मुख्य समाचार
रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीका सम्बन्धमा विशेष सम्बोधन
रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीका सम्बन्धमा विशेष सम्बोधन

। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीका सम्बन्धमा विशेष सम्बोधन गरेका छन् ।

त्यसक्रममा उनले नेपाल बाढी, पहिरो, भूकम्प, आगजनी, महामारीलगायत विभिन्न प्राकृतिक तथा मानव सिर्जित विपद्को उच्च जोखिममा रहेको देशमा पर्ने भन्दै उनले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनका प्रतिकूल प्रभाव भोग्ने देशमध्ये नेपाल अग्रपङ्क्तिमा रहेको बताए ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका तटीय क्षेत्र तथा नदी आसपासमा ठूलो मानवीय र भौतिक क्षति भएको दु:खद् घटनाले राष्ट्रिय सभालाई समेत गम्भीर र मर्माहत बनाएको बताए ।

विपद्बााट भएको क्षतिको वास्तविक विवरण अझै पूर्णरूपमा यकिन भइसकेको छैन । खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक, सम्पर्कविहीन, घाइते तथा भौतिक क्षतिको यथार्थ विवरण अद्यावधिक तथा प्रमाणीकरण हुने क्रममै रहेको छ ।



दु:खद् घटनामा ज्यान गुमाउनेप्रति राष्ट्रिय सभाको तर्फबाट श्रद्धान्जली अर्पण गर्दै उनले सम्पर्कविहीनस्वदेशी तथा विदेशी नागरिकहरू सम्पर्कमा आउने कामना गरे ।

समन्वयमा काम गर्न सुझाव

अध्यक्ष दाहालले विपद्पछिको अवस्थामा संघीयताको मर्म र संविधानले परिकल्पना गरेको सहकार्य र समन्वयको भावना अनुरूप काम गर्न संघ, प्रदेश र स्थानीय तहलाई आग्रह गरेका छन् ।

तीन वटै तहका सरकारले विपद्को अवस्थामा आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै एकीकृत र समन्वयात्मक रूपमा कार्य गर्ने विश्वास लिएको बताए ।

विपद्को गम्भीरतालाई दृष्टिगत गर्दै घाइतेहरूको शीघ्रातिशीघ्र नि:शुल्क उपचारको व्यवस्था गर्न माग गरे ।

सम्पर्कविहीन नागरिकहरूको खोजी एवम् उद्धार कार्यलाई उच्च प्राथमिकतामा राख्न र उपलब्ध सम्पूर्ण स्रोत, साधन, प्रविधि तथा जनशक्तिको अधिकतम परिचालन गर्न नेपाल सरकार एवम् सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराए ।

साथै, नदी तटीय तथा अन्य जोखिमयुक्त क्षेत्रमा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, स्वास्थ्य सेवा तथा अत्यावश्यक वस्तुको सहज पहुँच सुनिश्चित गर्ने र प्रभावित क्षेत्रमा नियमित तथा विश्वसनीय सूचना प्रवाह गर्ने व्यवस्था प्रभावकारी बनाउन आग्रह गरे ।

उनका अनुसार राहत सामग्रीको संकलन, भण्डारण, ढुवानी र वितरणलाई पारदर्शी, व्यवस्थित तथा आवश्यकतामा आधारित रही वास्तविक प्रभावित नागरिकसम्म समयमै राहत पुग्ने सुनिश्चितता गर्न आवश्यक छ । राहत वितरणका क्रममा देखिएका समस्या तथा जनगुनासोलाई तत्काल सम्बोधन गर्नसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

विपद्मा ज्यान गुमाएका व्यक्तिहरूको शवको सम्मानजनक, सुरक्षित तथा वैज्ञानिक व्यवस्थापन गर्न र पहिचान हुन नसकेका शवको पहिचानका लागि आवश्यक वैज्ञानिक विधि तथा प्रविधिको प्रयोग गर्न आग्रह गरे ।

‘विपद्को क्षति तत्कालको मानवीय संकटमा मात्र सीमित छैन । यसले आवास, सडक, पुल, विद्युत्, सञ्चार, खानेपानी, शिक्षा, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक पूर्वाधारमा समेत गम्भीर असर पारेको छ’ उनले भनेका छन्, ‘त्यसैले क्षतिको यथार्थ, वस्तुगत तथा क्षेत्रगत मूल्यांकन लगायतका आवश्यक प्रक्रिया शीघ्र अघि बढाउन तथा त्यसका आधारमा राहत, पुनर्स्थापना, पुनर्निर्माण र क्षतिपूर्तिका लागि स्पष्ट कार्ययोजना निर्माण गर्न आग्रह गर्दछु ।’

विपद्को प्रकृति र प्रभावले प्रशासनिक सीमा नमान्ने भएकाले संघ, प्रदेश र स्थानीय तहका सरकारबीचको सूचना आदानप्रदान, स्रोतसाधनको परिचालन र स्पष्ट जिम्मेवारीसहितको प्रभावकारी समन्वय एवम् सहकार्यलाई अझ सुदृढ गर्दै जानुपर्ने बताए ।

उनकाअनुसार उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका कार्यलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक छ। यसका साथै विपद्को बेलामा सरकारको तर्फबाट राष्ट्रिय विपत्तिका विरुद्ध लड्न पार्टी संगठनभन्दा माथि उठेर एउटा ठोस योजनाका साथ राष्ट्रिय एकता कायम गरि अगाडि बढ्न आवश्यक छ ।

अन्तर्राष्ट्रिय सद्भावप्रति आभार

विपद् नेपालका लागि मात्र नभई मानवीय संवेदनाको विश्व्कै साझा विषय समेत बनेको अध्यक्ष दाहालले बताए ।

यसै सन्दर्भमा, केही दिनअघि कम्बोडियाको फ्नोम पेनमा सम्पन्न दोस्रो अन्तर–व्यवस्थापकीय सभामुख/अध्यक्ष सम्मेलन लाई सम्बोधन गर्दै आफूले नेपालमा आएको यस विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिको विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष गम्भीरताका साथ उठाएको स्मरण गराए ।

उक्त अन्तर्राष्ट्रिय मञ्चमार्फत् संयुक्त राष्ट्रसंघ तथा सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायसमक्ष उद्धार, राहत र पुन:स्थापनाका लागि मानवीय सहयोग तथा ऐक्यबद्धताको हार्दिक अपिल गरेको जानकारी दिए ।

‘नेपालप्रति व्यक्त भएको अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सद्भाव र सहयोगका लागि सम्पूर्ण मित्रराष्ट्र, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संघ संस्था, विकास साझेदार तथा सहयोगी समुदायप्रति राष्ट्रिय सभाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु’ उनले भने ।

साथै, आगामी दिनमा आवश्यक पर्ने उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सहयोग गर्न इच्छुक मित्रराष्ट्र, अन्तर्राष्ट्रिय संघ संस्थाहरु तथा सहयोगी निकायहरूलाई नेपाल सरकारसँग समन्वय गरी आवश्यकतामा आधारित सहयोग उपलब्ध गराउन राष्ट्रिय सभाको तर्फबाट पुन: हार्दिक आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सांसदहरूले रसुवामा गएको विनाशकारी बाढीपछिको अवस्थामा राष्ट्रिय शोक घोषणा गर्न सरकारसँग माग गरेका छन् । राष्ट्रिय सभामा शून्य समयमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन् । ‘सम्माननीय अध्यक्षज्यूमार्फत भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारलाई आग्रह गर्दछु,’ नेपाली कांग्रेसका सांसद युवराज शर्माले भने । उनले विपद्का बेला सबै एकै साथ भएर अगाडि बढ्नुपर्ने पनि बताए ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद झक्कुप्रसाद सुवेदीले विपद्को समयमा गृहमन्त्री सुधान गुरुङको दायित्व र जिम्मेवार महत्वपूर्ण रहेको बताएका छन् । तर, गृहमन्त्री गुरुङ जिम्मेवारी पूरा गर्न जे गर्नुपर्ने हो त्यसतर्फ कम ध्यान दिएको उनको टिप्पणी छ । राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘यतिबेला सशस्त्र प्रहरी जनपथ प्रहरीहरू स्रोतसाधनविहीन भएका छन्, ...
। राष्ट्रिय सभाकी सदस्य कमला पन्तले विपद्‌बारे विगतमा सांसदहरूले सरकारलाई दिएका सुझाव नसुनिएको बताएकी छन् । मंगलबार सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘आज हामी महाविपत्तिको सामना गरिरहेका छौं । तर यस्तो जोखिमबारे हामीले विपत्ति आउनु अगाडि नै यही संसद्‌मार्फत सरकारको ध्यानाकर्षण गराएका थियौं’ उनले भनिन् । मनसुनजन्य विपद् बाढी, पहिरो, डुबान र ...
। राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित भएको छ । मंगलबार बसेको सभामा राष्ट्रिय सभामा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो । यही भदौ १० गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढीका कारण ठूलो धनजनको क्षति भएको छ । उक्त बाढीमा परेर ज्यान गुमाएकाहरूप्रति राष्ट्रिय सभाले ...
। पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन २१ दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी कार्यदल गठन गरेको छ । कार्यदलले प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ । साथै, ...