मुख्य समाचार
विराटनगरमा आज ५९ औँ राधाकृष्ण रथयात्रा हुँदै
विराटनगरमा आज ५९ औँ राधाकृष्ण रथयात्रा हुँदै

: विराटनगरमा आज ५९ औँ राधाकृष्ण रथयात्रा हुँदैछ । धार्मिक उत्सवका रूपमा विशेष महत्व राख्ने रथयात्रामा नेपालका विभिन्न स्थानसँगै भारतका सीमावर्ती क्षेत्रबाट समेत गरी करिब पाँच लाख भक्तजन सहभागी हुने आयोजकको अपेक्षा छ ।

राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे रथयात्रा सुरु हुनेछ । भक्तजनको ठूलो सहभागितालाई ध्यानमा राख्दै आयोजकले व्यवस्थापनदेखि सुरक्षासम्मका तयारी पूरा गरिएको जनाएको छ । यसपटकको रथयात्राको मुख्य विशेषता डीजे साउन्डको प्रयोग नहुनु हो । धार्मिक कार्यक्रमको मौलिकता र आध्यात्मिक वातावरणलाई प्राथमिकता दिँदै आयोजकले डीजेको विकल्पमा भजन–कीर्तन, धार्मिक झाँकी र परम्परागत प्रस्तुतिलाई अघि सारेको छ ।

रथमा जडान गरिएका दुईवटा हर्न माइकमार्फत भगवानका भजन बजाइनेछन् भने रथयात्राको मार्गमा विभिन्न भजन मण्डलीले प्रत्यक्ष भजन–कीर्तन प्रस्तुत गर्नेछन् । पछिल्लो समय धार्मिक तथा सांस्कृतिक कार्यक्रममा चर्को डीजे साउन्डको प्रयोग बढ्दै गएपछि यसपटक परम्परागत शैलीलाई निरन्तरता दिन खोजिएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले बताए ।

विराटनगरको राधाकृष्ण रथयात्राको इतिहास झण्डै एक शताब्दी पुरानो छ । विसं १९८८ मा राधाकृष्ण मन्दिर स्थापना भएपछि खट यात्राबाट सुरु भएको परम्परा विसं २०२५ देखि भव्य रथयात्राका रूपमा विस्तार भएको हो । खट यात्रालाई समेत गणना गर्दा यस वर्ष ९५औँ यात्रा हुँदैछ भने रथयात्राको भने ५९औँ संस्करण हो ।null

रथयात्रा राधाकृष्ण मन्दिरबाट सुरु भएर तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक र महेन्द्र चोक हुँदै कोशी राजमार्गतर्फ अघि बढ्नेछ । बरगाछी र दुर्गा चोक हुँदै पुनः राधाकृष्ण मन्दिरमा पुगेर यात्रा समापन हुनेछ । करिब आठ किलोमिटरको दूरीमा सञ्चालन हुने रथयात्राका क्रममा ४४ स्थानमा विश्रामको व्यवस्था गरिएको छ ।

यसपटक धार्मिक आस्थासँगै मानवीय सेवाको उद्देश्यलाई पनि रथयात्रासँग जोडिएको छ । रथयात्राका क्रममा भेटीका रूपमा संकलन हुने रकम भोटेकोशी बाढीपीडितको राहतमा खर्च गरिने आयोजकले जनाएको छ । नगर परिक्रमा गराइने तीनवटा दानपेटिकाबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेर बाढीपीडितलाई सहयोग गर्ने तयारी छ ।

रथयात्रामा सहभागी हुने भक्तजनको सुरक्षा तथा भिड व्यवस्थापनलाई प्रहरीले प्राथमिकतामा राखेको छ । बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भिडको निगरानी र सम्भावित गतिविधिको अनुगमनका लागि ड्रोनसमेत प्रयोग गरिने मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । रथयात्राका क्रममा उच्छृंखल गतिविधि गर्ने तथा आपराधिक क्रियाकलापमा संलग्न हुनेलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

रथयात्रालाई व्यवस्थित बनाउन १ हजार १ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । स्वास्थ्य, खानेपानी, सरसफाइ, विद्युत्, स्वयंसेवक परिचालन, झाँकी, सञ्चार तथा प्रचारप्रसारलगायतका काम हेर्न २१ वटा उपसमिति परिचालन गरिएको आयोजकले जनाएको छ । भक्तजनको ठूलो सहभागिता रहने अपेक्षा गरिएको रथयात्रालाई सुरक्षित, व्यवस्थित र धार्मिक वातावरणमा सम्पन्न गर्न आयोजक तथा सुरक्षा निकायले आवश्यक तयारी पूरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गोसाइँकुण्ड दर्शनका लागि घरबाट निस्कँदा उनीहरूमा धार्मिक यात्राको उत्साह थियो। परिवारसँगै तीर्थयात्रामा निस्किएका उनीहरू सकुशल फर्किने आशामा थिए। तर, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले त्यो यात्रा परिवारका लागि कहिल्यै नमेटिने पीडामा बदलिदिएको छ। धादिङमा बाढी–पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पु र्‍याएको छ। बाढी–पहिरोमा परेर जिल्लाका १ सय ४७ जना मानिस हराइरहेका छन् भने ४ सय ...
: पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित परेवाभिरमा सडक मर्मतका लागि १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। भोटेकोशीमा आएको बाढीका कारण परेवाभिरस्थित पृथ्वी राजमार्गमा क्षति पुगेपछि हाल उक्त सडक एकतर्फी रूपमा सञ्चालन हुँदै आएको छ। क्षतिग्रस्त सडकको आवश्यक मर्मत तथा सुधार गर्न सवारी आवागमन बन्द गर्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय ...
: पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले शुक्रवार नुवाकोट पुगेर बाढी प्रभावित विभिन्न क्षेत्रहरुको स्थललगत निरीक्षण गरेका छन्। उनले बाढी प्रभावित क्षेत्र र पीडितलाई राखिएको स्थानमा पुगेर उनीहरुका गुनासा सुनेका छन्। बिदुर र पिपलटारस्थित बाढी प्रभावितलाई राखिएको ठाउँको निरीक्षण गर्दै ओलीले बाढीबाट भएको क्षति, खोज तथा उद्धारको अवस्था, होल्डिङ सेन्टर निर्माण, राहत वितरण तथा ...
: नेपाली सेनाले भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारको कामलाई तीव्र पारेको छ। सेनाका अनुसार हालसम्म खोज तथा उद्धारका क्रममा ३ हजार २ सयभन्दा बढी नेपालीको उद्धार गरिएको छ। त्यस्तै,२७० जना विदेशी नागरिकको समेत उद्धार गरिएको सेनाले जनाएको छ। बाढीपछि प्रभावित सातवटै सुरुङमा खोज तथा उद्धारको काम जारी रहेको सेनाले जनाएको छ। सेनाका अनुसार शुक्रबार ...
: नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिएर महिलासंग रकम असुल्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भएर काठमाडौंको किर्तिपुर बस्दै आएका २३ वर्षीय कमल बहादुर बुढा रहेका छन्। प्रहरीका अनुसार बुढाले सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क गरी आफू ‘ह्याकर’ भएको र महिलाका नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको ...