। सुरुङमा फसेका कर्मचारी तथा कामदारहरूको जीवन बचाउने सम्भावना क्षीण हुँदै बाढी गएको सातौं दिन बल्ल सरकारले आयोजना प्रवर्द्धकलाई उद्धारको अनुमति दिएको छ ।
अनुमति पाएपछि आयोजना प्रवर्द्धक कम्पनीहरू प्राविधिक टोली र आवश्यक उपकरणसहित फसेका तथा सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा परिचालन हुने भएका छन् ।
यसअघि सरकारले जलविद्युत् आयोजनामा फसेकाहरूको खोज तथा उद्धारका लागि एकद्वार प्रणालीबाट काम गरिरहेको भन्दै सरकारले सम्बन्धित आयोजनाका कम्पनीलाई उद्धारमा प्रत्यक्ष संलग्न हुन दिएको थिएन । नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धारको प्रयास भइरहेको थियो । तर, नेपाली सेनाको टोलीले सात दिनसम्म सुरुङमा फसेकाहरुको उद्धार गर्न सकेको छैन ।
सात दिनसम्मको प्रयासबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेपछि सरकारले सम्बन्धित आयोजनाका कम्पनीलाई समेत प्राविधिक जनशक्ति र आवश्यक उपकरणसहित खोज तथा उद्धारमा खटिन भनेको हो ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार दुईवटा जलविद्युत परियोजनाका सुरुङको भित्रसम्म पसेर उध्दार प्रयास गर्दा केही फेला पार्न नसकेकाले सम्बन्धित आयोजना कम्पनीहरुलाई पनि प्रयास गर्न आग्रह गरिएको छ । ‘हाम्रो उध्दार टोली ती आयोजना स्थलबाट हिजो फर्कियो, आजको सबै अपडेट मैले लिन पाएको छैन,’ सैनिक प्रवक्ता बस्नेतले भने, ‘हामीले छाड्यौं, तपाईहरुमात्रै गर्नुहोस् भनेको चाहिँ होइन ।’
अनुमति पाएपछि विभिन्न जलविद्युत् आयोजना प्रवर्द्धक तथा निर्माण कम्पनीहरूले आवश्यक प्राविधिक जनशक्ति र उपकरणको व्यवस्थापन थालेका छन् ।
लाङटाङ जलविद्युत् आयोजनाले पनि बाढी र पहिरोले पुरिएको आयोजनास्थलमा आफ्नै प्राविधिक टोली तथा आवश्यक उपकरण लिएर जाने तयारी थालेको जानकारी दिएको छ । सरकारले आयोजनाको प्राविधिक टोलीलाई उद्धार तथा खोजी कार्यमा संलग्न गराउने गरी बाटो खुला गरेको आयोजना प्रवर्द्धक विजयमान भट्टराईले जानकारी दिए ।
‘नेपाली सेनाले सो आयोजनाको सुरुङमा १०० मिटरसम्म गएर हेर्यो, त्यसपछि हामी जान सक्दैनौं, तपाईंहरूको प्राविधिक मान्छे लगाएर काम अघि बढाउनुस् भनेर उहाँहरूले भन्नुभएको छ,’ भट्टराईले भने ।
सरकारले नेपाली सेनामार्फत उद्धारको काम गरिरहेको अवस्थामा आयोजनाका प्राविधिक जनशक्तिलाई प्रत्यक्ष रूपमा परिचालन गर्न नदिइएको उनको भनाइ छ । तर, अहिले सरकारी संयन्त्र र आयोजनाको टोलीबीच समन्वय गरेर काम अघि बढाउने अवस्था बनेको उनले बताए ।
‘हाम्रो प्राविधिक टिम त चाहिने नै थियो, पहिला पनि चाहिने थियो । त्यो भइराखेको छ । अब हाम्रो तर्फबाट पनि समन्वय हुनुपर्छ,’ उनले भने, ‘उहाँहरूको पनि त्यहाँ हेलिकप्टर जाँदैन, गाडीहरू जाँदैनन् । लिफ्टिङ लगायतका सामानको उपलब्धता उहाँहरूले गर्नुपर्छ । त्यसैले हाम्रो पनि समन्वयमा काम अघि बढाउने भन्नेमा छौं ।’
यसअघि अपनाइएको उद्धारको तरिकाबाट अपेक्षित परिणाम नआएपछि अब नयाँ ढंगबाट अघि बढ्नुपर्ने अवस्था आएको हो । ‘पहिलाको तरिकाले भएन । त्यसैले अब त्यसैमा लागिरहेका छौं,’ उनले भने ।
आयोजनाको टोली अहिले काठमाडौंमा आवश्यक उपकरण तथा सामग्री जुटाउने काममा लागेको छ । आवश्यक प्राविधिक सामग्री र उपकरण खरिद तथा व्यवस्थापन गरेपछि टोली आयोजनास्थलतर्फ जाने तयारीमा रहेको उनले बताए ।
‘काठमाडौं आएर अब के–के सामान लिएर जाने भनेर खरिद गर्दैछौं । अब हामी जान्छौं, सामानहरू लिएर सुरु गर्छौं,’ भट्टराईले भने ।
यस्तै, माथिल्लो त्रिशूली–१ निर्माण गरिरहेको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) ले पनि आवश्यक प्राविधिक जनशक्ति र उपकरण व्यवस्थापन थालेको छ ।
बाढीपछि आयोजनास्थलमा रहेका केही व्यक्ति सम्पर्कविहीन बनेपछि कम्पनीले सुरुदेखि नै आफ्ना प्राविधिक टोली परिचालन गर्न खोजेको थियो । तर, सरकारले एकद्वार प्रणालीबाट नेपाली सेनामार्फत उद्धारको काम भइरहेको भन्दै कम्पनीलाई प्रत्यक्ष रूपमा खोज तथा उद्धारमा जान दिएको थिएन ।
अब भने कम्पनीहरूलाई आफ्नै प्राविधिक क्षमता, उपकरण र जनशक्ति प्रयोग गरेर खोज तथा उद्धारमा सहभागी हुन बाटो खुलेको छ । बाढी आएको सातौं दिनसम्म पनि आयोजनास्थलमा फसेका तथा सम्पर्कविहीन व्यक्तिहरूको अवस्था स्पष्ट हुन नसकेको अवस्थामा सरकारको पछिल्लो निर्णयले खोज तथा उद्धारलाई थप तीव्र बनाउने अपेक्षा गरिएको छ ।
भदौ १० गते आएको बाढीका कारण रसुवा र नुवाकोटका १२ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ । अझै पनि ८९४ जना कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहिन छन्। रसुवामा एनडब्लूईडीसीले निर्माण गरिरहेको २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ मा अझै पनि ५७३ जना सम्पर्कविहीन छन् ।
त्यस्तै १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा ९३ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहिन छन् । नेपाली सेनाले जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहभित्र खोजतलास गर्दा कोही पनि नभेटिएको जनाएको थियो । तर, त्यही बेला ड्युटीमा रहेका तीन जना कर्मचारी भने सम्पर्कबिहिन नै रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनाबाट ४१ जना सम्पर्कविहीन छन् ।
त्यस्तै नुवाकोटमा रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाका ४२ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन् । सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सोमबार पनि प्रयास जारी रहेपनि आयोजनाको भूमिगत विद्यूत् गृहभित्रबाट उद्धार टोलीले २४ घण्टा काम गरे पनि उद्धार गर्न सफलता मिलेन ।
सोमबार सुरुङको टनेल पोर्टल सफा गर्ने, पानी हटाउने तथा भित्र प्रवेश गर्न सकिने बाटो बनाउने काम भएको थियो । सुरुङभित्र पानी भरिएकाले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
सोमबार नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोली सुरुङभित्र प्रवेश गरेर खोजीमा गएको थियो ।
शीर्षक अद्यावधिक गरिएको । – सम्पादक