: नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बाढी प्रभावित क्षेत्र रसुवा पुगेका छन्।
राजदूत श्रीवास्तवले स्याफ्रुबेसीस्थित चिलिमे क्षेत्रमा उद्धारका लागि खटिएको भारतीय प्राविधिक टोलीसँग भेट गरेका हुन्। उक्त टोली नेपाली सेनासँगको सहकार्यमा चिलिमे पावरहाउसको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि उत्खनन गरिरहेको छ।
भारतीय प्राविधिक टोलीले विशेष उपकरणको प्रयोग गरी सुरुङभित्र करिब १०० मिटर प्रवेश गरेर अवस्था निरीक्षण गरिसकेको राजदूत श्रीवास्तवको भनाइ छ। अब थप गहिराइसम्म पुग्न भारी उपकरण प्रयोग गर्ने तयारी टोलीले गरेको छ।
राजदूत श्रीवास्तवले सुरुङभित्रको जमिन दलदलजस्तो रहेको र भू-भाग निकै चुनौतीपूर्ण रहेको प्रत्यक्ष अवलोकन गरेका छन्। कठिन परिस्थितिका बाबजुद भारतीय र नेपाली टोली निरन्तर उद्धार कार्यमा जुटिरहेको उनले बताएका छन्।