। नेकपासँग सत्तागठबन्धन गरेर सरकारको नेतृत्व गर्न लागेको नेकपा एमालेले बागमती सरकारमा बहुमतका लागि साना दलसँग पनि सहकार्य गर्नुपर्नेछ। यसका लागि एमालेले मुख्यमन्त्रीका लागि किरण थापालाई अघि सारेको छ। प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई निरन्तरता दिँदै मुख्यमन्त्रीमा थापालाई अघि सार्ने निर्णय आजको संसदीय दलको बैठकले गरिसकेको छ।
मुख्यमन्त्रीमा अघि सारिएका थापाकै संयोजकत्वमा एमालेले अन्य दलसँग वार्ताका लागि समिति बनाएको छ। थापाको संयोजकत्वमा भरत थापा, केशव पोखरेल, भारती पाठक र डा दिनेशचन्द्र देवकोटा रहने गरी समिति बनाएको हो।
बागमती प्रदेशसभा १०४ सदस्यीय छ । यो अंकगणितअनुसार सरकार गठनका लागि ५३ जना सदस्यको बहुमत पुर्याउनुपर्ने हुन्छ । बागमती प्रदेशसभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ । नेकपाको २६ सिट, नेकपा एमालेको २५ सिट (उपसभामुखसहित) छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । राप्रपाले यहाँ तटस्थ बस्ने निर्णय गरिसकेको छ।
एमाले र नेकपा मिलेर ५१ सांसदका साथ सरकार बनाउँदा २ सिट अपुग हुन्छ । एमालेकी अप्सरा चापागाईं उपसभामुख रहेकाले सरकार गठनको प्रक्रियामै बहुमत पुर्याउन अन्य साना दलको साथ अपरिहार्य बनेको छ।