भोटेकोशी बाढीमा परेर मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनलाई लिएर सरकारले अपनाएको नीतिको एमालेले विरोध जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलले बाढीमा परेर ज्यान गुमाएकाहरूको शव पहिचान तथा व्यवस्थापनका लागि अपनाएको नीति उचित नभएको बताएका हुन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले शव पहिचान र व्यवस्थापनको सरकारको कमजोरी देखिएको बताएका हुन् ।
पोखरेलले भने, ‘शव पहिचानको सन्दर्भमा सरकारले जे नीति बनायो, यो अत्यन्त बेठीक भएको छ । यद्यपि डीएनए परीक्षण पछाडि त्यसलाई पुनः उत्खनन गर्ने भन्ने हिसाबले शव व्यवस्थापन गरेको अवस्था छ । यसमा पीडितहरूको दृष्टिकोणबाट हेर्ने हो भने उनीहरूलाई चित्त बुझेको अवस्था छैन । त्यो सार्वजनिक प्रतिक्रियाहरू पनि आइराखेकै छन्, शव व्यवस्थापनका सन्दर्भमा अलिकति ध्यान दिनुपर्ने अवस्था देखिन्छ ।’