: विराटनगर महानगरपालिका–८ हाटखोलास्थित मोरङ जिल्ला कारागारमा लामो समयदेखि देखिएको गुटबन्दी शुक्रबार कुटाकुटमा परिणत भएपछि प्रशासनले १९ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालेको छ।
कारागारभित्र एउटा समूहले ‘बी ब्लक’ नियन्त्रणमा लिएर प्रशासनको प्रवेशसमेत रोकेको थियो। कारागार कब्जाको पक्ष र विपक्षमा रहेका कैदीबन्दीबीच कुटाकुटा हुँदा लामो समयदेखि झँगिएको गुटबन्दी विस्फोट भएको हो । स्थिति नियन्त्रणमा लिन मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालको नेतृत्वमा प्रहरी टोली कारागार पुगेको थियो।
शुक्रबार अपरान्ह ‘बी ब्लक’मा कैदीबन्दीबीच विवाद बढेर कुटाकुट हुन थालेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रहरीले होहल्ला र अराजक गतिविधिमा संलग्न १९ जनालाई कारागारबाट बाहिर निकालेर जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरमा राखेको छ।मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार बाहिर निकालिएका १९ जनामध्ये ६ जनालाई वडा प्रहरी कार्यालय र १३ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । कारागार प्रशासनले उनीहरूलाई पुनः मोरङ कारागारमै राख्दा सुरक्षा चुनौती बढ्न सक्ने भन्दै अलग–अलग कारागारमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । उनीहरुलाई विभिन्न सातवटा कारागारमा पठाउन लागिएको हो।
मोरङ कारागारका प्रशासक राजन घिमिरेका अनुसार १९ जनालाई झापा, झुम्का, उदयपुर, सिन्धुली, सप्तरी, सिराहा र पर्साका कारागारमा पठाउने तयारी भइरहेको छ। सबैलाई एउटै ठाउँमा राख्दा पुनः समूह निर्माण गरेर गुटबन्दी र विवाद दोहोरिन सक्ने भएकाले अलग–अलग कारागारमा पठाउन लागिएको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार कारागारभित्र पछिल्लो समय आतंक सिर्जना गर्ने, अन्य कैदीबन्दीमाथि दबाब दिने तथा रकम असुली गर्ने गतिविधिमा संलग्न रहेको आरोप लागेका कैदीबन्दीलाई बाहिर निकालेर स्थानान्तरणको प्रक्रिया अघि बढाइएको हो। यसअघि नै उनीहरुलाई अरु कारागार पठाउन खोजिएको थियो । तर, स्थानान्तरण गर्न लागिएको सूचना पाएपछि केही कैदीबन्दीले ‘बी ब्लक’ कब्जा गरेको कारागार प्रशासनले जनाएको छ। स्रोतका अनुसार ‘बी ब्लक’ कब्जा गर्ने समूहले भित्रबाट ढोकामा ताला लगाएर प्रशासनलाई प्रवेश गर्नसमेत रोक लगाएको थियो । यही विषयलाई लिएर अन्य कैदीबन्दी र ब्लक नियन्त्रणमा लिएको समूहबीच विवाद बढ्दै गएपछि शुक्रबार कुटाकुट भएको हो । कारागार स्रोतका अनुसार ‘बी ब्लक’ कब्जा गर्ने समूहमा आपराधिक पृष्ठभूमिका अभिषेक गिरीका समर्थक रहेका थिए।
गिरीको निर्देशनमा चौकीदारसहित केही कैदीबन्दीले ब्लक नियन्त्रणमा लिएको स्रोतको दाबी छ। कैदीबन्दीले पाउने सरकारी भत्ता तथा आम्दानीबापतको रकम कब्जा गरेको आरोपमा प्रहरीले गिरीमाथि अनुसन्धान गरिरहेको छ। उक्त आरोपमा पक्राउ परेका गिरी अदालतको आदेशपछि छुटिसकेका छन्। उनीमाथिको अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ। गिरी पक्षका कैदीबन्दीले आफूहरूमाथि यातना दिने, रकम असुल्ने र कारागारभित्र आतंक सिर्जना गर्ने गरेको भन्दै अन्य कैदीबन्दी लामो समयदेखि असन्तुष्ट रहेको कारागार स्रोतको भनाइ छ । शुक्रबार विवाद चर्किएपछि उनीहरूले गिरी पक्षका कैदीबन्दीलाई कुटपिट गर्दै एक–एक गरेर बाहिर निकालेको र त्यसपछि सुरक्षाकर्मीको जिम्मा लगाएको स्रोतले जनाएको छ।
झडपका क्रममा एक जना कैदीबन्दी सामान्य घाइते भएका छन् । गम्भीर चोटपटक भने कसैलाई नलागेको प्रशासनले जनाएको छ ।
बाहिर निकालिएका १९ जनामध्ये जबरजस्ती करणी मुद्दाका सात जना छन् । उनीहरूमा झापाको अर्जुनधारा नगरपालिका–४ का २४ वर्षीय चौकीदार विशाल निरौला, मोरङ ग्रामथान गाउँपालिका–४ का २८ वर्षीय प्रेम कटवाल, विराटनगर महानगरपालिका–८ का २४ वर्षीय मनिषकुमार विक, सोही ठाउँका ३३ वर्षीय मोहमद सदाम, कटहरी गाउँपालिका–३ का ३१ वर्षीय रविन कामत, ३३ वर्षीय राजेश कामत र सुनसरी हरिनगर गाउँपालिका–४ का २२ वर्षीय अजय मेहता रहेका हुन्।
त्यस्तै, लागुऔषध मुद्दामा कारागारभित्र रहेका विराटनगर–६ का ३० वर्षीय कुनाल सिंह, उर्लाबारी नगरपालिका–४ का ३० वर्षीय प्रशान्त भण्डारी, पथरीशनिश्चरे नगरपालिका–१ का २७ वर्षीय अनिल भट्टराई र झापाको दमक नगरपालिका–४ का २३ वर्षीय रामकुमार श्रेष्ठलाई बाहिर निकालिएको छ । ज्यान मार्ने उद्योग मुद्दाका धनकुटा नगरपालिका–५ का ४८ वर्षीय धर्मेन्द्र राई र मोरङ कटहरी गाउँपालिका–३ का कार्तिक कामत रहेका छन् ।
भारत पश्चिम बंगालका ३८ वर्षीय चञ्चल बर्मन र भारत उत्तर दिवाद राहगौजका २९ वर्षीय तापत पासवान मानव बेचबिखन मुद्दाका हुन् । त्यस्तै, कर्तव्य ज्यान मुद्दाका विराटनगर–६ का २६ वर्षीय अरवाज शेख र मोरङ बूढीगंगा गाउँपालिका–७ का ३९ वर्षीय रामकुमार चौधरी तथा डाँका मुद्दाका सुनसरी इटहरी उपमहानगरपालिका–१३ का ३८ वर्षीय नजामुदिन मियाँ रहेका छन्।
प्रजिअ कटेलका अनुसार कारागारभित्र लामो समयदेखि रहेको गुटबन्दी र विवादले शुक्रबार कुटाकुटको रूप लिएपछि प्रशासनले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको हो । उनका अनुसार बाहिर निकालिएका कैदीबन्दीलाई अलग–अलग कारागारमा पठाउने तयारी भइरहेको छ।
कारागार प्रशासनले १९ जना कैदीबन्दीलाई बाहिर निकालेपछि अहिले मोरङ कारागारको अवस्था सामान्य रहेको जनाएको छ। प्रशासनका अनुसार विवादमा संलग्न समूहलाई अलग गरेपछि कारागारभित्रको तनाव तत्कालका लागि मत्थर भएको छ।
कारागार स्रोतका अनुसार लामो समयदेखि भित्रभित्रै असन्तुष्टि बढ्दै आएको थियो। यातना, दबाब र रकम असुलीजस्ता गतिविधिप्रति असन्तुष्ट कैदीबन्दीले प्रतिकारको अवसर खोजिरहेको र शुक्रबारको विवाद त्यसैको परिणाम भएको स्रोतको दाबी छ । प्रशासनले भने कारागारको सुरक्षा र शान्ति कायम गर्न विवादमा संलग्न १९ जनालाई अलग गरेर अन्य कारागारमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाएको हो ।