। प्रतिनिधिसभाको बैठक भोलिका लागि आह्वान हुने भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबार दिउँसो १ बजे बैठक राख्ने निर्णय गरेको हो।
साथै, बैठकमा महाविपद्बारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तय भएको छ । जसमाथि सबै दलका नेताहरूले बोल्नेछन् ।
१० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीसँगैको गेग्रानले भोटेकोशी नदीको बहाब एकाएक बढाउँदा नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
१० भदौमा नै प्रतिनिधिसभाको बैठक बसेको थियो । त्यसपछि अनिश्चित कालका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक भोलि बस्ने तय भएको हो ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले स्थानीय बस्ती र पूर्वाधारसँगै कैलाश हिमाल तथा मानसरोवर यात्रामा रहेका पर्यटकलाई समेत प्रभावित बनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परेकामध्ये ९८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा शव फेला परेका हुन् ।
प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरसी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको हो ।
प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २७९ जना घाइते छन् । हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ ।
उद्धार, राहत तथा पुन:स्थापनमा २० हजार ८१९ सुरक्षाकर्मी खटिएका छन् । जसमा नेपाली सेना ८ हजार ७२२, नेपाल प्रहरी ७ हजार ८९४ र सशस्त्र प्रहरी ४ हजार २०३ जना रहेका छन् ।