मुख्य समाचार
गोसाइँकुण्ड यात्रामा निस्किएका भोटेकोशी बाढीमा हराए
गोसाइँकुण्ड यात्रामा निस्किएका भोटेकोशी बाढीमा हराए

गोसाइँकुण्ड दर्शनका लागि घरबाट निस्कँदा उनीहरूमा धार्मिक यात्राको उत्साह थियो। परिवारसँगै तीर्थयात्रामा निस्किएका उनीहरू सकुशल फर्किने आशामा थिए। तर, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले त्यो यात्रा परिवारका लागि कहिल्यै नमेटिने पीडामा बदलिदिएको छ।

धादिङमा बाढी–पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पु र्‍याएको छ। बाढी–पहिरोमा परेर जिल्लाका १ सय ४७ जना मानिस हराइरहेका छन् भने ४ सय ३० घरपरिवार विस्थापित भएका छन्। त्यस्तै, निजी आवासतर्फ ७८ वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। बाढी–पहिरोले सडक, पुल, बस्ती र निजी आवासमा क्षति पु र्‍याउनुका साथै थुप्रै परिवारलाई आफन्तविहीन बनाएको छ। हराइरहेका १ सय ४७ जनाको अवस्था अझै स्पष्ट हुन सकेको छैन। आफन्तको खोजीमा रहेका परिवारहरू शोकसँगै लामो प्रतीक्षामा छन्। यही क्रममा रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर गोसाइँकुण्ड यात्रामा निस्किएका धादिङका नागरिकसमेत बेपत्ता भएका हुन्।

एउटै बसमा सवार २६ जना, धेरै परिवारमा कहर

भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएको बसमा २६ जना यात्रु सवार थिए। गोसाइँकुण्ड जाने क्रममा निस्किएको उक्त बसमा धादिङको नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाका नागरिकसमेत थिए।
उक्त घटनामा धादिङका १३ जनाको शव पहिचान भएको परिवारजनले बताएका छन्। पहिचान भएकामध्ये नीलकण्ठ नगरपालिका–१२ का बस चालक छविलाल श्रेष्ठ, दयाराम लम्साल, सीता लम्साल, प्रकाश लम्साल, इन्दिरा लम्साल, रामचन्द्र खनाल र नीलकण्ठ–९ की गायत्री लम्साल छन्।

यस्तै, नीलकण्ठ नगरपालिका–८ का हरिप्रसाद सिलवाल र विन्दा सिलवाल, सिद्धलेक गाउँपालिका–१ की कल्पना भट्ट तथा नीलकण्ठ–३ का तुल्सीप्रसाद तिमल्सिना र ईश्वरी तिमल्सिनाको समेत शव पहिचान भएको नीलकण्ठ नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर–८ का अध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताए।

गायत्री लम्सालको शव पहिचान भएपछि सोमबार धादिङबेसीस्थित आँसीखोला दोभानमा अन्तिम दाहसंस्कार गरिएको थियो। उनीसँगै तीर्थयात्रामा रहेका उनका श्रीमान् शिवहरि लम्सालको भने शव भेटिएको थिएन। त्यसपछि परिवारले शिवहरिको कुशको प्रतिमा बनाएर परम्पराअनुसार आँसीखोला दोभानमा अन्तिम संस्कार गरेको थियो।

तर, बुधबार नुवाकोटमा शिवहरि लम्सालको शव भेटिएपछि परिवारले पुनः उनको शवको अन्तिम दाहसंस्कार गरेको छ। लम्साल परिवारका लागि पीडा यतिमै रोकिएन। परिवारका अनुसार बाढीमा हराएका १४ जना आफन्तमध्ये पाँच जनाको मात्र शव फेला परेपछि बाँकी ९ जनाको कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गरिएको छ।

आफ्नो प्रियजनको वास्तविक अनुहार हेरेर अन्तिम बिदाइ गर्न नपाएका परिवारका सदस्यहरूले कुशको प्रतिमामै आफन्तको अनुहार खोजे। शव नभेटिए पनि परम्परागत संस्कार रोकिएन। जसलाई काँधमा बोकेर अन्तिम यात्रामा लैजानुपर्ने थियो, उनको शवसमेत नपाउँदा प्रतिमालाई नै अन्तिम संस्कारको आधार बनाउनुपर्ने बाध्यता परिवारमा आयो।

बाढीपछि सम्पर्कविहीन रहेका सिद्धलेक गाउँपालिकाका हरिप्रसाद सिलवाल, विन्दादेवी सिलवाल, घनश्याम भट्ट र कल्पना भट्टको शव काठमाडौंस्थित शिक्षण अस्पतालबाट पहिचान भएको परिवारजनले बताएका छन्। पारिवारिक स्रोतका अनुसार उनीहरूको अन्तिम संस्कारसमेत गरिसकिएको छ। नीलकण्ठ नगरपालिकाका प्रवक्ता प्रकाशकुमार श्रेष्ठले बाढीले सदरमुकाम जोड्ने पुलसमेत बगाउँदा नगरपालिका गम्भीर पीडामा परेको बताए। ‘हाम्रो सदरमुकाम जोड्ने पुल बाढीले बगायो। हामी निकै पीडामा छौं। हामीले आफ्ना पालिकाका नागरिक गुमायौं,’ उनले भने, ‘सरकार र स्थानीय सरकारबीच समयमै समन्वय हुन नसक्दा केही कमजोरी भएको महसुस भइरहेको छ। यो सामान्य अवस्थाको बाढी होइन। सरकारले नागरिकको उद्धारलाई द्रुत गतिमा अघि बढाउन आवश्यक छ।’

उनले विपत्तिको समयमा सबै पक्ष मिलेर पीडित परिवारलाई सहयोग गर्नुपर्ने बताए। धादिङका पीडित परिवारका सदस्यहरू काठमाडौंस्थित शिक्षण अस्पतालमा आफन्तको शव पहिचान र खोजीका लागि पुगिरहेका छन्। कोही शव पहिचान हुने आशामा छन् भने कोही आफ्ना आफन्त जीवितै भेटिने आशा अझै छाड्न सकेका छैनन्।

अस्पताल परिसरमा परिवारजनको भीड छ। आँखामा आँसु छ, अनुहारमा थकान छ र मनमा एउटै प्रश्न छ आफ्नो मान्छेको अवस्था के भयो? कसैका लागि आफन्तको शव भेटिनु अन्तिम सत्य स्वीकार गर्ने बाध्यता बनेको छ। कसैका लागि भने शवको प्रतीक्षा अझै अनिश्चित छ।

‘आफ्नो मान्छे कहाँ छ भन्ने थाहा नहुनुभन्दा ठूलो पीडा अरू के होला ? ’ अस्पताल परिसरमा रहेका परिवारजनको पीडा यही प्रश्नमा झल्किन्छ।

गोसाइँकुण्ड जाने यात्रा धादिङका धेरै परिवारका लागि धार्मिक आस्था र पारिवारिक खुसीको अवसर थियो। घरबाट निस्कँदा आफन्तले दिएको बिदाइ नै अन्तिम बिदाइ बन्न पुग्यो। फोन आउला, यात्रुहरू सकुशल फर्केलान् भन्ने आशामा बसेका परिवारले अन्ततः अस्पतालमा पुगेर शव पहिचान गर्नुपर्ने अवस्था आयो। तर, सबै परिवारले त्यो अन्तिम सत्यसमेत पाएका छैनन्। कतिपय अझै आफन्तको अवस्थाबारे स्पष्ट खबरको प्रतीक्षामा छन्।

भोटेकोसीको बाढीले सडक, पुल र बस्ती मात्र बगाएन धादिङका थुप्रै परिवारको आशा, खुसी र भविष्यसमेत बगाएको छ। गोसाइँकुण्ड दर्शनका लागि घरबाट निस्किएका उनीहरूमध्ये केहीको यात्रा अब कहिल्यै घर फर्किने छैन। तर बाँकी परिवारका लागि प्रतीक्षा अझै सकिएको छैन। कसैको घरमा शोकको धुवाँ उठिसकेको छ, कसैको घरमा अझै आशाको दियो बलिरहेको छ। र लम्साल परिवारका लागि आफ्ना मान्छेको अनुहार अब कुशको प्रतिमामा खोज्नुपर्ने बाध्यता बनेको छ।

पृथ्वी राजमार्ग सुचारु गर्न पुनःनिर्माण सुरु

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित जोखिमयुक्त कृष्णभिरमा पृथ्वी राजमार्ग सुचारु गर्न सडक मर्मत तथा पुनःनिर्माणको काम सुरु भएको छ। हाल सडक क्षेत्रमा सरसफाइको काम भइरहेको छ। सडकमा रहेका दुई तहका ग्याबिन हटाएपछि सडक खन्ने तथा पुनःनिर्माणको काम अघि बढाइने तयारी छ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालका अनुसार पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रूख कटानको काम भइरहेको छ। पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। रुख कटानको काम सम्पन्न हुनासाथ उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने उनले बताए।

बाढी तथा त्रिशूली नदीको कटानका कारण सडकको ठूलो भाग भासिएपछि कृष्णभिरमा यातायात अवरुद्ध भएको हो। सडक सञ्चालनमा ल्याउन मर्मत तथा पुनःनिर्माणको काम अघि बढाइएको हो। नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्डकी आयोजना प्रमुख सजना अधिकारीका अनुसार प्रारम्भिक सरसफाइको काम सकेर दुई तहका ग्याबिन हटाएपछि सडक खन्ने काम सुरु गरिनेछ। सडक पूर्णरूपमा सञ्चालनमा आउन भने केही दिन लाग्ने अनुमान गरिएको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रसुवाको भोटेकोशीमा आएको बिनासकारी बाढीपछि खोज, उद्धार र राहतको कार्य तीव्र रुपमा भइरहेको छ। त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले हेलिकप्टर मार्फत खोज, राहत तथा उद्धारको कार्य गरिरहेको हो। नेपाली सेनाका महासेनानी झविन्द्रबहादुर रेश्मीले बाढी आएको १० औं दिनसम्म ३,२०० भन्दा बढी नेपाली नागरिक तथा २७० भन्दा ...
: रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका २० वटा झोलुङ्गे पुलको पुनःनिर्माण कार्य सुरू भएको छ। मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्‍याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्यांकन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। यी पुल मर्मतका लागि ...
: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि,पूर्वाधार मन्त्रालयका प्रतिनिधि,भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक,सम्बन्धित जिल्लाका सहायक ...
: विराटनगरमा घरको ट्रष्ट निर्माणको काम गर्ने क्रममा एक तलामाथिबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१२ दरैयाका ३६ वर्षीय गौरव राजवंशी रहेका छन्। उनको शुक्रबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विराटनगर महानगरपालिका–३ स्थित वन कार्यालय नजिक बिजुकुमार थापाको घरमा ट्रष्ट निर्माणको काम भइरहेको थियो । सोही क्रममा ...
: गजुरी गाउँपालिका–१ गजुरी बजारस्थित जिल्लाकै पुरानो आदर्श माध्यमिक विद्यालयका बाढीपीडित विद्यार्थीलाई शैक्षिक तथा आवश्यक सामग्री वितरण गरिएको छ। गत भदौ १० र १४ गते आएको विनाशकारी बाढीबाट प्रभावित बाल बिकासका बिद्यार्थी देखि कक्षा १२ सम्मका ८६ जना विद्यार्थीलाई स्टेशनरी सामग्री, विद्यालय झोला, डायपर, सेनिटरी प्याडलगायतका सामग्री वितरण गरिएको हो। ‘छोरी’ नामक संस्थाको सहयोगमा आयोजित कार्यक्रममा गजुरी ...