: रातको समय । विराटनगरको दरैयास्थित कोलर चोक । सडकमा गुडिरहेको एउटा भ्यानमा अस्पतालको नाम लेखिएको थियो। हेर्दा सामान्य अस्पतालको सवारीजस्तै देखिने उक्त भ्यानलाई शंका लागेपछि सशस्त्र प्रहरीले रोकेर जाँच गर्न खोज्यो। तर, प्रहरीको संकेत पाउनेबित्तिकै भ्यान सडक किनारमै छाडेर चालक फरार भए।
शंका लागेपछि सशस्त्र प्रहरीले भ्यान खोलेर हेर्दा दृश्य फरक थियो। अस्पतालको नाम लेखिएको गाडीभित्र दुईवटा बोरा थिए । ती बोराभित्र लुकाएर राखिएको थियो करिब ६० किलो गाँजा । घटना मंगलबार राति करिब ११ बजेतिरको हो।
विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल नेपाल बीओपी दरैयाबाट खटिएको टोलीले ‘दिव्य ज्योति अस्पताल प्रालि’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई रोकेर चेकजाँच गर्न खोजेको थियो। तर, सुरक्षाकर्मीले गाडी रोक्न खोजेपछि चालक भ्यान त्यहीँ छाडेर भागेका थिए। चालक भागेपछि सशस्त्र प्रहरीले भ्यान नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । त्यस क्रममा दुईवटा बोरामा करिब ६० किलो गाँजा भेटिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए।
गाँजासहित भ्यानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको छ। घटनाले लागुऔषध तस्करीमा संलग्न समूहले सुरक्षाकर्मीको निगरानीबाट बच्न गाँजा तस्करी गर्ने नयाँ शैली अपनाएको प्रष्ट पारेको छ। अस्पतालको नाम लेखिएको सवारीसाधन सामान्य अवस्थामा उपचार तथा स्वास्थ्य सेवासँग सम्बन्धित ठानिने भएकाले त्यस्तो गाडीले कम शंका उत्पन्न गर्ने तस्करहरूको अनुमान हुनसक्ने प्रहरीको भनाइ छ।
तर, बरामद भएको भ्यान वास्तवमै अस्पतालकै हो वा अस्पतालको नाम मात्र प्रयोग गरिएको हो भन्ने विषय अझै खुलेको छैन। विराटनगर महानगरपालिका–१४ मलाया रोडमा ‘दिव्य ज्योति’ नामको आँखा अस्पताल सञ्चालनमा छ। गाँजा बरामद भएको भ्यान र उक्त अस्पतालबीच प्रत्यक्ष सम्बन्ध छ कि छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।प्रहरी स्रोतका अनुसार गाडी अस्पतालकै स्वामित्वमा रहेको हो वा अस्पतालले भाडामा दिएको हो भन्ने यकिन हुन बाँकी छ । अस्पतालको नाम प्रयोग गरेर सुरक्षाकर्मीलाई झुक्याउन खोजिएको पनि हुनसक्ने भएकाले त्यसतर्फ समेत अनुसन्धान केन्द्रित गरिएको छ।
घटनाको अर्को महत्वपूर्ण पाटो गाँजाको गन्तव्य हो। प्रारम्भिक अनुसन्धानमा उक्त गाँजा नेपालबाट भारततर्फ लैजान खोजिएको हुनसक्ने प्रहरीको अनुमान छ। तर, गाँजा कहाँबाट ल्याइएको थियो, कसको निर्देशन एवं संलग्नतामा ओसारपसार भइरहेको थियो र भारतको कुन ठाउँसम्म पु¥याउने तयारी थियो भन्ने खुलेको छैन । चालकले प्रहरीलाई देखेपछि गाडी नै छाडेर भाग्नुले घटनालाई थप शंकास्पद बनाएको छ। प्रहरीले फरार चालकको खोजी तीव्र पारेको छ।
अब अनुसन्धानबाट भ्यानका धनीदेखि चालकसम्म र गाँजा ओसारपसारमा संलग्न सम्भावित समूहसम्मको ‘कनेक्सन’ पत्ता लगाइने मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए। उनका अनुसार अस्पतालको नाम लेखिएको भ्यान साँच्चिकै अस्पतालकै प्रयोगमा थियो कि तस्करीका लागि अस्पतालको नामलाई ‘कभर’ बनाइएको थियो भन्ने प्रश्नको जवाफ पनि अनुसन्धानबाटै आउने उनको भनाइ छ।
सशस्त्र प्रहरीले बरामद गरेको ६० किलो गाँजा र भ्यान अहिले इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा छन्। इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवणी घिमिरे नेतृत्वको टोलीले गाँजाको स्रोत, गन्तव्य र तस्करीमा संलग्न व्यक्तिका बारेमा पत्ता लगाउन विस्तृत अनुसन्धान अघि बढाएको छ।