: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित दसधुरे भन्ने स्थानबाट तीन दिनदेखि हराईरहेकी तीन वर्षीया गरिमा चौधरी मंगलबार साँझ मृत फेला परेकी छिन्। जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित भक्तीटोलमा रहेको एक घरभित्र बालिका मृत भेटिएकी हुन्।
बालिका फेला परेको उक्त घर पाँच महिनादेखि खाली रहेको थियो । उक्त खाली रहेको घरमा बालिकाको शव नग्न अवस्थामा फेला परेको हुँदा बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । शव भेटिएको घरभित्र बालिकाको भित्रीसहित अन्य लुगा समेत फेला परेको छ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिलिप क्षेत्रीले बालिकाको लुगा त्यही फेला परेको र शव नग्न अवस्थामा भेटिएकाले बलत्कारपछि हत्या भएको आंशका रहेको बताए। ‘बलात्कारपछि हत्या भएको हो कि भन्ने आशंका गर्न सकिन्छ’ डिएसपी क्षेत्रीले भने ‘शल्यपरीक्षण रिपोर्टले थप पुष्टि गर्छ।’
प्रहरीले बालिकाको शव मुचुल्का प्रक्रिया पूरा गरी शल्यपरीक्षणका लागि अस्पताल पठाएको छ। त्यसअघि वीरगन्जस्थित विपद् व्यवस्थापनमा रहेको तालिम प्राप्त कुकुर ल्याएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। तीनदेखि हराईरहेकी बालिकाको हत्या गरेको अवस्थामा शव फेला परेपछि बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरसहितको टोली घटनास्थल आईपुगेका थिए। इलाका प्रहरी कार्यालय सिमराले बालिकाको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरी निरीक्षक प्रकाश थापालाई अनुसन्धान अधिकृत तोकेर घटनाको अनुसन्धान थालेको छ।
स्थानीय मनोज चौधरी र मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा आइतबार बिहान करिब ८ः३० बजेदेखि बेखबर थिइन् । बस्तीको बीचबाट अचानक बेपत्ता भएकी बालिकालाई परिवार र प्रहरीले खोजी सुरु गरिरहेको थियो। तीन दिनसम्म अज्ञात रहेकी बालिका करिब डेढ सय मिटर दक्षिणतर्फको घरमा मृत भेटिएकी हुन् । उक्त घरका घरधनी बीरबहादुर रोक्काको परिवार भने हेटौंडामा बस्दै आएका छन्। उक्त घर भाडामा लगाइएपनि पाँच महिनादेखि भने खाली रहेको थियो।
ढोकामा ताला समेत नलगाइएको उक्त घरबाट गन्ध आएपछि स्थानीयले झ्यालबाट हेरेको र बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्। बालिकाको शव सुन्निएको अवस्था भेटिएको छ भने योनीमा समेत चोट देखिएको छ। शवको प्रकृति हेर्दा घटनास्थलमै बालिकाको बलत्कारपछि हत्या भएको पुष्टि हुने आधार भएपनि शल्यपरिक्षण रिपोर्ट पर्खनुपर्ने प्रहरीको भनाइ छ।