। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्।
बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा गरेका थिए। इरान अमेरिकासँग सम्झौता गर्न असफल भएको दाबी ट्रम्पले गरेका थिए।
अब्बास अरागचीले अमेरिकाको बढ्दो सरकारी ऋण र ब्याज खर्चको चर्चा गरेका छन्। असफल पुराना नीतिहरू दोहोर्याउँदा अमेरिकाले हार र इरानी जनताको आक्रोश मात्र पाउने उनले बताएका छन्। अमेरिकी आर्थिक आतंकवाद विश्व अर्थतन्त्र र देशहरूको सार्वभौमसत्ताका लागि खतरा बनेको आरोप अरागचीले लगाएका छन्।
अमेरिकाको राष्ट्रिय ऋण ४० ट्रिलियन डलर नाघेको समयमा अरागचीको यो भनाइ आएको हो। अमेरिकी ट्रेजरीको तथ्याङ्क अनुसार अगस्ट १८ सम्म कुल राष्ट्रिय ऋण करिब ४०.०५ ट्रिलियन डलर पुगेको थियो। पछिल्लो एक दशकमा अमेरिकी ऋण दोब्बरभन्दा बढीले बढेको छ।