— रुससँग युद्ध जारी रहेकै बेला युक्रेनका पूर्वरक्षामन्त्री मिखाइलो फेडोरोभले राष्ट्रपति चुनावको माग गरेका छन् । राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका निकट सहयोगीमध्येका फेडोरोभले नै सार्वजनिक रूपमै चुनावका लागि माग गरेका हुन् । यसलाई रुससँगको युद्ध सुरु भएयता जेलेन्स्कीसामु देखिएको सबैभन्दा ठूलो आन्तरिक चुनौती मानिएको छ ।
फेडोरोभले जुलाईमा रक्षामन्त्रीको पद गुमाएका थिए । उनले युट्युबमा सार्वजनिक भिडियो सन्देशमार्फत लामो युद्धका बीच पनि युक्रेनमा लोकतान्त्रिक प्रक्रिया पुनःस्थापित गर्न कानुनी, सुरक्षित र व्यावहारिक उपाय खोज्नुपर्ने बताए ।
युक्रेनी कानुनअनुसार देशमा मार्सल ल लागू रहेसम्म चुनाव गराउन रोक लगाइएको छ । रुसले पूर्ण रूपमा आक्रमण सुरु गरेको दिन अर्थात् फेब्रुअरी २४, २०२२ देखि युक्रेनमा मार्सल ल लागू छ । फेडोरोभले वर्तमान शासन प्रणाली आत्मरक्षा र परिवर्तनको प्रतिरोधमा केन्द्रित भएको आरोप लगाउँदै देशले शासन सञ्चालनकै विषयमा प्रणालीगत संकट सामना गरिरहेको बताएका छन् । उनले कुनै अधिकारीको नाम नलिई सरकारी निकायमा व्याप्त भ्रष्टाचारको समेत
आलोचना गरे । युद्धका बेला हुने भ्रष्टाचारले युक्रेनको युद्ध लड्ने क्षमतालाई कमजोर बनाउने उनको भनाइ छ ।
‘युद्धका बेला भ्रष्टाचार आर्थिक विषय मात्र होइन, यो हाम्रो बाँच्ने र जित्ने क्षमतासँग जोडिएको विषय हो,’ फेडोरोभले भने । रक्षाका लागि छुट्याइएको बजेट सुरक्षामै खर्च हुनुपर्ने र निजी स्वार्थमा प्रयोग हुन नहुने उने बताए ।
फेडोरोभले आफूलाई पदबाट हटाइनुको एउटा कारण रक्षा मन्त्रालयको खरिद प्रणालीमा आफूले नेतृत्व गरेको भूमिका पनि भएको बताए । उक्त प्रणालीमार्फत सैन्य उपकरण खरिदमा खर्च हुने अर्बौं डलरको निगरानी हुँदै आएको थियो ।
फेडोरोभको सम्बोधन युक्रेनी संसद्ले नयाँ रक्षामन्त्रीका रूपमा येभहेनी ख्मारालाई मनोनयन गरेको केही घण्टापछि आएको हो । संसद्का अध्यक्ष रुस्लान स्टेफानचुकले मंगलबार सामाजिक सञ्जालमार्फत नयाँ रक्षामन्त्रीको मनोनयनबारे जानकारी दिए । फेडोरोभको सम्बोधनप्रति जेलेन्स्कीको कार्यालयले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
फेडोरोभलाई अचानक पदबाट हटाइएपछि गत महिनादेखि राजधानी किएभमा सरकारविरुद्ध प्रदर्शन हुँदै आएका छन् । प्रदर्शनको सुरुआती भीड केही घटे पनि सप्ताहन्तमा अझै हजारौं मानिस सडकमा उत्रिने गरेका छन् । प्रदर्शनकारीहरूले फेडोरोभलाई पुनः पदमा फर्काउन माग गर्दै जेलेन्स्कीविरुद्ध नाराबाजी तथा हस्तनिर्मित प्लेकार्ड प्रदर्शन गर्दै आएका छन् ।
युद्ध जारी रहेका बेला चुनाव गराउने विषय भने युक्रेनका लागि सुरक्षा, कानुनी र राजनीतिक रूपमा जटिल मानिन्छ । फेडोरोभको पछिल्लो
आह्वानले युद्ध सञ्चालनसँगै लोकतान्त्रिक प्रक्रिया र शासन प्रणालीबारे युक्रेनभित्र बढिरहेको बहसलाई थप सतहमा ल्याएको छ ।