मुख्य समाचार
शव व्यवस्थापनमा खटिएका प्रहरी, स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि आवश्यक सुरक्षा तथा संक्रमण नियन्त्रण सामग्री उपलब्ध
शव व्यवस्थापनमा खटिएका प्रहरी, स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि आवश्यक सुरक्षा तथा संक्रमण नियन्त्रण सामग्री उपलब्ध

। भोटेकोशी बाढीपछि शव व्यवस्थापनमा खटिएका प्रहरी, स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि आवश्यक सुरक्षा तथा संक्रमण नियन्त्रण सामग्री उपलब्ध गराइएको छ । ‘प्रारम्भ नेपाल’ सामाजिक संस्थाले पीपीई, एयर फिल्टर मास्क, फिनेल र ब्लिचलगायतका सामग्री हस्तान्तरण गरेको हो ।

शव व्यवस्थापनमा आवश्यक स्वास्थ्य तथा सुरक्षासम्बन्धी सामग्रीको अभाव देखिएको जानकारी प्राप्त भएपछि यस्ता सामग्र उपलब्ध गराइएको प्रारम्भ नेपालकी अध्यक्ष कल्पना क्षेत्रीले बताइन् ।

धादिङ, नुवाकोट, चितवन तथा काठमाडौंको त्रिव शिक्षण अस्पताललगायतका स्थानमा शव व्यवस्थापनको काम भइरहेको छ । नेपाल प्रहरीका शव व्यवस्थापन संयोजक डीआईजी ओम बहादुर रानासँगको समन्वयमा सामग्री हस्तान्तरण गरिएको हो ।

प्रारम्भले शव व्यवस्थापनमा खटिने जनशक्तिका लागि २५ थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराएको छ । त्यसमध्ये १२ थान पुनः प्रयोग गर्न मिल्ने र १३ थान नियमित पीपीई रहेको क्षेत्रीले जानकारी दिइन् । बाक्लो तथा डबल टेपिङ गरिएको पुनः प्रयोग गर्न मिल्ने पीपीईले दुर्गन्ध तथा सम्भावित संक्रमणबाट कामदारलाई थप सुरक्षा दिने अपेक्षा गरिएको छ ।

त्यसैगरी, अत्यधिक दुर्गन्ध तथा संक्रमणको जोखिम भएका स्थानमा काम गर्ने प्रहरी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकका लागि २० थान एयर फिल्टर मास्क पनि उपलब्ध गराइएको छ । सिंगापुर रेडक्रसमार्फत प्राप्त ती मास्क सर्जिकल मास्कमाथि समेत प्रयोग गर्न मिल्छ ।

शवको पहिचान, तस्बिर खिच्ने तथा व्यवस्थापन गर्ने क्रममा स्वास्थ्य तथा सुरक्षाको जोखिम हुने भएकाले त्यस्ता काममा खटिने जनशक्तिको सुरक्षालाई प्राथमिकता दिइएको क्षेत्रीले बताइन् ।

संस्थाले १०० लिटर फिनेल र २० लिटर ब्लिच पनि उपलब्ध गराएको छ । शव व्यवस्थापनस्थलमा दुर्गन्ध नियन्त्रणसँगै संक्रमणको जोखिम कम गर्न यी सामग्री आवश्यक पर्ने प्रारम्भका कार्यक्रम व्यवस्थापक बद्रीराज तिमल्सिनाले बताए ।

उनका अनुसार फिनेलले मुख्यतः दुर्गन्ध नियन्त्रणमा सहयोग गर्छ भने ब्लिच संक्रमण नियन्त्रण तथा निर्मलीकरणका लागि उपयोगी हुन्छ । शव व्यवस्थापन स्थलमा सरसफाई तथा संक्रमण नियन्त्रणका लागि आवश्यकताअनुसार यी सामग्री प्रयोग गरिनेछ ।

तिमल्सिनाका अनुसार शव व्यवस्थापनमा खटिएका प्रहरी, स्वयंसेवक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक अन्य सामग्रीको समेत प्रारम्भले निरन्तर व्यवस्था गर्ने तयारी गरेको छ । त्यहाँ खटिएका जनशक्तिका लागि खानेपानी, सर्जिकल मास्क, स्प्रे तथा खानपानलगायतका सामग्री आवश्यक रहेको जानकारी प्राप्त भएको उनले बताए ।

‘अहिले आवश्यक देखिएका सामग्री उपलब्ध गराएका छौं । त्यहाँ खटिएका प्रहरी, स्वयंसेवक र स्वास्थ्यकर्मीबाट थप आवश्यकता आए त्यसअनुसार सामग्री उपलब्ध गराउने तयारीमा छौं’ तिमल्सिनाले भने ।

बाढी तथा विपद्पछि राहतका क्रममा खाद्यान्नमा बढी ध्यान जाने भए पनि शव व्यवस्थापनजस्तो संवेदनशील कामका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री, संक्रमण नियन्त्रणका सामग्री तथा दुर्गन्ध व्यवस्थापनका साधनको समेत उत्तिकै आवश्यकता पर्ने देखिएको छ ।

प्रारम्भले आगामी दिनमा स्थानीय आवश्यकता र सम्बन्धित निकायको मागका आधारमा सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम