: मोरङको मिक्लाजुङ गाउँपालिका–१ लोकडाँडामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् ।शनिबार राति करिब १० बजेतिर शुके–जौवारी कच्ची सडकमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ९१७८ नम्बरको ट्याक्टर सडकबाट करिब ४० मिटर तल खसेको थियो ।
ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । दुर्घटनामा पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ हंशबारी घर भएका चालक २६ वर्षीय शुक्र दमाई गम्भीर घाइते भएका थिए ।
स्थानीयको सहयोगमा उद्धार गरी उनलाई उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याइएको थियो । अस्पताल पु्र्याएलगत्तै चिकित्सकले आइतबार बिहानका राति १२:३५ बजेतिर दमाईलाई मृत घोषणा गरेको मोरङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्याक्टरका सहचालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ एकरातेका २१ वर्षीय किरण राई पनि गम्भीर घाइते भएका छन् । उनको उर्लाबारीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटना के कारणले भएको हो भन्ने पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ ।