: इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेकाे 'इकोनोमिक डी-डे' (निर्णायक आर्थिक कारबाही) प्रति तीव्र आलोचना गरेका छन्।
अमेरिकाले आफ्नो आन्तरिक आर्थिक संकटबाट विश्वको ध्यान मोड्नका लागि यस्तो कदम चालेको अराघचीले दाबी गरेका छन्। सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै विदेशमन्त्री अराघचीले अमेरिकाको यो प्रयास आफ्नै आर्थिक समस्या र संकटलाई ढाकछोप गर्ने रणनीति मात्र भएको उल्लेख गरे।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिकासँग सम्झौता गर्न असफल भएको आरोप लगाउँदै इरानविरुद्ध 'इकोनोमिक डी'डे' सुरु गर्ने घोषणा गरेका थिए।
ट्रम्पको उक्त घोषणाप्रति कडा प्रतिक्रिया दिँदै अराघचीले अमेरिकाको बढ्दो सरकारी ऋण र ब्याज खर्चको तथ्याङ्क सार्वजनिक गरे। अमेरिकाले पुराना र असफल भइसकेका नीतिहरू दोहोर्याएर पुनस् पराजय र इरानी जनताको आक्रोश मात्र खेप्नुपर्ने चेतावनी उनले दिएका छन्। साथै, अमेरिकी 'आर्थिक आतंकवाद' सम्पूर्ण विश्व अर्थतन्त्र र सार्वभौम सत्तासम्पन्न राष्ट्रहरूका लागि गम्भीर खतरा बनेको आरोप पनि उनले लगाए।
अमेरिकी ट्रेजरीको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकाको राष्ट्रिय ऋण ४०.०५ ट्रिलियन डलर नाघिसकेको छ, जुन विगत एक दशकमा दोब्बरभन्दा बढीको वृद्धि हो। अमेरिकी अर्थतन्त्र ऋणको भारीले थिचिँदै गएका बेला इरानी विदेशमन्त्रीको यो भनाइ सार्वजनिक भएको हो।