: मकवानपुरमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । दुई बालिका बेपत्ता भएका छन् । हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खहरे खोलाले विद्यालयबाट घर फर्कदै गरेका ४ जना बालिकाहरुलाई बगाएको थियो ।
निर्मल माध्यमिक विद्यालयबाट पढेर घर फर्किदै गरेका उनीहरुलाई खोलामा बनेको लच्का तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनीहरुमध्ये हेटौडा–१९ बस्तिपुरकी दिप स्याङताङको छोरी ८ वर्षिय रोसनी स्याङताङको शव ५ सय मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला परेको छ ।
सोही ठाउँका टिकाराम भोलनको छोरी अन्दाजी ११ बर्षि सुमित्रा भोलानको र राजकुमार भोलनको छोरी १२ बर्षिय बिनिता भोलन बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश बिपत व्यस्थापन गुल्म हेटौंडा, सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण र नेपाली सेनाको संयुक्त टोलीले उनीहरुको खोजीकार्य गरिरहेको छ ।
खोलाले बगाएका ४ जनामध्ये सिताराम भोलनको छोरी १३ वर्षिय सिमा भोलन भने जिवितै फेला परेकी छन्। प्रहरीका अनुसार भोलन आँफै खोलाबाट निस्किएको अवस्थामा फेला परेकी हुन् । उनलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएको छ ।