: अमेरिकी सरकारको कुल सार्वजनिक ऋण इतिहासमै पहिलोपटक ४०० खर्ब (४० ट्रिलियन) अमेरिकी डलर नाघेको छ। अमेरिकी अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कुल राष्ट्रिय ऋण ४०.०४७ ट्रिलियन डलर पुगेको हो।
अमेरिकी ऋण बढ्ने गति पछिल्ला महिनाहरूमा झन् तीव्र बनेको छ। गत वर्षको अक्टोबरमा ३८० खर्ब डलर रहेको ऋण १० महिनाको अवधिमै २० खर्ब डलरले बढेर यो ऐतिहासिक विन्दुमा पुगेको हो। कुल ऋणमध्ये ३२२ खर्ब डलरभन्दा बढी सर्वसाधारण तथा लगानीकर्तासँग रहेको छ भने बाँकी अन्तर-सरकारी निकायहरूमा छ। वर्तमान ऋणको आकारलाई हेर्दा प्रत्येक अमेरिकी नागरिकको टाउकोमा औसतमा १ लाख १७ हजार डलर र प्रत्येक परिवारमा करिब २ लाख ९७ हजार डलर ऋणको भार पर्न जान्छ।
सन् २०१७ मा डोनाल्ड ट्रम्पले पहिलोपटक राष्ट्रपतिको कार्यभार सम्हाल्दा अमेरिकाको ऋण १९९ खर्ब ५० अर्ब डलर रहेकोमा ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेर सन् २०२५ जनवरीमा पद सम्हालेयता मात्रै अमेरिकी ऋण ३८ खर्ब डलर थपिएको छ । ट्रम्पका दुवै कार्यकाल गरी कुल ११६ खर्ब र जो बाइडेनको कार्यकालमा ८४ खर्ब डलर ऋण थपिएको छ।
विशेषगरी सन् २०२० को कोरोना महामारी नियन्त्रण, राहत प्याकेज, पूर्वाधार विकास, रक्षा बजेट, र सामाजिक सुरक्षाका कार्यक्रमहरूमा सरकारी आम्दानीभन्दा बढी खर्च गर्नाले ऋणको भार तीव्र रूपमा बढेको हो। पुराना ऋणको ब्याज भुक्तानीले पनि कोषमा थप चाप पारेको छ।