मुख्य समाचार
चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण
चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण

: चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर)को चेक हस्तान्तरण गरेका हुन्।

यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबर (२ लाख अमेरिकी डलर)को नगद पनि हस्तान्तरण गरे। राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए।

नेपालको विपत्तिमा चीन सधैँ साथमा रहेको सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको बताउँदै राजदूत माओमिङले नेपालका लागि चीन सरकारले गरेको अन्य प्रकारका सहयोगहरू पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए। आज मात्रै दुई वटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाडौंमा ओरालेको राजदूत माओमिङले जानकारी दिए। साथै, थप सहयोग पनि निरन्तर गरिने उनको भनाइ छ।

रसुवामा गएको बाढीका कारण चीनतर्फ नै रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरोला नाका भएर नेपाल फिर्ता ल्याउनका लागि पहल भइरहेको पनि उनले अर्थमन्त्रीलाई अवगत गराए। त्यस्तै, जलविद्युत कम्पनीको सुरुङ (टनेल) मा फसेकाहरूको उद्धारका लागि हिजै चिनियाँ हेलिकप्टरसहितको दक्ष जनशक्ति नेपाल आएको जानकारी गराउँदै राजदूत माओमिङले थप केही दक्ष उद्धार प्राविधिकहरू आज नेपाल आइपुगेको बताए।
नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउनका लागि चीन सरकारले द्रूत गतिमा काम गरिरहेको कुरा पनि उनले अर्थमन्त्रीलाई जानकारी दिए। नेपाल सरकारको तर्फबाट चीन सरकारको सहायता रकम बुझ्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अकल्पनीय विपत्तिबाट गुज्रिएको नेपाललाई चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे।

विपत्तिकै कारण दुवै मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको भन्दै उहाँले चीनले भोगेको क्षतिप्रति नेपाल सरकारको तर्फबाट गहिरो दुःख व्यक्त गरे।
अर्थमन्त्री डा. वाग्लेले बाढीका कारण ज्यान गुमाएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली र उनीहरूको परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे। विश्वको बढ्दो तापक्रमको विनाशकारी क्षति हिमालय क्षेत्रका मुलुकहरूले व्यहोर्नु पर्ने कारणको सुरुवात भएको भन्दै उनले यसको सामना गर्न नेपाल र चीनबीच हातेमालो जरुरी रहेको बताए।

यसपटकको बाढीका कारण नेपालले व्यहोरेको क्षतिको पुनर्निर्माणमा चीनबाट ठूलो सहयोगको अपेक्षा गरेको पनि वाग्लेले बताए। सहायता हस्तान्तरण कार्यक्रम भएको अर्थमन्त्रीको कार्यकक्षामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङनले बाढीका कारण ज्यान गुमाएका दुवै देशका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण पनि गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कृष्णभीरमा बाढीले कटान गरेर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक बाटोबाट एलपी ग्यासको आपूर्ती गर्ने भएको छ। एलपी ग्यास उद्योगीहरुसंगको छलफलपछि निगमले वैकल्पिक बाटोबाट आपूर्तीको व्यवस्था गरिएको जानकारी दिएको छ। काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुका लागि उद्योगहरुलाई बारा, पर्सा, चितवन, मकवनापुर र नवलपरासी जिल्लामा रहेका ग्यास उद्योगहरु तथा आफूलाई पायक पर्ने अन्य ...
— विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा उपचारका लागि १ लाख ५० हजार अमेरिकी डलरबराबरको सामग्री प्रदान गरेको छ । डब्लूएचओले दक्षिणपूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमार्फत १ लाख ५० हजार अमेरिकी डलर बराबरको आपत्कालीन सहायता उपलब्ध गराएको हो । 'डब्लुएचओ नेपालमा आपतकालीन अवस्थाको प्रतिकार्य तथा पुनःस्थापनाका ...
— एमालेले सरकारलाई ५ बुँदे सुझाव दिँदै बाढी प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई समेटेर तुरुन्त एकीकृत ‘कमाण्ड पोस्ट’ निर्माण गर्न सुझाव दिएको छ । एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा बिहीबार नुवाकोटको स्थलगत अवलोकनपछि प्रतिवेदन तयार गरी सरकारलाई सुझाव दिएको हो । प्रतिवेदनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधि ...
भोटेकोशी बाढीमा परेर मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनलाई लिएर सरकारले अपनाएको नीतिको एमालेले विरोध जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलले बाढीमा परेर ज्यान गुमाएकाहरूको शव पहिचान तथा व्यवस्थापनका लागि अपनाएको नीति उचित नभएको बताएका हुन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले शव पहिचान र व्यवस्थापनको सरकारको कमजोरी देखिएको बताएका हुन् । पोखरेलले भने, ...
रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाढीबारे एमालेले स्थलगत अनुगमन गरेर प्रतिवेदन तयार पारेको छ । एमालेका महासचिव शंकर पोखरेलले उक्त प्रतिवेदन केन्द्रीय कार्यालयमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका छन् ।