अस्ट्रेलिया —
अस्ट्रेलियाले भोटेकोशी बाढीमा हराइरहेकाको खोजी तथा उद्धारका लागि थप १५ जनाको ड्रोन विशेषज्ञ टोली पठाउने भएको छ । अस्ट्रेलियाकी विदेशमन्त्री पेनी योङले आज पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएकी हुन्।
अस्ट्रेलियाले नेपालमा गएको बाढीपीडितको सहयोग तथा उद्धारका लागि यसअघि नै पाँच मिलियन डलर दिने घोषणा गरिसकेको छ भने थप ३ मिलियन डलर सहयोग दिने घोषणा समेत गरेको छ। राहत सामग्री लिएर अस्ट्रेलियाको सेनाको विमान बुधबार नेपाल पुगिसकेको छ।
अस्ट्रेलियाबाट जाने ड्रोन विशेषज्ञको टोलीमा न्यु साउथ वेल्स राज्यको फायर तथा इमर्जेन्सी सर्भिस र क्विन्सल्यान्ड राज्यको फायर सर्भिसका अधिकारीहरू रहनेछन्।
अस्ट्रेलियाकी विदेशमन्त्री योङले अस्ट्रेलिया नेपालको राहत, उद्धार तथा पुनर्निर्माणका लागि हरेक किसिमको सहयोग गर्न तयार रहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिइन्। टोलीले उद्धार तथा खोजीका लागि अत्याधुनिक प्रविधिसहितको ड्रोनको प्रयोगमार्फत म्यापिङ र थर्मल म्यापिङ गर्ने कार्य गर्नेछ।
विदेशमन्त्री योङले आफूले नेपालका परराष्ट्र मन्त्रीसँग यसअघि नै सहयोगका लागि तयार रहेको जानकारी दिइसकेको बताइन्।
अबको केही दिनमा नै नेपाल पुग्ने ड्रोन विशेषज्ञको टोलीसहित अस्ट्रेलियाबाट नेपालको उद्धार तथा खोजी कार्यका लागि जाने विशेषज्ञको टोलीको संख्या ३४ पुग्नेछ। ड्रोन विशेषज्ञको टोली चाँडै नेपाल जाने जानकारी दिइएको छ। भोटेकोशी बाढीबाट अहिलेसम्म ३८ अस्ट्रेलियाली नागरिक सम्पर्कविहीन छन्।