेष म्यानुअल (हाथैले) हटाइरहेका छन्। २५० मिटर लामो सुरुङमध्ये अहिलेसम्म करिब १०० मिटर भाग सफा गरिसकिएको छ।
तातो र साँघुरो सुरुङभित्र हातैले मात्र काम गरेर उद्धार सम्पन्न गर्न सम्भव नभएकाले ठूला एक्स्काभेटर घटनास्थलसम्म पुर्याउनु अत्यावश्यक देखिएको छ।
यसका लागि स्याफ्रुबाट पावरहाउस पोर्टलसम्म पुग्ने नयाँ पहुँच सडक निर्माणको काम आजैदेखि अघि बढाइएको छ। साथै, सुरुङमार्फत नै एक्स्काभेटर छिराउने अर्को विकल्पमा पनि काम भइरहेको र त्यसका लागि बाँकी रहेको १०० मिटर भागको माटो हटाउने प्रयास निरन्तर जारी छ।
भौगोलिक जटिलताका कारण ठूला हेलिकोप्टर अवतरण गराउन सम्भव नभएपछि साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री र उद्धार उपकरणहरू घटनास्थलसम्म पुर्याउने प्रयास भइरहेको छ। भौतिक अवरोध र कठिन परिस्थिति भए तापनि उद्धार कार्यलाई उच्च प्राथमिकतामा राखेर पहुँच विस्तार र उपकरण परिचालनका कामहरू तीव्र पारिएको छ।