— कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले पेट्रोलियम पदार्थको प्रचुर सम्भावना हुँदाहुँदै पनि जनता आधारभूत आवश्यकताका लागि संघर्ष गर्न बाध्य भएको बताएका छन् ।
दैलेखमा रोकिएको पेट्रोलियम पदार्थ तथा ग्यास उत्खननको काम तत्काल अघि बढाउन उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा जोशीले दैलेखमा पेट्रोलियम पदार्थ रहेको प्रारम्भिक उत्खननले प्रमाणित गरिसकेको बताए ।
ग्यास अन्वेषणको काम अघि बढिरहेका बेला करिब दुई वर्षदेखि उत्खनन रोकिएको र बजेट अभावमा अर्बौँ रुपैयाँका उपकरण तथा मेसिन प्रयोगविहीन भएर जीर्ण बन्दै गएको उनले बताए । ‘पैतालामुनि ग्यास छ, तर बजारमा जनता भोकै छन् । यस्तो अवस्थामा हामीले उपलब्ध स्रोतको सदुपयोग गर्न सकेनौँ भने विकास र समृद्धिको कुरा मात्र गरेर हुँदैन,’ जोशीले भने । उनले दैलेखको पेट्रोलियम पदार्थ तथा ग्यास उत्खननलाई संघीय सरकारले प्राथमिकतामा राखेर आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताए ।
रोकिएको काम अघि बढाउन सके भविष्यमा ग्यासका लागि आत्मनिर्भर बन्ने सम्भावना रहेको उनको भनाइ थियो । प्रदेश र स्थानीय सरकारले पनि संघीय सरकारलाई झकझक्याउँदै उत्खननको काम अघि बढाउन पहल गर्नुपर्ने जोशीले बताए ।
कर्णालीमा सम्भावना धेरै भए पनि त्यसको सदुपयोगका लागि तीन तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए । जोशीले सहिदको बलिदानबाट प्राप्त व्यवस्था जोगाउँदै भ्रष्टाचारमा शून्य सहनशीलताका साथ अघि बढ्न नयाँ सरकारलाई आग्रहसमेत गरे ।