। राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले रोल्पाको थबाङ सुनछाहरी र लुंग्रे पहिरो पीडीतको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएकी छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले पहिरोमा परेर बेपत्ता हुनेहरू अझै नभेटिएको र आफन्तहरू अझै बेपत्ता भएकाहरूको पर्खाइमा रहेको बताएकी हुन्।
उनका अनुसार राजनीतिक विद्रोह, प्राकृतिक विपद् वा गाडी दुर्घटनाबाट रोल्पालीले निरन्तर संकट बेहोर्दै आएका छन्। निजामती प्रशासन र सुरक्षा फौज दुवैले हरेक दिन बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या टिपेर केन्द्रमा पठाइरहँदा आफूलाई डर लागिरहेको बताइन्।
‘मलाई मान्छेको अमूल्य ज्यान अंकमा सीमित भएको देख्दा असाध्धै डर र पीर लाग्छ’ उनले भनिन्, ‘नियति हो कि भनेर हात पुर्पुरोमा राख्छु ।’
केही महिनाअघि मात्रै रोल्पामा भएको जिप दुर्घटनामा एउटै गाउँका १९ जनाले ज्यान गुमाएका थिए । १९ जना मात्रै नभएर १९ वटा परिवार, १९ वटा संसार र सपना रहेको उनले बताइन् ।
तथ्यांकमा यति जनाको मृत्यु भयो भनेर गन्न सक्ने भन्दै उनले थपिन्, ‘तर कसैको काख रितिँदाको पीडा कुनै तथ्यांकले भन्दैन, बताउँदैन ।’
विपदको राहत बाँड्न कुन नेता गयो कसको नेतृत्वमा सामग्री पुग्यो भन्ने कुरा गौण हुने भन्दै उनले थपिन्, ‘कुरा श्रेयको होइन राज्यको उपस्थितिको सान्त्वनाको हो समानुभूतिको हो र समान सहानुभूतिको हो ।’