मुख्य समाचार
सांसद सुष्मा स्वर्णकारले पार्टी सभापति रवि लामिछानेले चुनावी वाचापत्र अनुसार दलित समुदायसँग क्षमा मागेको बताए
सांसद सुष्मा स्वर्णकारले पार्टी सभापति रवि लामिछानेले चुनावी वाचापत्र अनुसार दलित समुदायसँग क्षमा मागेको बताए

। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद सुष्मा स्वर्णकारले पार्टी सभापति रवि लामिछानेले चुनावी वाचापत्र अनुसार दलित समुदायसँग क्षमा मागेको बताएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्मा दलित समुदायको प्रतिनिधित्व हुनु सकारात्मक सन्देश भएको बताइन् ।

‘तर, प्रश्न यहाँ छ । आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेटमा दलित समुदायको विकास र सामाजिक न्यायका लागि ठोस कार्यक्रम किन देखिएन ?’ सांसद स्वर्णकारले प्रश्न सोधिन्, ‘के दलितको पीडा सरकारको लागि अझै पनि प्राथमिकताको विषय होइन ?’

यहाँनेर उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई स्मरण गरेकी हुन् । उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू अब मौनता होइन, अभिभावकत्व चाहिएको छ । त्यसैले संविधानको धारा ४० को पूर्ण कार्यान्वयन गर्दै दलित समुदायमाथिको ऐतिहासिक विभेदको अन्त्य र सामाजिक न्याय सुनिश्चित गर्ने स्पष्ट प्रतिबद्धता यही सदनबाट जाहेर गर्न म सरकारसँग जोडदार माग गर्दछु ।’

धारा ४० मा के छ ?

दलित समुदायका लागि संविधानमा व्यवस्था भएको महत्वपूर्ण व्यवस्था हो– धारा ४० । यसले आर्थिक–सामाजिक हित सुनिश्चित गरेको छ । जहाँ राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुने उल्लेख छ ।

सार्वजनिक सेवा लगायतका रोजगारीका अन्य क्षेत्रमा दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि कानुनबमोजिम विशेष व्यवस्था सुनिश्चित गरिएको छ । दलित विद्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म कानुनबमोजिम छात्रवृत्तिसहित नि:शुल्क शिक्षाको व्यवस्था गर्ने व्यवस्था धारा ४० मै छ ।

तर, यो संवैधानिक व्यवस्थाको कार्यान्वयन हुन सकेको छैन । कारण, यससम्बन्धी ऐन नै बन्न सकेको छैन ।

संविधानत: प्राविधिक र व्यावसायिक उच्च शिक्षामा दलितका लागि कानुनबमोजिम विशेष व्यवस्था हुनुपर्ने हो । दलित समुदायलाई स्वास्थ्य र सामाजिक सुरक्षा प्रदान गर्न कानुनबमोजिम विशेष व्यवस्था गरिनुपर्ने हो । तर संविधान कार्यान्वयनका लागि आवश्यक त्यही संघीय कानुन नबन्दा दलितले संवैधानिक रूपमा लिएको अधिकार उपभोग गर्न पाएका छैनन् ।

संविधानको धारा ४० मै दलित समुदायको परम्परागत सिपको सन्दर्भमा आफ्नो परम्परागत पेसा, ज्ञान, सिप र प्रविधिको प्रयोग, संरक्षण र विकास गर्ने हक हुने भनिएको छ । राज्यले दलित समुदायका परम्परागत पेसासँग सम्बन्धित आधुनिक व्यवसायमा उनीहरूलाई प्राथमिकता दिई त्यसका लागि आवश्यक पर्ने सिप र स्रोत उपलब्ध गराउने उल्लेख छ ।

यी कुनै पनि व्यवस्थाको सही अर्थमा कार्यान्वयन हुन नसकेको भनेर रास्वपाकी सांसद स्वर्णकारले सरकारको ध्यानाकर्षण गरेकी हुन् ।

देशभर भूमिहीन दलित १३ प्रतिशत रहेका छन् । संविधानले भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने भनेको छ ।

‘राज्यले भूमिहीन दलितलाई कानुनबमोजिम एकपटक जमिन उपलब्ध गराउनु पर्नेछ,’ संविधानको धारा ४० को उपधारा ५ मा छ । उपधारा ६ मा राज्यले आवासविहीन दलितलाई कानुनबमोजिम बसोबासको व्यवस्था गर्ने भनिएको छ ।

यी लगायत संविधानमा उल्लेखित मौलिक हक कार्यान्वयनसम्बन्धी संघीय ऐन संविधान जारी भएको ३ वर्षभित्र बनिसक्नुपर्ने थियो । तर अझैसम्म दलित सम्बन्धी संघीय ऐन बनेको छैन ।

संविधानको धारा ४७ मा मौलिक हक कार्यावयनसम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘यस भागद्वारा प्रदत्त हकहरूको कार्यान्वयनका लागि आवश्यकताअनुसार राज्यले यो संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानुनी व्यवस्था गर्नेछ ।’

संविधान २०७२ साल असोज ३ गते जारी भएको थियो । संविधानअनुसार २०७५ साल असोज ३ गतेभित्र मौलिक हकको कार्यान्वयन गर्न आवश्यक कानुनी व्यवस्था भइसक्नुपर्ने थियो ।

तर, ३ वर्षमा बन्नुपर्ने ऐन १० वर्षसम्म बनेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले आउँदो स्थानीय चुनावमा विदेशमा रहेका नेपालीले मताधिकार पाउने गरी ऐन ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारसँग यस्तो माग राखेका हुन् । ‘सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, यो पटकको स्थानीय निर्वाचनमा संसारभर भएका नेपालीले भोट हाल्नका लागि जे जे गरिनुपर्छ त्यसलाई प्राथमिकतामा राखेर आजैबाट यसको काम सुरु गरियोस्,’ ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशसभामा सरकार निर्माणका लागि पार्टीले कुनै पनि दललाई समर्थन नगरेको स्पष्ट पारेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै लिङ्देनले नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन राप्रपाको समर्थन रहेको भन्दै बुझाइएको पत्र पार्टीको निर्णयविपरीत भएको बताएका छन् । ‘बागमती प्रदेशसभामा सरकार निर्माण प्रक्रियामा राप्रपाको कुनै दललाई समर्थन ...
। वैदेशिक रोजगार बोर्डले १० जना स्वयंसेवक कर्मचारी माग गरेको छ । बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम र सचिवालयको आवश्यकताअनुसार स्वयंसेवक कर्मचारी पदपूर्ति गर्न आवेदन आह्वान गरेको हो । बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवार सदस्य, अंगभंग तथा बिरामी भएका श्रमिक, वैदेशिक रोजगारीबाट फर्किएका र उनीहरूका परिवारका सदस्यबाट स्वयंसेवक ...
। सांसदहरूले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूले उक्त घटनामा प्रहरी प्रशासनको समेत कमजोरी देखिएको भन्दै घटनाको छानविन गरि दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका हुन् । बैठकमा रास्वपा सांसद रहबर अन्सारीले ३ वर्षीया अबोध बालिकाको ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर भुसालले साढे चार महिनामा पूर्वाधारमन्त्री सुनील लम्साल ५५ जिल्ला पुगेको विषयलाई पूर्वाग्रहले हुन नहुने आग्रह गरेका छन् । राजनीतिमा मतभेद भए पनि मानव्य संवेदनालाई भने ख्याल गर्नुपर्ने उनको आग्रह छ । मानवीय संवेदना, कर्तव्यबोध र निष्ठा राजनीति भन्दा माथि हुनुपर्ने भन्दै उनले लम्सालको बचाउ गरेका हुन् । जनताका समस्या र ...