मुख्य समाचार
१० वर्षअघि भएको सामूहिक बलात्कार (जबरजस्ती करणी) घटनामा सर्वोच्च अदालतले दोषी ठहर गरेका चारमध्ये एक जना अभियुक्त पक्राउ
१० वर्षअघि भएको सामूहिक बलात्कार (जबरजस्ती करणी) घटनामा सर्वोच्च अदालतले दोषी ठहर गरेका चारमध्ये एक जना अभियुक्त पक्राउ

: मोरङमा १० वर्षअघि भएको सामूहिक बलात्कार (जबरजस्ती करणी) घटनामा सर्वोच्च अदालतले दोषी ठहर गरेका चारमध्ये एक जना अभियुक्त पक्राउ परेका छन् भने दुई जनाले अदालतमा आत्मसमर्पण गरेका छन्। एक जना भने अझै फरार छन् ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार कटहरी गाउँपालिका–६ का ३० वर्षीय अजय पासवानलाई विराटनगर महानगरपालिका–७ स्थित सहिद रंगशाला नजिकबाट आइतबार साँझ पक्राउ गरिएको हो । ‘मन्त्री’ भनेर चिनिने पासवान सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि लामो समयदेखि फरार थिए। पक्राउ परेका उनी विराटनगरस्थित नोबेल अस्पताल नजिकै फार्मेसी सञ्चालन गरेर लुकिछिपी बस्दै आएको खुलेको एसपी कटवालले बताए।

सामूहिक बलात्कार मुद्दामा अजय पासवानसहित चार जनालाई सर्वोच्च अदालतले २०८२ साल असार १० गते दोषी ठहर गर्दै प्रतिव्यक्ति नौ वर्ष कैद सजायको फैसला सुनाएको थियो। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरको फैसला उल्टाउँदै चारै जनालाई दोषी ठहर गरेको हो।

सर्वोच्चको फैसलापछि फरार रहेका अजय पक्राउ परेपछि घटनामा दोषी ठहर भएका अरु दुई जना अभियुक्त आफैं अदालत पुगेका हुन्। कटहरी गाउँपालिका–४ का राजा भनिने राजेश कामत र करिया भनिने रविन कामतले सोमबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन्।
दुवैले सर्वोच्चको फैसला कार्यान्वयन गराउन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए। अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार प्रहरीले पक्राउ गरेर बुझाएका एक जना र आफैं अदालतमा उपस्थित भएका दुई जनासहित तीनै जनालाई कैद सजाय भुक्तानका लागि सोमबार कारागार चलान गरिएको छ । ‘सर्वोच्च अदालतबाट दोषी ठहर भएको लामो समयसम्म फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेर बुझाएको हो । अरु दुई जना आफैं निवेदन लिएर अदालतमा आएका हुन्,’ बुढाथोकीले भने। प्रहरीका अनुसार पासवान पक्राउ परेपछि आफूहरू पनि पक्राउ पर्न सक्ने देखेर राजेश र रविन अदालतमा आत्मसमर्पण गर्न पुगेका हुन्। सर्वोच्चको फैसला कार्यान्वयनका लागि उनीहरूले स्वेच्छाले अदालतमा उपस्थित भएर कैद भुक्तानको प्रक्रिया अघि बढाएका छन् । मुद्दामा दोषी ठहर भएका अर्का अभियुक्त सुजित चौधरी भने अझै फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो मुद्दाको फैसला कार्यान्वयनमा पुग्नुअघि लामो कानुनी प्रक्रिया गुज्रिएको थियो। २०७३ सालमा भएको घटनामा संलग्न चारै जना त्यतिबेलै पक्राउ परेका थिए। उनीहरूलाई अदालतको आदेशबाट पुर्पक्षका लागि जिल्ला कारागार मोरङमा राखिएको थियो । तर, जिल्ला अदालतले सफाइ दिएपछि उनीहरू थुनामुक्त भएका थिए।

मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश नारायणप्रसाद पराजुलीको इजलासले २०७४ जेठ ४ गते अभियुक्तहरूलाई सफाइ दिएको थियो। त्यसविरुद्ध पुनरावेदन परेकोमा उच्च अदालत विराटनगरका तत्कालीन न्यायाधीशद्वय प्रेमराज कार्की र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०७५ चैत ५ गते जिल्ला अदालतकै फैसला सदर गरेको थियो।
यसरी जिल्ला र उच्च अदालतबाट सफाइ पाएका चारै जना वर्षौंसम्म बाहिरै रहे। तर, अन्तिम तहको सुनुवाइ गर्दै सर्वोच्च अदालतले दुवै अदालतको फैसला उल्टाएर चारै जनालाई दोषी ठहर ग¥यो । सर्वोच्चले प्रतिव्यक्ति नौ वर्ष कैद सजाय तोकेपछि उनीहरू फरार भएका थिए।
घटना भने त्यसको झन्डै १० वर्षअघि भएको थियो। २०७३ साल माघ १० गते राति कटहरी गाउँपालिका–१ स्थित माछा पोखरीको डिलमा १९ वर्षीया युवती बेहोस अवस्थामा भेटिएकी थिइन्। ७–८ जनाको समूहले युवतीमाथि सामूहिक बलात्कार गरी बेहोस अवस्थामा छाडेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

प्रहरी घटनास्थल पुग्दा युवती पोखरीको डिलमा राखिएको फलामको खाटमाथि अचेत अवस्थामा भेटिएकी थिइन् । तत्कालीन प्रहरी नायब निरीक्षक (सई) देवेन्द्र सुवेदीको नेतृत्वमा पुगेको प्रहरी टोलीले उनलाई उद्धार गरी उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पु¥याएको थियो। उपचार तथा स्वास्थ्य परीक्षणका क्रममा युवतीमाथि सामूहिक बलात्कार (जबरजस्ती करणी) भएको खुलेपछि प्रहरीले घटनामा संलग्नहरूको खोजी तीव्र बनाएको थियो। त्यसक्रममा प्रहरीले घटनास्थल नजिकै रहेको धर्मकाँटाको कार्यालय कोठामा लुकेर बसेका नौ जनालाई २०७३ साल माघ ११ गते बिहान पक्राउ गरेको थियो।

प्रहरीले सुरुमा नौ जनालाई पक्राउ गरे पनि अन्ततः यही घटनामा चार जना अभियुक्तविरुद्ध दोष कायम भएको हो । उनीहरूलाई जिल्ला अदालतले सफाइ दिएपछि उच्च अदालतले पनि जिल्लाकै निर्णय सदर गरेको थियो । लामो कानुनी प्रक्रियापछि सर्वोच्च अदालतले भने चारै जनालाई दोषी ठहर गर्दै नौ–नौ वर्ष कैदको फैसला सुनाएको हो। सर्वोच्चको फैसला कार्यान्वयनको क्रममा अहिले एक जना पक्राउ, दुई जनाको आत्मसमर्पण र एक जना फरार रहेको अवस्था छ। प्रहरीले फरार रहेका अभियुक्त सुजित चौधरीको खोजी भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’हुन थालेका छन्। नेपाल–चीनबीचको (रसुवागढी—केरुङ) नाका विनासकारी बाढीका कारण पूर्णरुपमा क्षति भएसँगै कोरला नाकामार्फत् मालवस्तु र कन्टेनरहरु आउन थालेका हुन् । मुस्ताङको जोमसोममा आइतबार साँझ ६६ मालवाहक कन्टेनर आइपुगेका छन् । कोरलानाकातर्फ जाँदै गरेका कन्टेनर चालक कुमार देवकोटाका अनुसार रसुवागढी नाकाबाट पैठारी गरिने मालवस्तुहरु कोरला ...
: परराष्ट्र मन्त्रालयले पुनःस्थापना र पुनर्निर्माणका लागि विस्तृत आवश्यकता मूल्याङ्कनपछि ठूलो अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पर्ने जनाएको छ । सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले तत्कालिन अवस्थाको उद्धार तथा राहतका लागि आवश्यक विशिष्टीकृत अन्तर्राष्ट्रिय सहयोग र दीर्घकालीन चरणमा पुनःस्थापना र पुनर्निर्माणका लागि ठूलो अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पर्ने बताए। उनले परराष्ट्र मन्त्रालयमा ...
: राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। सोमबार शीतल निवासमा उनीहरूबीच छलफल भएको हो। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढी र त्यसबाट भएको क्षतिसँगै उद्धार र राहतका लागि भइरहेका गतिविधिबारे रास्वपा सभापति लामिछानेले राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेका थिए। त्यसअघि सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका थिए। भेटमा बाढी प्रभावित ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राहत तथा उद्धार कोषमा जम्मा भएको रकमलाई तत्काल बाढी प्रभावित पालिकाहरुमा पठाउने व्यवस्था गर्न निर्देशन दिएका छन्। विनाशकारी बाढीपछिको पुनर्निर्माण, आधारभूत आवश्यकताको आपूर्तिलगायतका विषयमा सोमबार अर्थ मन्त्रालयमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममा मन्त्री वाग्लेले राहत तथा उद्धार कोषमा जम्मा भएको रकमलाई अनावश्यक प्रशासनिक प्रक्रियामा अल्झाएर समय खेर नफाली तत्काल पालिकाहरूमा पठाउन ...
: रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिशूली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ। नेपाल सरकारको अनुमतिमा यही भदौ १३ गते चिनियाँ उद्धार टोली आफै निजी हेलिकोप्टर लिएर नुवाकोटको त्रिशूली पुगेको थियो। उक्त टोली नेपाली सेनासँग समन्वय गरी माथिल्लो त्रिशुली थ्री बी को सुरुङ क्षेत्र पुगेको ...