। विनाशकारी बाढीपछिका दिन घर्किँदै जाँदा सम्पर्कविहीनका परिवारमा निराशा बढ्दैगएको छ ।
यता मधेश प्रदेशका जिल्लाहरूमा आफ्ना आफन्त सम्पर्कविहीन भएको भन्दै आउने क्रम पनि थपिँदै छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको विवरण अनुसार बिहान १० बजेसम्म रसुवाको बाढीमा सम्पर्कविहीन भएका भन्दै रिपोर्ट गरिएकाको संख्या २२० पुगेको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार दुई दिन अघिसम्म सम्पर्कविहीन भन्दै रिपोर्ट गरिएकाको संख्या १९५ जना मात्र थियो ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालका अनुसार सम्पर्कविहीन भन्दै रिपोर्ट गरिएकामध्ये हालसम्म ३८ जना सम्पर्कमा आएका छन् ।
अन्य दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । सप्तरी र बाराका एक एकजनाको मृत्यु भएको एसएसपी ढकालले बताए । अझै पनि बाढीपछि १८० जना सम्पर्कविहीन रहेका छन् ।
जिल्लागत विवरणअनुसार सबैभन्दा बढी सप्तरीका ५२ जना सम्पर्कविहीन छन् । त्यसमध्ये ३ जना सम्पर्कमा आएका छन् भने १ जनाको मृत्यु भएको छ । ४८ जना अझै सम्पर्कविहीन छन् ।
पर्सामा ४६ जनामध्ये ३ जना सम्पर्कमा आएका छन्, भने ४३ जना सम्पर्कविहीन छन् ।
बारामा ३० जनामध्ये ४ जना सम्पर्कमा आएका, १ जनाको मृत्यु भएको र २५ जना सम्पर्कविहीन छन् ।
यस्तै, रौतहटका २० जनामध्ये ६ जना सम्पर्कमा आएका र १४ जना सम्पर्कविहीन छन् । सर्लाहीका २७ जनामध्ये ६ जना सम्पर्कमा आएका छन् भने २१ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
महोत्तरीका १७ जनामध्ये ७ जना सम्पर्कमा आएका र १० जना सम्पर्कविहीन छन् ।
धनुषाका १४ जनामध्ये ७ जना सम्पर्कमा आएका र ७ जना सम्पर्कविहीन रहेको एसएसपी ढकालले बताए । सिरहाका १४ जनामध्ये २ जना सम्पर्कमा आएका छन् भने १२ जना अझै सम्पर्कविहीन छन् ।
उक्त विवरण परिवार तथा आफन्तजनले दिएको निवेदन तथा फोन मार्फत जानकारीको आधारमा प्रहरीले तयार गरेको छ ।