मुख्य समाचार
जलविद्युत् आयोजनामा हराइरहेका तथा सम्पर्कविहीनमध्ये ठूलो संख्यामा अझै उद्धार हुन सकेको छैन
जलविद्युत् आयोजनामा हराइरहेका तथा सम्पर्कविहीनमध्ये ठूलो संख्यामा अझै उद्धार हुन सकेको छैन

। भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा हराइरहेका तथा सम्पर्कविहीनमध्ये ठूलो संख्यामा अझै उद्धार हुन सकेको छैन । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को तथ्यांकअनुसार अझै पनि ११ वटा जलविद्युत् आयोजनाबाट ८९४ जना सम्पर्कविहीन छन् ।

सबैभन्दा ठूलो संख्या रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सम्पर्कविहीन छन् । २१६ मेगावाटको निर्माणाधीन आयोजनामा ५७३ जना अझै हराइरहेका छन् । सोमबार तीन जनाको उद्धार भए पनि अरू ठूलो संख्या सम्पर्कमा आउन सकेको छैन ।

आयोजनामा हराइरहेकामध्ये करिब ३०० जना सुरुङभित्र काम गर्ने कामदार रहेको उल्लेख छ । उनीहरू बाढी आएको समयमा सुरुङभित्र काम गरिरहेका थिए वा सुरुङ प्रवेश गर्न बाँकी थिए भन्ने यकिन हुन सकेको छैन । बाढी आएको दिन आयोजनामा करिब १ हजार ४०० जनाले काम गरिरहेको हुनसक्ने अनुमान गरिएको छ ।

माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सोमबार पनि प्रयास जारी रह्यो । ६० मेगावाटको आयोजनाको सुरुङमा उद्धार टोलीले २४ घण्टा काम गरे पनि अहिलेसम्म भित्र फसेकाहरूलाई उद्धार हुन सकेको छैन।



सुरुङको टनेल पोर्टल सफा गर्ने, पानी हटाउने तथा भित्र प्रवेश गर्न सकिने बाटो बनाउने काम भइरहेको छ । सुरुङभित्र पानी भरिएकाले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

लाङटाङ खोला जलविद्युत् आयोजनामा पनि उद्धार टोली पुगेको भए पनि सुरुङभित्र फसेकाहरूको उद्धार हुन सकेको छैन । नेपाली सेना, भारतीय सेना तथा प्राविधिकसहितको टोली आयोजनास्थल पुगेको थियो । आयोजनाले मंगलबार पनि आफ्नोतर्फबाट उद्धार प्रक्रिया अघि बढाउने जनाएको छ ।

त्यस्तै माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा पनि आइतबारदेखि हराइरहेकाहरूको खोजी जारी छ । आयोजनाका संरचनाहरू बाढीमा बगेकाले उद्धारमा थप कठिनाइ भएको छ । आयोजनासँगै रहेको २२० केभी त्रिशूली–३ बी हब सबस्टेसनमा समेत पूर्ण क्षति पुगेपछि त्यहाँबाट सम्पर्कविहीन भएकाहरूको खोजीमा थप समस्या भएको छ ।

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा पनि ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन छन् । कम्पनीका अनुसार ४९ जना कर्मचारीसहित ९३ जना हराइरहेका छन् । सोमबार नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोली सुरुङभित्र प्रवेश गरेर खोजीमा गएको थियो । सुरुङको भित्री भागमा ड्रोनमार्फत अवलोकन गर्दा मानिस फेला नपरेपछि खोजी कार्य सम्पन्न गरी टोली फर्किएको विवरणमा उल्लेख छ । सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुनसक्ने आशंकामा खोजी गरिएको थियो ।

नुवाकोटका प्रभावित आयोजनामा २४ मेगावाटको त्रिशूली जलविद्युत् आयोजनाबाट १ जना, १४.१ मेगावाटको देवीघाटबाट १ जना, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’बाट ४२ जना, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’बाट १९८ जना र १५।६ मेगावाटको मिडल त्रिशूली गंगाबाट २ जना सम्पर्कविहीन छन् ।

उद्धार प्रयास भइरहे पनि अझै ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन अवस्थामा छन् । इप्पानको विवरणमा मंगलबारसम्म विभिन्न आयोजनाबाट प्राप्त हुने सूचनाका आधारमा हराइरहेका व्यक्तिहरूको थप उद्धार हुन सक्ने उल्लेख छ ।

बाढीका कारण जलविद्युत् आयोजनाका भौतिक संरचनामा क्षति पुग्नुका साथै आयोजनामा कार्यरत सयौं मानिसको अवस्था अझै यकिन हुन नसक्दा उद्धार र खोजी कार्य चुनौतीपूर्ण बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय सभाकी सदस्य कमला पन्तले विपद्‌बारे विगतमा सांसदहरूले सरकारलाई दिएका सुझाव नसुनिएको बताएकी छन् । मंगलबार सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘आज हामी महाविपत्तिको सामना गरिरहेका छौं । तर यस्तो जोखिमबारे हामीले विपत्ति आउनु अगाडि नै यही संसद्‌मार्फत सरकारको ध्यानाकर्षण गराएका थियौं’ उनले भनिन् । मनसुनजन्य विपद् बाढी, पहिरो, डुबान र ...
। राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित भएको छ । मंगलबार बसेको सभामा राष्ट्रिय सभामा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो । यही भदौ १० गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढीका कारण ठूलो धनजनको क्षति भएको छ । उक्त बाढीमा परेर ज्यान गुमाएकाहरूप्रति राष्ट्रिय सभाले ...
। पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन २१ दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी कार्यदल गठन गरेको छ । कार्यदलले प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ । साथै, ...
। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीका सम्बन्धमा विशेष सम्बोधन गरेका छन् । त्यसक्रममा उनले नेपाल बाढी, पहिरो, भूकम्प, आगजनी, महामारीलगायत विभिन्न प्राकृतिक तथा मानव सिर्जित विपद्को उच्च जोखिममा रहेको देशमा पर्ने भन्दै उनले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनका प्रतिकूल प्रभाव भोग्ने देशमध्ये ...
। नुवाकोटको विदुर नगरपालिका-१ र ९ नम्बर वडामा आउजाउ गर्न त्रिशूली नदीमा तुइन जडान गरिएको छ । १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीसँगै यी दुई वडाबीचको सम्पर्क टुटेको थियो । सर्वसाधारण नागरिक आउजाउन गर्न सहज होस् भनी मंगलबार बिहान तुइन जडान गरिएको हो । तुइन जडान गरेपछि जोखिम मोलेरै भए पनि मानिसहरू वारिपारि आउजाउ गरिरहेका छन् ।