: भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित धादिङको गजुरी गाउँपालिकाको १ र २ का विस्थापित स्थानीयका लागि होल्डिङ सेन्टर निर्माण गरिएको छ। गजुरी गाउँपालिका-१ को गलौदी, तथा वडा नम्बर २ को बिहानी बजार,फुर्केखोला क्षेत्रमा बाढीका कारण विस्थापित भएका स्थानीयलाई अस्थायी रूपमा राख्न नेपाली सेनाले ३६ वटा टेन्ट निर्माण गरेको हो।
भैरव गणका सेनानी जितबहादुर कार्कीको नेतृत्वमा खटिएको ४० जनाको सैनिक टोलीले होल्डिङ सेन्टरका लागि टेन्ट निर्माण गरी बाढी प्रभावित स्थानीयलाई सहयोग गरेको हो। बाढीका कारण घर तथा बस्ती जोखिममा परेपछि विस्थापित भएका स्थानीयलाई तत्काल सुरक्षित स्थानमा राख्न अस्थायी आश्रयस्थल निर्माण गरिएको हो।
बाढीपछि गजुरीका नदी किनारका बस्तीमा जोखिम बढेकाले स्थानीय तह,सुरक्षा निकाय तथा विभिन्न निकायले उद्धार,राहत र अस्थायी बसोबासको व्यवस्थापनलाई प्राथमिकता दिएका छन्।