: औद्योगिक घराना चाचान ग्रुपका अध्यक्ष रहेका वीरगन्जका वरिष्ठ उद्योगपति तथा समाजसेवी बाबुलाल चाचानले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार रुपैयाँ प्रदान गरेका छन्।
चाचान ग्रुपअन्तर्गतका विभिन्न उद्योग तथा प्रतिष्ठानको तर्फबाट ५१ लाख रुपैयाँ तथा मारवाडी सेवा ट्रस्ट वीरगन्जको तर्फबाट १ लाख ११ हजार गरी कुल ५२ लाख ११ हजार रुपैयाँ चाचानले बुधबार कोषमा जम्मा गरेका हुन्।
चाचान ग्रुपको नारायणी आयल रिफाइनरीबाट ४१ लाख रुपैयाँ, नारायणी मोर्डन प्लस इन्डस्ट्रिजबाट ५ लाख रुपैयाँ र आदर्श पोली प्लास्टिक प्रालिको तर्फबाट ५ लाख रुपैयाँ र मारवाडी सेवा ट्रष्टका तर्फबाट १ लाख ११ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको चाचान ग्रुपले जनाएको छ।
उक्त रकम चाचानले एभरेस्ट बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरेका हुन् । चाचान समूहका अध्यक्ष बाबुलाल चाचानले विपद् र संकटको समयमा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नु आवश्यक रहेको बताए। उनले भने, “यस्तो दैवी प्रकोप र विपद्को समयमा हामी सबै नेपाली एकजुट भएर एक–अर्कालाई सहयोग गर्नुपर्छ। पीडित नागरिकको दुःखमा साथ दिनु हाम्रो सामाजिक दायित्व पनि हो।”