। सांसदहरूले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूले उक्त घटनामा प्रहरी प्रशासनको समेत कमजोरी देखिएको भन्दै घटनाको छानविन गरि दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका हुन् ।
बैठकमा रास्वपा सांसद रहबर अन्सारीले ३ वर्षीया अबोध बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनामा बालिका हराएको जानकारी गराएको २४ घण्टासम्म पनि इलाका प्रहरी कार्यालय सिमराबाट कुनै खोजी वा कारबाही अघि नबढाइएको बताए ।
घटना दर्ता भएपछि प्रत्येक घण्टा प्रहरीले के–कस्ता कदम चाल्यो भन्ने स्पष्ट ’एक्सन लग’ सार्वजनिक गर्नुपर्ने र दोषी प्रहरी अधिकारीहरूमाथि कारबाही हुनुपर्ने उनले माग गरे ।
उनले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा यस्ता जघन्य अपराध रोक्न गृह मन्त्रालयलाई तत्काल गम्भीर हुन आग्रह समेत गरे ।
अन्य सांसदहरूले पनि उक्त घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् ।
सिमरामा मृत अवस्थामा फेला परेकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार जितपुरसिमरा–१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी साउन ३१ गते बिहान घरबाट हराएकी थिइन् । उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको थियो ।