मुख्य समाचार
नाका काँकडभिट्टामा हुने आपराधिक तथा तस्करी गतिविधि रोकथाम र नियन्त्रणका लागि सशस्त्र प्रहरीले बुधबारदेखि ‘गोप्रो क्यामेरा’ प्रयोगमा
नाका काँकडभिट्टामा हुने आपराधिक तथा तस्करी गतिविधि रोकथाम र नियन्त्रणका लागि सशस्त्र प्रहरीले बुधबारदेखि ‘गोप्रो क्यामेरा’ प्रयोगमा

: झापाको पूर्वी सीमा नाका काँकडभिट्टामा हुने आपराधिक तथा तस्करी गतिविधि रोकथाम र नियन्त्रणका लागि सशस्त्र प्रहरीले बुधबारदेखि ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ ।

सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीको निगरानीलाई थप प्रभावकारी बनाउँदै घटनाको प्रमाण सुरक्षित राख्न सशस्त्र प्रहरीले पहिलोपटक काँकडभिट्टा नाकामा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको हो । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीले गोप्रो क्यामेरा प्रयोगमा ल्याएको सम्भवतः नेपालमै यो पहिलो अभ्यास भएको बताइएको छ ।
सशस्त्र प्रहरी बल, नेपालले केही समयअघि काँकडभिट्टा नाकामा परिचालन गरेको ‘बोर्डर इन्टरएक्सन टिम’ ९बीआईटी० मार्फत दुई वटा गोप्रो क्यामेरा प्रयोगमा ल्याइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० सचिन कर्माचार्यले जानकारी दिए ।

उनका अनुसार बीआईटीमा परिचालित सुरक्षाकर्मीले बुधबारदेखि सीमा निगरानीका क्रममा गोप्रो क्यामेरा प्रयोग गरिरहेका छन् । क्यामेराको प्रयोगले सीमा क्षेत्रमा हुने शंकास्पद गतिविधिको सूचना सङ्कलन, निगरानी तथा घटनाको प्रमाण सुरक्षित राख्न सहयोग पुग्ने एसपी कर्माचार्यले बताए ।
‘विशेषगरी सीमा क्षेत्रमा हुने तस्करी, अवैध ओसारपसार तथा अन्य आपराधिक गतिविधिको निगरानीमा प्रविधिको प्रयोगले सुरक्षाकर्मीलाई थप सहज बनाउने अपेक्षा गरिएको छ,’ उनले भने ।
तस्करी नियन्त्रणमा प्रविधिको प्रयोग

नेपाल–भारतको महत्वपूर्ण व्यापारिक तथा आवतजावतको नाका काँकडभिट्टामा दैनिक ठूलो संख्यामा मानिस तथा सवारीसाधनको आवतजावत हुने गर्छ । खुला सीमाका कारण सुरक्षाकर्मीका लागि सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण चुनौतीपूर्ण रहँदै आएको छ । यस्तो अवस्थामा सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीसँगै प्रविधिको प्रयोगलाई प्राथमिकता दिन थालिएको हो ।
गोप्रो क्यामेरा सुरक्षाकर्मीले शरीरमा जडान गरेर प्रयोग गर्न सक्ने भएकाले निगरानीका क्रममा देखिएका गतिविधिलाई भिडियोका रूपमा सुरक्षित राख्न सकिन्छ । यसबाट शंकास्पद गतिविधिको पहिचान, घटनाको तथ्यगत अभिलेख राख्न तथा आवश्यक परेको अवस्थामा प्रमाणका रूपमा प्रयोग गर्नसमेत सहज हुने सशस्त्र प्रहरीको विश्वास छ ।

स्थानीयको सहयोगले थप सहज

भर्खर झापा जिल्लाका कमान्ड सम्हालेका सशस्त्रका एसपी सचिन कर्माचार्यले सीमा सुरक्षा तथा तस्करी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर विभिन्न गतिविधिलाई तीव्र बनाएका छन् । सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायको सक्रियतासँगै स्थानीय बासिन्दाबाट समेत सहयोग प्राप्त भइरहेको बताइएको छ । स्थानीयस्तरबाट प्राप्त सूचना र सुरक्षाकर्मीको निगरानीलाई समन्वय गरेर सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने प्रयास भइरहेको एसपी कर्माचार्यको भनाई छ । पछिल्लो समय काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीले विभिन्न प्रकारका अवैध सामान बरामद गर्दै आएको छ । विशेषगरी भन्सार छलेर नेपाल भित्र्याउन खोजिएका कपडा, मोबाइल तथा मोबाइलका पार्टपुर्जा, खाद्यान्नलगायतका सामान नियन्त्रणमा लिने गरिएको छ । सशस्त्रले सीमा सुरक्षामा जनशक्तिसँगै आधुनिक प्रविधिको प्रयोग बढाउँदै लैजाने हो भने तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणमा थप प्रभावकारी परिणाम हासिल गर्न सकिने सुरक्षा अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भूमि समस्या समाधान समितिले काठमाडौं महानगरपालिकाभित्र रहेका सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ। समितिले बिहीबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौं जिल्लाको काठमाडौँ महानगरपालिकाभित्र बसोबास गरिरहेका लक्षित वर्गलाई ३५ दिनभित्र निवेदन दिन आह्वान गरेको हो। सूचनामा भनिएको छ, ‘भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको ...
: भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित धादिङको गजुरी गाउँपालिकाको १ र २ का विस्थापित स्थानीयका लागि होल्डिङ सेन्टर निर्माण गरिएको छ। गजुरी गाउँपालिका-१ को गलौदी, तथा वडा नम्बर २ को बिहानी बजार,फुर्केखोला क्षेत्रमा बाढीका कारण विस्थापित भएका स्थानीयलाई अस्थायी रूपमा राख्न नेपाली सेनाले ३६ वटा टेन्ट निर्माण गरेको हो। भैरव गणका सेनानी जितबहादुर कार्कीको ...
: धनुषा नगराइन नगरपालिका-५ स्थित खिरखिरिया जाने भित्री बाटोको छेउमा रहेको झाडीबाट १०७ किलोभन्दा बढी अवैध लागुऔषध गाँजा बरामद भएको छ। उक्त स्थानमा लागुऔषध गाँजा रहेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय लग्माजटहीबाट प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले खोजतलास गर्दा प्लास्टिकमा बेरिएका ९ पोका गाँजा फेला पारी नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय ...
:भीरकोट नगरपालिका- ५ का कृष्णप्रसाद अर्याल र राधा अर्याल दम्पतीको कुशको पार्थिव शरीर (शव) बनाएर अन्तिम संस्कार गरिएको छ। गोसाइँकुण्ड दर्शनका लागि हिँडेका उनीहरू सवार बस भोटेकोशीको बाढीमा वेपत्ता भएको थियो। आठौं दिनसम्म पनि केही पत्तो नलागेपछि हिन्दु धार्मिक संस्कारअनुसार पशुपतिआर्यघाटमा अन्त्येष्टि गरिएको भतिज देवीप्रसाद अर्यालले जानकारी दिए। अर्यालका दुई छोरा छन्। एउटा छोरा विदेशमा ...
: बेनीघाट रोराङ गाउँपालिका-७ स्थित जोखिमयुक्त कृष्णभीरमा पृथ्वी राजमार्ग सुचारु गर्न सडक मर्मत तथा पुनःनिर्माणको काम सुरू भएको छ। हाल सडक क्षेत्रमा सरसफाइको काम भइरहेको छ। सडकमा रहेका दुई तहको ग्याबिन हटाएपछि सडक खन्ने तथा पुनःनिर्माणको काम अघि बढाइने तयारी छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको ...