: धरानमा ट्राफिक प्रहरीमाथि दुर्व्यवहार तथा कुटपिट गरेको आरोपमा श्रम संस्कृति पार्टीका एक कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका घर भई धरान–११ मा बस्दै आएका ३८ वर्षीय सोमप्रसाद राई रहेका छन्।
गत साउन ३० गते धरानस्थित माछाभौडीमा ट्राफिक चेकिङका क्रममा ट्राफिक प्रहरीमाथि दुर्व्यवहार तथा कुटपिट गरेको आरोपमा राईलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो। ट्राफिक प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार सुवास विश्वकर्माले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार राईलाई पक्राउ गरी अदालतबाट सात दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। चेकिङका क्रममा विवाद भएपछि सोमप्रसादले प्रहरी सहायक हवल्दार विश्वकर्मामाथि कुटपिट गरेको आरोप छ। घटनापछि विश्वकर्माले राईविरुद्ध प्रहरीमा किटानी उजुरी दिएका थिए।
यसैबीच, भोजपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ध्रुव राईले सोमप्रसाद राई श्रम संस्कृति पार्टीका कार्यकर्ता भएको पुष्टि गरेका छन्। ट्राफिक प्रहरीसँग सामान्य विवाद हुँदा प्रहरीले आफ्ना कार्यकर्तामाथि कुटपिट गरी घाइते बनाएको आरोप लगाउँदै उनले घटनाको विरोध जनाएका छन्।
सांसद राईले घाइते सोमप्रसादको उपचारको व्यवस्था गर्न, कुटपिटमा संलग्न प्रहरीमाथि कारबाही गर्न र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको र प्राप्त तथ्यका आधारमा कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।