: नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
विनाशकारी बाढी आएपछि केही दिन अगाडि संघको निवर्तमान कार्य समितिले संस्थागत रुपमा १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। संघको नवनिर्वाचित कार्यसमितिका अध्यक्ष, पदाधिकारी, सदस्य र कर्मचारीहरुले व्यक्तिगत रुपमा आइतबार थप ४ लाख रुपैयाँ सहयोग गरेका हुन्।
संघका नवनिर्वाचित अध्यक्ष चिरञ्जीवी ओलीले आफ्नो फर्म ओली ट्रेड एण्ड सप्लायर्सबाट १ लाख ११ हजार रुपैयाँ सहयोग गरेका छन्। कमलकुमार कार्की (उपाध्यक्ष उद्योग)ले ३१ हजार ५ सय ५५, विष्णुप्रसाद श्रेष्ठ (उपाध्यक्ष वाणिज्य) ३१ हजार ५ सय ५५, सानु ओझा (उपाध्यक्ष महिला) २१ हजार, महासचिव विष्णु श्रेष्ठ ११ हजार १ सय ११, उपमहासचिव प्रदीप आचार्य ११ हजार २ सय २१ र कोषाध्यक्ष टीकामणि उपाध्यायले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । एशोेसियट सदस्य अब्दुल अन्सारीले २५ हजार र अर्का एशोसियट राजीव तलंगाले १५ हजार १ सय रुपैयाँ सहयोग गरेका छन्।
कार्यसमिति सदस्यहरु तोपबहादुर थापा, नगेन्द्र शाही, जहाँगीर मुसलमान, शरद अधिकारी, सुरज भण्डारी, फडाधर भण्डारी, सुरेश बञ्जारा जनही ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। संघका कर्मचारीले एकमुष्ट रुपमा ११ हजार १ सय रुपैयाँ सहयोग गरेका छन्। त्यसैगरी सदस्यहरु आदित्य गुप्ता र अतुल गुप्ताले जनही ११ हजार सहयोग गरेका छन् । सदस्यहरु सन्तोष पौडेलले ७ हजार ५ सय ५०, नन्दाराम जैसीले ५ हजार ५ सय र शरदप्रसाद रिजालले ५ हजार ५ रुपैयाँ सहयोग गरेका छन् ।
६ भदौमा निर्वाचित नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यसमितिको निर्वाचन आयुक्त अधिवक्ता तीर्थ ज्ञवालीले आइतबार सपथ ग्रहण र पदभार ग्रहण गराएका थिए । अध्यक्ष चिरञ्जीवी ओलीलाई निर्वाचन आयुक्त ज्ञवालीले र पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष ओलीले सपथ ग्रहण गराएका थिए।
कार्यक्रममा बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राई, लुम्बिनी प्रदेश सरकारका मन्त्री रत्नबहादुर खत्री र भण्डारीलाल अहिर, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य लक्ष्मणराज पौडेल, प्रदेशसभा सदस्य मीना श्रेष्ठ, जिल्लास्थित राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरुले नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा शुभकामना दिएका थिए। सोही अवसरमा संघका निवर्तमान अध्यक्ष टंकबहादुर धामीले नवनिर्वाचित अध्यक्ष ओलीलाई र निवर्तमान महासचिव भीमबहादुर रानाभाटले नवनिर्वाचित महासचिव विष्णु श्रेष्ठलाई पद हस्तान्तरण गरेका थिए।