। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका तीनवटै समूहमा रहेका नेताहरूसँग छलफल गरेका छन् ।
पूर्वसभापति शेरबहादुर देउवाको समूहले आह्वान गरेको बैठकको अघिल्लो दिन उनले तीन वटै समूहमा रहेका नेताहरूसँग छलफल गरेका हुन् ।
विशाल नगरस्थित सम्पर्क कार्यालयमा भएको छलफलमा सभापति गगन थापा, पूर्वसभापति देउवा र कोइरालानिकट नेताहरूको सहभागिता रहेको थियो ।
पार्टीभित्रको आन्तरिक समस्या र पार्टीलाई एक ढिक्का बनाउने विषयमा कोइरालाले छलफलका लागि आफूहरूलाई बोलाएको नेताहरूले बताएका छन् ।
बैठकमा पार्टी एकताका लागि ‘देश र कांग्रेस जोड्ने अभियान’ चलाइरहेका पूर्वकेन्द्रीय सदस्य नैनसिंह महर, राष्ट्रिय सभा सदस्य रञ्जित कर्ण पनि सहभागी थिए ।
‘पार्टी कसरी मिलाउने भनेर छलफलका लागि बोलाउनुभएको थियो,’ उनले भने, ‘म केही समय बसेर निस्किएको थिएँ ।’
बैठकमा सहभागी पूर्वकेन्द्रीय सदस्य रामहरि खतिवडाले पनि पार्टीको एकताका विषयमा छलफल भएको जानकारी दिए ।
बैठकमा विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिमा रहेका सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, डा. गोविन्दराज पोख्रेल, दिनेश कोइराला, जीवन परियारलाई बोलाइएको थियो ।
यस्तै पूर्वसभापति देउवानिकट शंकर भण्डारी, रामहरि खतिवडा, रंगमती शाही, गणेश लामा, अम्बिका बस्नेत, उमेशजंग रायमाझी, किरण पौडेललगायतका नेताहरू सहभागी थिए ।
त्यसैगरी विशालनगर बैठकमा पूर्वउपसभापति धनराज गुरुङ, पूर्वसहमहामन्त्री बद्री पाण्डे, पूर्वकेन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, सरिता प्रसाईं, पदमनारायण चौधरी, किरण यादव, भुपेन्द्रजंग शाही, विनोद कायस्थलगायतका नेताहरू पनि उपस्थित थिए ।
बैठकमा प्रतिनिधिसभा सदस्यहरू गीता सेन्दाङ, डा. चन्द्रमोहन यादव, रेखा यादव, रुक्मिणी कोइराला र रिना उप्रेती, राष्ट्रिय सभा सदस्यहरू बासुदेव जंगली, गीता देवकोटा, बिष्णु सापकोटालगायतको सहभागीता रहेको थियोे ।
नेता कोइरालाले यसअघि १४ भदौमा पूर्वमहामन्त्री डा. शशांक कोइराला र १५ भदौमा पूर्वसभापति देउवालाई भेटेर पार्टीभित्रको समस्या समाधानका बारेमा छलफल गरेका बताइएको छ ।
देउवा समूहले पूर्वमहामन्त्री शशांकको संयोजकत्वमा ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’ गठन गरेको छ ।
उक्त समितिले बुधबार १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा दिउँसो १ बजे बस्ने भनिएको बैठकका १५ औं महाधिवेशन तयारी, समसामयिक र विविध गरी तीनवटा एजेन्डा तय गरिएको नेताहरूले बताएका छन् ।