मुख्य समाचार
परराष्ट्रमन्त्री शिशिर खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’ को संज्ञा दिँदै विपद्पछिको पुनस्र्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताए
परराष्ट्रमन्त्री शिशिर खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’ को संज्ञा दिँदै विपद्पछिको पुनस्र्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्य

: परराष्ट्रमन्त्री शिशिर खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’ को संज्ञा दिँदै विपद्पछिको पुनस्र्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन्।

काठमाडौंस्थित कूटनीतिक समुदायसँग बिहीबार मन्त्रालयमा आयोजित ब्रिफिङमा मन्त्री खनालले भोटेकोशी बाढीबाट भएको क्षति, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था र प्राप्त अन्तर्राष्ट्रिय सहयोगबारे जानकारी गराएका थिए। कार्यक्रममा विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, विश्व बैंक, एसियाली विकास बैंक र संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

मन्त्री खनालका अनुसार नेपाल–चीन सीमास्थित रसुवागढीमा भोटेकोशी नदीमा आएको बाढीले केही मिनेटमै ठूलो परिमाणमा पानी, माटो तथा गेग्रान बगाउँदा तल्लो क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो। बाढी रसुवाबाट त्रिशूली हुँदै नारायणी नदी प्रणालीसम्म पुगेको र रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनका विभिन्न क्षेत्रमा जनजीवन र भौतिक पूर्वाधार प्रभावित भएको उनले बताए। ‘यो विनाशकारी बाढीलाई म हिमालयन सुनामी भन्न रुचाउँछु, किनकि हालसालैको स्मृतिमा हामीले यस्तो अनुभव गरेका छैनौं,’ मन्त्री खनालले भने। भोटेकोशी बाढी सामान्य बाढी नभएकाले यसको कारण र विकासक्रमबारे सरकारले सम्बन्धित प्राविधिक विज्ञको सहयोगमा अध्ययन गरिरहेको जानकारी उनले दिए।




२१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

विपद्को पहिलो दिनदेखि नै खोज, उद्धार, सुरक्षित स्थानान्तरण, उपचार र राहतलाई प्राथमिकता दिइएको मन्त्री खनालले बताए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मन्त्रिपरिषद्का आकस्मिक बैठक तत्काल बोलाएर उपलब्ध राष्ट्रिय स्रोतसाधन परिचालन गरिएको उनले जानकारी दिए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहित संघ, प्रदेश तथा स्थानीय तहका निकाय, स्वास्थ्यकर्मी, आपत्कालीन उद्धारकर्मी, स्वयंसेवक तथा स्थानीय समुदाय उद्धारमा खटिएका छन्। यस कार्यका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

विदेशी नागरिकको सुरक्षामा उच्च प्राथमिकता

विदेशी नागरिकको सुरक्षा र कल्याण सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्दै मन्त्री खनालले भने, ‘मन्त्रालयमा स्थापना गरिएको आपत्कालीन नियन्त्रण कक्ष तथा विदेशस्थित नेपाली नियोगमार्फत बेपत्ता विदेशी नागरिकका परिवारलाई प्रमाणित सूचना उपलब्ध गराउने, पहिचान प्रक्रियामा सहजीकरण गर्ने तथा आवश्यक परे स्वदेश फिर्तीको व्यवस्था गर्न सहयोग भइरहेको छ।’ विवरण उपलब्ध गराएकोमा उनले कूटनीतिक नियोगहरूलाई धन्यवाद व्यक्त गरे।

२३ देश र अन्तर्राष्ट्रिय संस्थाबाट सहयोग

भारत, चीन, दक्षिण कोरिया, जापान, अमेरिका, यूएई, कतार, सिंगापुर, अस्ट्रेलिया, बेलायत, जर्मनी, लाट्भिया, मलेसिया, म्यानमार, भुटान, बंगलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानडा, श्रीलंका, थाइल्यान्ड र न्युजिल्यान्ड गरी २३ देशका साथै युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक र संयुक्त राष्ट्रसंघप्रति मन्त्री खनालले आभार व्यक्त गरे।

उद्धार विशेषज्ञता, उपकरण, लजिस्टिक, चिकित्सा, फरेन्सिक र आर्थिक सहायताका रूपमा प्राप्त सहयोगबारे उनले भने, ‘प्राप्त ऐक्यबद्धता र सहयोग विभिन्न स्वरूपमा आएको छ– उद्धार विशेषज्ञता, उपकरण, लजिस्टिक, स्वास्थ्य तथा फरेन्सिक सहयोग र आर्थिक सहायता। यी प्रत्येक सहयोगले प्रभावित क्षेत्रमा फरक पारिरहेको छ।’

पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक

बाढीबाट घर, सडक, पुल, जलविद्युत् तथा अन्य महत्वपूर्ण पूर्वाधारमा पुगेको क्षतिको प्रारम्भिक मूल्यांकन भइरहेको छ। विस्तृत मूल्यांकनपछि पुनर्निर्माणका लागि आवश्यक ठूलो परिमाणको स्रोतबारे अन्तर्राष्ट्रिय साझेदारलाई आधिकारिक माध्यमबाट आग्रह गरिने मन्त्री खनालले बताए।

अन्तर्राष्ट्रिय सहयोगलाई पारदर्शिता, जवाफदेहिता र स्पष्ट लक्षित क्षेत्रका आधारमा व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दै मौद्रिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत परिचालन भइरहेको उनले जानकारी दिए। साथै, विपद्का नाममा हुन सक्ने ठगीबाट सचेत रहन आग्रह गरे।

जलवायु जोखिम र अन्तर्राष्ट्रिय आह्वान

भोटेकोशी विपद्लाई हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिमसँग जोड्दै उनले भने, ‘नेपालले विश्वव्यापी उत्सर्जनमा नगण्य योगदान गरेको भए पनि तातिँदो हिमालयका असरको असमान र ठूलो भार नेपाली जनताले बेहोर्नु परिरहेको छ।’ नेपालले लस एन्ड ड्यामेज फन्डका बोर्डका सहअध्यक्षहरूलाई तत्काल सहयोगका लागि पत्र पठाइसकेको जानकारीसमेत उनले दिए।

‘नेपाल खुला छ’

बाढीको प्रभाव निश्चित भौगोलिक क्षेत्रमा सीमित रहेको र बाँकी क्षेत्र सुरक्षित रहेको स्पष्ट पार्दै मन्त्री खनालले भने, ‘काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, जनकपुर, अन्नपूर्ण क्षेत्र, सगरमाथा क्षेत्र र बर्दियालगायत प्रमुख पर्यटकीय गन्तव्य पर्यटक स्वागतका लागि खुला छन्। नेपाल खुला छ र हाम्रो देशले चिनिएको त्यही न्यानोपन र आतिथ्यताका साथ यहाँहरूलाई स्वागत गर्न तयार छौं।’ब्रिफिङको अन्त्यमा मन्त्री खनालले अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गर्दै भने, ‘हामी सँगै अझ बलियो भएर उठ्नेछौं।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कपिलवस्तुको शिवराज नगरपालिका–२ बालापुर मिलनचोकमा भएको सवारी दुर्घटनामा ३ वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार बिहान भित्री सडकखण्डमा बाटो काट्ने क्रममा स्थानीय तिर्सना सेन ठकुरीका ३ वर्षीय छोरा शिवम सेन ठकुरीलाई लु. प्र.०१–००१ ह १३७८ नम्बरको अटोले ठक्कर दिएको थियो। दुर्घटनामा टाउको र अनुहारमा चोट लागेका शिवमलाई तत्काल चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल लगिएको थियो। त्यहाँ ...
: रसुवाको भोटेकोशीमा आएको बिनासकारी बाढीपछि खोज, उद्धार र राहतको कार्य तीव्र रुपमा भइरहेको छ। त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले हेलिकप्टर मार्फत खोज, राहत तथा उद्धारको कार्य गरिरहेको हो। नेपाली सेनाका महासेनानी झविन्द्रबहादुर रेश्मीले बाढी आएको १० औं दिनसम्म ३,२०० भन्दा बढी नेपाली नागरिक तथा २७० भन्दा ...
: रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका २० वटा झोलुङ्गे पुलको पुनःनिर्माण कार्य सुरू भएको छ। मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्‍याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्यांकन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। यी पुल मर्मतका लागि ...
: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि,पूर्वाधार मन्त्रालयका प्रतिनिधि,भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक,सम्बन्धित जिल्लाका सहायक ...
: विराटनगरमा घरको ट्रष्ट निर्माणको काम गर्ने क्रममा एक तलामाथिबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१२ दरैयाका ३६ वर्षीय गौरव राजवंशी रहेका छन्। उनको शुक्रबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विराटनगर महानगरपालिका–३ स्थित वन कार्यालय नजिक बिजुकुमार थापाको घरमा ट्रष्ट निर्माणको काम भइरहेको थियो । सोही क्रममा ...