— युरोपेली संघ (ईयू) ले अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि थप ८ करोड ९० लाख रुपैयाँ बराबरको मानवीय सहायता घोषणा गरेको छ । यससँगै विपद्का लागि ईयूको कुल आपतकालीन सहायता ४४ करोड ५० लाख रुपैयाँभन्दा भएको छ ।
नयाँ सहयोग इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटीज (आईएफआरसी) को विपद् प्रतिकार्य आपत्कालीन कोष (डीआरईएफ) अन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि उपलब्ध गराइनेछ । नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा सञ्चालन हुने उक्त कार्यक्रममार्फत बागमती प्रदेशका करिब ४ हजार घरधुरीका २० हजारसम्म मानिसलाई सहयोग गर्ने लक्ष्य राखिएको छ । कार्यक्रमअन्तर्गत आपत्कालीन तथा संक्रमणकालीन आवास, नगद सहायता, खानेपानी तथा सरसफाइ, स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, संरक्षण तथा अन्य अत्यावश्यक सहायता उपलब्ध गराइनेछ ।
विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै घर, पूर्वाधार र अत्यावश्यक सेवामा व्यापक क्षति पुगेपछि नेपाल अझै उद्धार, राहत तथा पुनर्स्थापनाको काममा जुटिरहेको छ । बाढी आएयता ईयूको कोपर्निकस भू-उपग्रह सेवाले विपद् प्रतिकार्यका लागि आवश्यक नक्सा उपलब्ध गराउँदै आएको छ ।